बुधबार, वैशाख १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मनसुनजन्य विपदबाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान

मनसुनजन्य विपदबाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान

 |  बिहीबार, असार २६, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असार २६, २०८२

दमौली- मनसुनजन्य विपद्बाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८२ बमोजिम जिल्लामा ६६ हजार तीन सय ५० जना प्रभावित हुने अनुमान गरिएको हो। 

National life

यस वर्षको मनसुनबाट प्रभावित हुने जनसङ्ख्या मुलुकभर १२ लाख ५० हजार अनुमान गरिएकामध्ये गण्डकी प्रदेशमा ६५ हजार छ सय ९९ परिवारका दुई लाख ८७ हजार एक सय प्रभावित हुने आँकलन गरिएको विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए। 

मनसुनजन्य जोखिमको हिसाबले गण्डकी प्रदेशमा तनहुँलाई पहिलो जोखिमयुक्त जिल्लाका रूपमा राखिएको उनको भनाइ छ। मनसुनजन्य विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न जिल्लाको प्रतिकार्य क्षमताको वृद्धि गरी प्रभावितहरूको आपतकालीन आवश्यकतालाई समयमा प्रभावकारी र समन्वयात्मक ढङ्गबाट पूरा गर्न प्रतिकार्य योजना बनाइएको अधिकारीले उल्लेख गरे। 

प्रतिकार्य योजनामा जिल्लाभित्रमा विगतमा घटेका मनसुनजन्य विपद्का घटना तथा सोबाट भएका क्षति विश्लेषण गरी प्राथमिकता निर्धारण गरिएको छ। विपद्मा खोज तथा उद्धारका लागि तत्काल परिचालित हुनु र प्रतिकार्यमा हुने ढिलाइ तथा अन्योलता हटाउन जिम्मेवार तथा सहयोगी निकायको स्पष्ट जिम्मेवारी तोकी प्रभावकारी समन्वय तथा सञ्चार कायम गरिएको प्रजिअ अधिकारीले बताए। 

उनका अनुसार जोखिमको प्राथमिकताका आधारमा व्यास नगरपालिकामा पहिरो पहिलो र बाढी दोस्रो, भानु नगरपालिकामा बाढी पहिलो र पहिरो दोस्रो, भिमाद नगरपालिकामा पहिरो पहिलो र बाढी दोस्रो, शुक्लागण्डकी नगरपालिकामा पहिरो पहिलो र बाढी दोस्रो निर्धारण गरिएको छ।

kumari

देवघाट गाउँपालिकामा बाढी पहिलो र पहिरो दोस्रो, बन्दीपुर गाउँपालिकामा पहिरो पहिलो र आगलागी दोस्रो, घिरिङ गाउँपालिकामा पहिरो पहिलो र बाढी दोस्रो, ऋषिङ गाउँपालिकामा पहिरो पहिलो र बाढी दोस्रो, आँबुखैरेनी गाउँपालिकामा पहिरो पहिलो र बाढी दोस्रो र म्याग्दे गाउँपालिकामा पहिरो पहिलो र बाढी दोस्रो निर्धारण गरिएको छ।

चालु आर्थिक वर्षमा मनसुनजन्य विपद्का घटनाहरूका आधारमा जिल्लामा जोखिमको प्राथमिकतामा पहिरो, बाढी, आगलागी, महामारी, चट्याङ, हावाहुरी र सुक्खा खडेरी रहेका प्रजिअ अधिकारीले जानकारी दिए। 

उनका अनुसार मनसुनजन्य विपद्का घटनामा उद्धार तथा राहतमा प्रयोग गर्न खुला स्थान र आश्रयस्थल तयारी अवस्थामा छन्। 

प्रकाशित: Jul 10, 2025| 13:39 बिहीबार, असार २६, २०८२
प्रतिक्रिया दिनुहोस्