काठमाडौं। बहुप्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आगामी साउनको दोस्रो सातादेखि पूर्ण रूपमा व्यावसायिक सञ्चालनमा ल्याउने तयारी छ।
आयोजना प्रमुख सौजन्य नेपालका अनुसार सुरुङमार्गको जेठ अन्तिममा परीक्षण (ट्रायल) सम्पन्न गरी साउनदेखि नियमित सञ्चालन सुरु गरिनेछ।
प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल नेतृत्वको टोलीले सोमबार गरेको स्थलगत अनुगमनका क्रममा आयोजना प्रमुख नेपालले सुरुङमार्ग सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्।
उनका अनुसार गत वर्ष साउन–भदौमा परेको भारी वर्षाका कारण पश्चिमी छेउमा पहिरो जाँदा टोल बुथ संरचनामा क्षति भएपछि निर्माण तथा सञ्चालनमा ढिलाइ भएको थियो। परामर्शदाता प्रमुख रमेश कोइरालाले कानुनी प्रक्रिया, बन्द–हडताल तथा सञ्चालन मोडालिटी परिवर्तनका कारण पनि ढिलाइ भएको बताए।
प्रारम्भमा सडक विभागमार्फत सञ्चालन गर्ने योजना रहे पनि पछि प्रतिस्पर्धाबाट सेवाप्रदायक छनोट गर्ने निर्णय भएपछि प्रक्रिया मन्त्रिपरिषद्सम्म पुगेको उनले जानकारी दिए।
आयोजनाको हालसम्मको भौतिक प्रगति ९९ प्रतिशत र वित्तीय प्रगति ९६ प्रतिशत पुगेको छ। निर्माण कम्पनीले चाँडै आयोजना सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ।
सुरुङमार्ग सञ्चालनका लागि चीनको युसिन–एआरटी (संयुक्त) कम्पनीलाई पाँच वर्षका लागि ठेक्का दिइएको छ। आयोजनाका अनुसार सुरुङमार्ग सञ्चालनका लागि करिब १५० जना जनशक्ति आवश्यक पर्नेछ।