काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा जगदम्बा मोटर्सले ११, १२, १४ र १६ सिट क्षमताका चारवटा विद्युतीय गाडी प्रदर्शनीमा राखेको छ।
कम्पनीका अनुसार नयाँ मोडलप्रति अवलोकनकर्ताको आकर्षण बढ्दै गएको र एक्स्पोको तेस्रो दिनसम्म १४ वटा बुकिङ भइसकेको छ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा जगदम्बा मोटर्सको बोर्ड डिभिजनका निश्चल घिमिरले एक्स्पोमा फरक–फरक क्षमता र विशेषताका चारवटा गाडी प्रदर्शनमा राखेको जानकारी दिए।
उनले भने, ‘हामीले यस नाडामा ११, १२, १४ र १६ सिटे गरी जम्मा चार वटा गाडी प्रस्तुत गरेका छौँ। हाम्रो ११ सिटेमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स छ। सिट इन्डिभिजुअल छ, सिट बेल्ट पाइन्छ र अगाडिपट्टिको ड्यासबोर्ड पनि एकदम राम्रो छ।अहिलेसम्म १४ वटा बुकिङ भइसकेको छ।’
कम्पनीले प्रस्तुत गरेका गाडीमध्ये ११ सिटे गाडीको मूल्य ४८ लाख ९० हजार रुपैयाँ, १२ सिटेको ४९ लाख ९० हजार, १४ सिटेको ५९ लाख ९० हजार र १६ सिटेको ६८ लाख ५० हजार रुपैयाँ तोकिएको घिमिरेले जानकारी दिए।
गाडीअनुसार ब्याट्री र मोटरको क्षमता फरक–फरक रहेको उनले बताए। उनका अनुसार केही मोडलमा ५३ किलोवाट आवर र अर्कोमा ४१.८६ किलोवाट आवरको ब्याट्री उपलब्ध छ।
चार्जिङका विषयमा घिमिरेले फास्ट चार्जिङबाट करिब ४५ मिनेटमा र सामान्य चार्जिङबाट करिब पाँच घण्टामा गाडी चार्ज गर्न सकिने बताए।
नेपाली सडकको अवस्थालाई ध्यानमा राखेर गाडीमा उच्च ग्राउन्ड क्लियरेन्स दिइएको कम्पनीले जनाएको छ। विशेषगरी खाल्डाखुल्डी तथा असहज सडकमा सहज सञ्चालनका लागि १८० एमएम ग्राउन्ड क्लियरेन्स उपयोगी हुने घिमिरेको भनाइ छ।
उनले भने,‘खाल्डाखुल्डीकै लागि भनेर उच्च ग्राउन्ड क्लियरेन्स, १८० एमएमको ग्राउन्ड क्लियरेन्स गाडीमा राखेका छौँ। यसले गर्दा खाल्डाखुल्डीमा गाडीमा केही असर पर्दैन,’ उनले भने।
एक्स्पोमा ग्राहकको सहभागिता उत्साहजनक रहेको पनि घिमिरेले बताए। कम्पनीले बिक्रीपछिको सेवाका लागि भक्तपुरको राधेराधेस्थित भाटभटेनीको अगाडि बृहत सर्भिस सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ।
एक्स्पोमा विशेष छुट तथा अफरसमेत उपलब्ध रहेको भन्दै घिमिरेले ग्राहकलाई जगदम्बा मोटर्सको हल डी, स्टल नम्बर १६ मा पुगेर गाडीको मूल्य, सुविधा तथा अफरबारे जानकारी लिन आग्रह गरे।