काभ्रेपलाञ्चोक- बिपी राजमार्गको यात्रा डेढ वर्षदेखि कठिनाईपूर्ण बनिरहेको छ। हालका दिनमा भइरहेको मध्यम र हल्का वर्षाले पनि पटकपटक अबरुद्ध हुने गरेको उक्त राजमार्ग यो चैत महिनाको मध्यसम्म दुईपटक अबरुद्ध भैसक्यो। डेढ वर्षअघिसम्म मध्यपहाडी क्षेत्रको यात्रालाई सहजता दिलाएको उक्त राजमार्ग दुई वर्षमा ‘ठीकठाक’ पार्ने गरी स्थायी पुनर्निर्माण भने सुरु भैसकेको छ।
सङ्घीय राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एक मात्र वैकल्पिक र अत्यन्त महत्वपूर्ण सडकमार्ग बिपी राजमार्ग। विशेषगरी यस राजमार्गको काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको विभिन्न क्षेत्रस्थित सडकखण्डमा यस र अघिल्लो वर्षको असोजका बाढीपहिरोले ‘थिलथिलो’ नै बनाएको छ। यस राजमार्गको मध्यक्षेत्र अर्थात काभ्रेपलाञ्चोकतर्फको सडकखण्ड भत्किएर क्षत्विक्षत् तथा बगाएपछि यात्रा जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। उक्त राजमार्गको सडक-सम्पर्क बिच्छेदसमेत भएको हो।
वर्षायाममा केही भागमा क्षति पुर्याएपनि दुई वटाका असोजका अबिरल वर्षामा काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीले राजमार्गका सडकखण्ड क्षतिग्रस्त बनाइदिएको थियो। यसवर्ष पनि गत असोजमै राजमार्गको विभिन्न सडकखण्डमा सडकको नामोनिसा नै मेटिनेगरी, पैदलसमेत हिड्ने नसक्ने गरी बाढीपहिरोले तहसनहस बनाइदिएको थियो। गत साल असोजमा क्षत्विक्षत् राजमार्गमा अस्थायी सडक एवं डाइभर्सन बनाई सञ्चालन गरिएपनि स्थायी बनाउने प्रक्रियामै रहेका बेला राजमार्ग पुनः थिलथिलो बन्नुपर्यो।
डिभिजन सडक कार्यालय भक्तपुरको प्रारम्भिक अनुगमन निरीक्षणअनुसार करिब चार किलोमिटर सडक नै बगाएको छ। यसका कारण खोलाबाटै डाइभर्सन बनाएर सवारी स्ञ्चालनमा ल्याउनुपर्यो। करिब २६ अर्ब जापानी येन बराबरको लागतमा खण्डखण्डमा निर्माण सम्पन्न यस राजमार्गले पूर्वी नेपाललाई राजधानीसँग छोटो र सिधा जोड्को छ। यस राजमार्ग निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम राजमार्ग हुँदै नारायणघाट–मुग्लिन–काठमाडौं घुम्नुपर्ने झन्झट हटाइदिएको थियो।
गत वर्षको असोज १०, ११ र १२ मा परेको अविरल वर्षाका कारण रोशी खोला बढीले बर्दिबासदेखि धुलिखेलसम्म १० किलोमिटर सडक क्षतिग्रस्त भएको थियो। त्यसलाई अस्थायी मर्मत गरेर सञ्चालनमा ल्याएको वर्ष दिनपछि गत असोज १७ र १८ मा वर्षाले पुनः क्षति गराएको हो। सङ्घीय राजधानी काठमाडौंबाट बागमती प्रदेशअन्तर्गत अरनिको राजमार्गअन्तर्गत धुलिखेलबाट सुरु भएको यस राजमार्ग मध्यपहाडीको हाल निर्माणाधीन पुष्पलाल रार्जमार्गसँग समेत जोडिएको छ। तर, भूकम्पले केही दूरीका सडक भत्काएको यस मार्गलाई २०८१ र २०८२ सालको बाढीपहिरोले थप क्षतिग्रस्त बनाएको हो।
राजमार्गअन्तर्गत यस क्षेत्रमा पुल नबनेका भ्याकुरे, घ्याम्पे र रोशी खोला बारम्बार समस्या बन्दै आइरहेका छन्। वर्षा भएका बेला यी खोलाबाट आउने खहरे र बाढीले हरेक दिनजसो बाटो बन्द हुने अवस्था निम्तिएको छ। यस्तै गत सालको बर्षाले काभ्रेपलाञ्चोकेको भकुण्डेबेंसीदेखि सिन्धुलीको नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा बाढीले नराम्रो क्षति पुर्याएको थियो। विशेषगरी नेपालथोक–आँपटार, कालढुङ्गा, डालाबेंसी, चिउरीबास, एक नम्बर पुललगायतका ठाउँमा सयौँ मिटर सडक बगाएको छ। त्यसबेला सानो खोलाले पनि डाइभर्सनसमेत बगाएको थियो।
गतसाल राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फको नार्के बजार, चौकीडाँडा, दाउन्ने, माम्ती खोला र बेंसीका सडकखण्ड पूर्णरुपमा बगाएका थियो। गत सालको वर्षाले बगाएको सडकमा अस्थायी ट्रयाक खोलिएको भए पनि गत बैशाख अन्तिम साताको बाढीले फेरि डाइभर्सनलगायत अस्थायी सडक बगाएको थियो। त्यसलाई पनि अस्थायी मर्मत गरी सञ्चालनमा ल्याइएको थियो। यसैबीच पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रुपमा पुनःनिर्माणकार्यलाई तीव्रता दिइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट थालिएको स्थायी पुनःनिर्माणकार्यलाई तीव्रता दिइएको हो।
राजमार्गको जोखिमयुक्त स्थानमा आउँदो वर्षाअघि नै पूर्वाधार निर्माण सक्ने र राजमार्गबाट नै यातायातका साधन सञ्चालन गर्नेगरी निर्माण कार्यलाई तीब्रता दिइएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए। उनका अनुसार राजमार्गमा भैरहेको काम हेर्दा दुई वर्षभित्र सडक पुनर्निर्माणको काम सकिनेछ। हालसम्म काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेको तीन वटा सडकखण्डमा कुल २५ प्रतिशत काम भएको योगेशको भनाइ छ।
विशेषगरी २०८१ असोजमा आएको बाढीपहिरो तथा यस बर्षको वर्षामा थप क्षति पुगेपछि गत मङ्सिरदेखि पक्रिया पुर्याएर स्थायी पुनःनिर्माण थालिएको हो। क्षग्रिस्त चार खण्डमध्ये बाँकी एक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनर्निर्माण गर्ने बर्खेखोलादेखि पिप्लेसम्मको ३ दशमलब २ किलोमिटर सडक निर्माणको काम यसै महिनाभित्र ठेक्का सम्झौता हुने योगेशले जानकारी दिए।
क्षति पुर्याएको विभिन्न स्थानमा ‘आरसीसी’ पर्खाल लगाउने काम भइरहेको छ भने चौकीडाँडामा खोलाबाट पर्खाल लगाउन तथा चारसयबेँशी र भकुण्डेबेँशीमा पनि ‘आरसीसी’ पर्खाल लगाउन सुरु गरिएको छ। यस्तै डालाबेँशी, मङ्गलटार खण्ड, चारसयबेँशीदेखि नार्के खण्डमा सडक चौडा बनाउने कामसमेत भइरहेको योगेशले बताए। उनका अनुसार गतवर्ष र यसवर्षको बाढीले सडक पूर्ण क्षति भएको स्थानमा बाढीले क्षति नगर्ने संरचना निर्माणको डिजाइन गरिएको छ।
राजमार्गको काभ्रेपलाञ्चोक र सिन्धुलीको क्षतिग्रस्त खण्डको आगामी दुई वर्षभित्र पुनर्निर्माणको काम सक्ने लक्ष्य राखिएको छ। कार्यालयका अनुसार क्षतिग्रस्त राजमार्गको पुनर्निर्माणको लागि तीन खण्डमा एकैसाथ काम सुरु गरिएको हो। यसवर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण गर्ने, सडक चौडा गर्नेलगायतको काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी रहेका केही स्थानमा संरचना बनाई कालोपत्रे गरी कामलाई तीव्रता दिइएको योगेशले बताउनुभयो। बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो।
अबको पुनःनिर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने भएको हो। “पुनःनिर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाईसमेत दुई लेनको निर्माण गरिनेछ”, योगेशले भने। उनका अनुसार पाँच वटा पुललाई दुई लेनमा परिणत गर्नेसमेत योजना बनाइएको छ।
डालाबेँसीदेखि चारसयबेँसीसम्म ८ दशमलव ५ किमी सडक पुनःनिर्माणका लागि खानी–एवन–कमलजीत जेभीले रु एक अर्ब ४२ करोड ३७ लाख ९भ्याटसहित०मा निर्माण गर्ने गरी ठेक्का पाएको कार्यालयले जनायो। यस्तै चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव ८ किमी सडक पुनःनिर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई रु एक अर्ब ३३ करोड ५३ लाखमा ठेक्का दिइएको हो। नेपालथोकदेखि बर्खेखोलासम्म ४ दशमलव ९० किमी सडक पुनर्निर्माणका लागि रु ६१ करोड (भ्याटसहित)मा निर्माण गर्ने गरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको जनाइएको छ।
क्षतिग्रस्त कूल २९ दशमलव पाँच किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३ दशमलव २ किमी सडकलाई जाइकाले रु २ अर्ब ६३ करोड बराबरको अनुदान उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ। कार्यालयले जाइकाले निर्माण गर्ने सडकखण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघिनै ठेक्का लगाइसकेको थियो। क्षतिग्रस्त खण्ड पुनःनिर्माणका लागि सरकारले रु ८ अर्ब ५० करोड स्रोत सहमति दिएको हो। यसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको हो। बिस्तृत अनुगमन निरीक्षण गरी पुनः अस्थायी बनाउने काम थालिएको कार्यालयको इन्जिनियर विन्दु अधिकारीले जानकारी दिए।
गत असोज १७ गते रातिदेखि निरन्तर परेको वर्षाले उक्त राजमार्गको भकुन्डे–नेपालथोक सडकखण्डमा धेरै क्षति पुर्याएको कार्यालयले जनाएको छ। इन्जिनियर अधिकारीका अनुसार बीपी राजमार्गअन्तर्गत उक्त सडकखण्डको १७ स्थानमा रोशी खोलाले क्षति पुर्याएको छ भने राजमागको चौकीडाँडा, बोक्सेकुना, माम्ती, चार सयबेंसी, घुमाउनेलगायतका स्थानमा निकै नै जोखिम रहेको छ। यी स्थानमा अब शून्यबाटै फेरि मर्मत सुरु गरिने अधिकारीको भनाई छ।
कार्यालयका अनुसार हाल एक सय १० किलोमिटर सडकमा यातायात पुनः सञ्चालनमा रहेको र ५० किलोमिटर पुनर्निर्माणको चरणमा रहेको छ। कार्यालयले गतसाल असोजको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत २९ किलोमिटर सडकखण्डलाई चार खण्डमा पुनर्निर्माण गर्नेगरी यस वर्ष प्रक्रिया अघि बढाइएको थियो। त्यतिबेलाको बाढीपहिरोले आठ किलोमिटर सडक पुरै बगाएको थियो।
यस्तै, क्षतिग्रस्त राजमार्ग स्थायी पुनर्निर्माण गर्दा इन्टरमिडियट लेनबाट कम्तीमा दुई वटा गाडी सहजरुपमा गुड्ने गरी सात मिटर चौडाइको कालोपत्रे भएको र अर्को रोशीखोलामा बाढी आउँदा बाढीले खोल्नसक्ने नदीको सतहभन्दा तलबाट आरसिसी पर्खाल लगाएर सडक निर्माण गरिने जनाइएको छ। कार्यालयले पहिलो चरणमा भकुन्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउने छ। राजमार्गमा जोखिमका कारण पटकपटक विशेषगरी राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएको छ। दैनिक करिब तीन हजार सवारीसाधन आवतजावत गर्ने उक्त राजमार्गमा चाडवाडका बखत भने तेब्बर सवारी साधन ओहोरदोहोरनै गर्छन्।
त्यसो त जाइकाको प्राविधिक अध्ययनले बिपी राजमार्गमा १६ टनभन्दा माथिको सवारीसाधन सञ्चालन गर्न रोक लगाएको छ। तर व्यापारीले प्रशासनलाई प्रभावमा पारेर २५ टनसम्मका सवारीसाधन सञ्चालन गर्दै आइरहेका छन्। बिपी राजमार्गमा ट्रिपरले २५ टनसम्म गिट्टी वालुवा लिएर निर्वाध रुपमा सञ्चालन हुने गरेपनि नियम कार्यान्वयन गर्ने निकाय भने प्रायः मुकदर्शक नै बन्ने गरेको पाइन्छ। बिपी राजमार्गको संरचना भत्काउने मुख्य कारकको रुपमा यस सडकमा सञ्चालन हुने टिपर पनि रहेका छन्। दैनिक यस सडकमा छ सयभन्दा बढी टिपर क्षमताभन्दा बढी लोड लिएर सञ्चालन भइरहेका छन्। बेलाबखत प्रहरीले चेकिङ गरे पनि नियमित रुपमा अनुगमन हुन सकिरहेको छैन। यसको फाइदा टिपर व्यवसायीले उठाउँदै आएका छन्। सङ्गठित रुपमा टिपर सञ्चालक र क्रसर व्यवसायीले स्थानीय प्रशासनलाई प्रभाव पार्दै बिपी राजमार्गको संरचनालाई जोखिममा पार्दै आएका पनि छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हाल बिपी राजमार्गमा साना ठूला गरी दैनिक ३ हजारभदा बढी सवारी साधन आवतजावगत गर्ने गरेका छन्। मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा पूर्वबाट आउने अधिकाशं साना सवारी साधन बिपी राजमार्ग हुँदै सञ्चालन हुने गरेका छन्। यस सडकमा ट्रिपर, मिनी बस, टाटासुमो र माइक्रोबस बढी सञ्चालन हुने गरेका छन्। जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो। खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा लिइएको छ। -रासस