बिहीबार, जेठ ७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • शुक्रबारदेखि काभा महिला च्याम्पियनसिप सुरु हुँदै, उपाधिका लागि ८ राष्ट्र प्रतिस्पर्धामा

शुक्रबारदेखि काभा महिला च्याम्पियनसिप सुरु हुँदै, उपाधिका लागि ८ राष्ट्र प्रतिस्पर्धामा

 |  बिहीबार, जेठ ७, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ७, २०८३

काठमाडौं। महिला भलिबलको प्रतिस्पर्धात्मक माहोल फेरि एकपटक काठमाडौंमा देखिने भएको छ।

National life

शुक्रबारदेखि सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपमा घरेलु टोली नेपालसहित ८ राष्ट्र उपाधिका लागि प्रतिस्पर्धामा उत्रँदैछन्। घरेलु समर्थकको साथ, अनुभवी र युवा खेलाडीको मिश्रण तथा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बढेको आत्मविश्वासका कारण नेपालमाथि यसपटक विशेष चासो देखिएको छ।

प्रतियोगितामा नेपाल, भारत, किर्गिस्तान र माल्दिभ्स समूह ‘ए’ मा छन् भने ईरान, काजखस्तान, श्रीलंका र बंगलादेश समूह ‘बी’ मा रहेका छन्। नेपालले आफ्नो पहिलो खेल जेठ ८ गते साविक विजेता भारतविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। नेपाल–भारतबीचको प्रतिस्पर्धालाई प्रतियोगिताकै आकर्षक खेलका रूपमा हेरिएको छ।

बिहीबार आयोजित प्रि–म्याच पत्रकार सम्मेलनमा निरुता ठगुन्नाले घरेलु कोर्टमा खेल्दा दर्शकको साथ टोलीका लागि ठूलो ऊर्जा बन्ने बताइन्। पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी गरिरहेकी निरुताले टोलीमा अनुभवी र युवा खेलाडीबीच राम्रो समन्वय रहेको उल्लेख गर्दै नेपाल राम्रो प्रदर्शनका लागि तयार रहेको बताइन्।

उनले भनिन्, ‘घरेलु दर्शकको साथले खेलाडीलाई थप हौसला दिन्छ। हाम्रो तयारी राम्रो छ र हामी प्रतियोगितामा सकारात्मक सुरुआत गर्ने लक्ष्यमा छौँ।’

Shivam cement

यस्तै, साविक विजेता भारतकी कप्तान नन्दनाले छोटो तयारी भए पनि टोली उपाधि रक्षा गर्ने लक्ष्यसहित काठमाडौं आएको बताइन्। उनले दक्षिण एसियाली टोलीहरूबीच प्रतिस्पर्धा पछिल्ला वर्षहरूमा झनै कडा बन्दै गएको उल्लेख गरिन्।

काजखस्तानकी कप्तान नतालियाले पनि सीमित तयारीका बाबजुद आफ्नो टोली उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने बताइन्।

नेपालमा पछिल्ला वर्षहरूमा महिला भलिबलप्रति दर्शकको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको छ। घरेलु मैदानमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा दर्शकको उत्साहपूर्ण उपस्थितिले नेपाली टोलीलाई अतिरिक्त आत्मविश्वास दिने अपेक्षा गरिएको छ। यही कारण यसपटकको काभा महिला च्याम्पियनसिप केवल उपाधि प्रतिस्पर्धामा मात्र सीमित नभई नेपाली महिला भलिबलको लोकप्रियता र सम्भावनाको अर्को परीक्षणका रूपमा पनि हेरिएको छ।

प्रकाशित: May 21, 2026| 19:26 बिहीबार, जेठ ७, २०८३
प्रतिक्रिया दिनुहोस्