शनिबार, साउन ३०, २०८३

हराउँदै रैथाने बाली : कोदोमा देखिएको सम्भावना

 |  शनिबार, साउन ३०, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०८३

रामेछाप- रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन्। खेतीयोग्य जमिनमा समेत श्रम अभाव बढ्दै जाँदा कृषि उत्पादन घट्नुका साथै परम्परागत रैथाने बालीसमेत संकटमा पर्न थालेका छन्।

किसानले परम्परागत बालीको सट्टा नयाँ तथा उन्नत जातका हाइब्रिड बाली लगाउन थालेपछि रामेछापमा स्थानीय रैथाने बाली बिस्तारै लोप हुने अवस्थामा पुगेका हुन्। कतिपय रैथाने बाली हराइसके पनि किसानले भने जेनतेन कोदो खेतीलाई निरन्तरता दिँदै आएका छन्।

विगतमा ‘गरिबले खाने बाली’का रूपमा हेला गरिने कोदो पछिल्लो समय भने अत्यन्त गुणकारी र पोसिलो खाद्यान्नका रूपमा स्थापित हुँदै गएको छ। स्वास्थ्यका दृष्टिले समेत कोदोको महत्त्व बढ्दै गए पनि यसको उत्पादन र खेती क्षेत्र भने निरन्तर खुम्चिँदै गएको किसानहरू बताउँछन्।

कृषि क्षेत्र राज्यको प्राथमिकतामा नपर्नु, शिक्षित युवाले कृषि पेसालाई रोजगारीको आकर्षक क्षेत्रका रूपमा नहेर्नु, जलवायु परिवर्तनका कारण उत्पादनमा असर पर्नु, कृषिमा काम गर्ने जनशक्तिको अभाव हुनु र उत्पादनको उचित मूल्य नपाउनुजस्ता कारणले कोदोसहितका रैथाने बालीको खेती घट्दै गएको हो।

मन्थली नगरपालिका–२ का वडा सदस्य तथा लामो समयदेखि कृषि कर्ममा लाग्दै आएका बालाकाजी श्रेष्ठ लगानीअनुसारको आम्दानी नहुँदा किसानले खेतीयोग्य जमिनसमेत बाँझो छाड्न थालेको बताउँछन्। ‘परम्परागत रूपमा गरिने खेतीमा कतिपय समय किसानले लगाएको ज्यालासमेत उठ्दैन,’ उनले भने। 

श्रेष्ठका अनुसार कोदो खेतीलाई संरक्षण र प्रवद्र्धन गर्न राज्यले विशेष योजना ल्याउन आवश्यक छ। कोदोलाई केवल रोटी र ढिँडोमा सीमित नराखी यसको विविध परिकार उत्पादन गर्ने उद्योग सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।

त्यस्तै, कोदोबाट उत्पादन हुने स्थानीय मदिरालाई मापदण्डअनुसार ब्रान्डिङ गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सके किसानले उत्पादनको राम्रो मूल्य पाउन सक्ने उनले बताए। ‘कोदोको बजार विस्तार गर्न सकियो भने किसानलाई खेतीतर्फ आकर्षित गर्न सकिन्छ। नेपालमा केही छैन, रोजगारी छैन भन्नेहरूका लागि पनि कृषि र रैथाने बालीमा आधारित उद्योग राम्रो रोजगारीको माध्यम बन्न सक्छ,’ श्रेष्ठले भने। 

रैथाने बालीको संरक्षणसँगै उत्पादन, प्रशोधन, बजारीकरण र ब्रान्डिङमा राज्यले लगानी गर्न सके बाझिँदै गएका खेतमा फेरि खेती फर्काउन सकिने सम्भावना देखिएको छ। यसका लागि कोदोलाई केवल परम्परागत खाद्यान्नका रूपमा नभई स्थानीय अर्थतन्त्र र रोजगारी सिर्जनाको आधारका रूपमा विकास गर्नुपर्ने किसानहरूको माग छ।

प्रकाशित: Aug 15, 2026| 06:34 शनिबार, साउन ३०, २०८३
प्रतिक्रिया दिनुहोस्