आइतबार, असार १४, २०८३

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

 |  आइतबार, असार १४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०८३

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी शक्तिहरू विभाजित हुँदा देशमा अहिलेको राजनीतिक अवस्था सिर्जना भएको बताएका छन्।

National life

आइतबार काठमाडौंमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले विगतको निर्वाचनअघि नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)बीच कार्यगत एकता भएको भए आजको राजनीतिक परिस्थिति फरक हुने दाबी गरे।

खनालले पछिल्लो निर्वाचनमा वामपन्थी दलहरूले भोगेको हारको समीक्षा गर्नुपर्ने भन्दै एकताबिना भविष्य सुरक्षित नहुने बताए।

उनले भने,‘यदि यही दुईटा दल मात्रै निर्वाचनअघि कार्यगत एकता गरेको भए ७४ होइन, करिब १०० सिट वामपन्थीको हुन्थ्यो। बालेन्द्र तानाशाही परिस्थिति देख्नुपर्ने थिएन।’

उनले कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्न देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू सक्रिय रहेको आरोप लगाए। मदन भण्डारीको हत्या पनि कम्युनिष्ट आन्दोलनलाई निस्तेज पार्ने षड्यन्त्र भएको उनको दाबी थियो। 

Shivam cement

‘उहाँमाथि भएको षड्यन्त्र नेपालका कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्ने देशी–विदेशी प्रतिक्रियावादीहरूको घोर षड्यन्त्र थियो,’ उनले भने।

खनालले अहिलेको राजनीतिक अवस्था समाजवादी क्रान्तिको नयाँ चरण भएको उल्लेख गर्दै पुराना कार्यदिशा र नाराले मात्र नपुग्ने बताए। समयअनुसार नयाँ नीति, सिद्धान्त र कार्यदिशा विकास गर्नुपर्नेमा उनले जोड दिए।

उनले वामपन्थी दलहरूबीच लामो समयदेखि रहेको वैचारिक विभाजन अन्त्य गर्दै साझा मुद्दामा कार्यगत एकता गर्न आग्रह गरे। 

उनले भने,‘अब समयले हामीलाई एक ठाउँमा ल्याउन थालेको छ। आजको आवश्यकता वामपन्थी एकता हो।’ 

सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गर्दै उनले किसान, मजदुर र निम्न वर्गका जनताको हितविपरीत काम भइरहेको आरोप लगाए।

बजेट माथिल्लो वर्गको हितमा केन्द्रित रहेको र बढ्दो ऋण तथा महँगीले आम नागरिकलाई थप समस्यामा पारेको उनको भनाइ थियो। 

साथै उनले गणतन्त्र, संविधान र राष्ट्रियतामाथि खतरा बढिरहेको दाबी गर्दै त्यसको रक्षा गर्न वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।

‘देश संकटतर्फ जाँदै छ। राष्ट्रियता, गणतन्त्र र संविधानमाथि खतरा बढिरहेको छ। यो संकटबाट राष्ट्रलाई मुक्त गर्ने वास्तविक देशभक्त शक्ति वामपन्थी शक्ति नै हो,’ उनले बताए।

प्रकाशित: Jun 28, 2026| 17:38 आइतबार, असार १४, २०८३
प्रतिक्रिया दिनुहोस्