काठमाडौं। नेपाली कांग्रेसका उपसभापति तथा नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको प्रतिष्ठानको छैटौँ बैठकले थप ६ वटा उपसमिति गठन गरेको छ।
बैठकले अन्तर्राष्ट्रिय सम्बन्ध, समन्वय एवं सामयिक दृष्टि उपसमितिको संयोजकमा सुमित शर्मा ‘समीर’, उपभोक्ता अधिकार, अवस्था र न्याय समन्वय उपसमितिमा कैलाश केसी, यौनिक तथा लैंगिक अल्पसंख्यकसम्बन्धी नीति तथा कार्ययोजना उपसमितिमा प्रतीक्षा चापागाई, ज्येष्ठ नागरिक सेवा एवं गरिमा उत्थान उपसमितिमा अनुपा श्रेष्ठ, सीमान्तीकृत वर्ग तथा समुदाय संवाद र सशक्तीकरण उपसमितिमा नरेन्द्र पासवान तथा स्थानीय तह सुशासन अध्ययन, अनुगमन तथा नीतिगत सुधार उपसमितिमा डोलराज भुसाललाई संयोजकको जिम्मेवारी दिएको छ।
बैठकले पार्टी सभापतिसँगको परामर्शमा हालसम्म गठन भएका उपसमितिहरूलाई आवश्यक सहजीकरण गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी प्रदान गर्ने निर्णय पनि गरेको छ।
यी नयाँ उपसमितिसँगै नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत हालसम्म गठन भएका उपसमितिको संख्या ३१ पुगेको छ।