शुक्रबार, असार ५, २०८३

ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु

 |  बुधबार, असार १८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असार १८, २०८२

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिकामा अवस्थित ऐतिहासिक ओखरबोट तामाखानी उत्खननको सम्भावनाका लागि अध्ययन सुरु गरिएको छ। खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको एम/एस दोङयी मिनरल्स प्रालिले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईईई) तयार गर्ने प्रक्रियाबाट अध्ययन अघि बढाएको हो।

National life

मालिका गाउँपालिका–३ र ४ को सिमानामा पर्ने सो खानी क्षेत्रमा भूगर्भविद्हरुको टोली खानीमा तामाको मात्रा, उत्खननको सम्भाव्यता र वातावरणीय असरको मूल्याङ्कन गर्दैछ। मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाथोकीका अनुसार अध्ययन टोलीले वातावरणीय प्रभाव न्यूनीकरणका उपायसमेत पहिचान गर्नेछ।

कम्पनीले प्रभावित क्षेत्रका बासिन्दाको सुझाव लिन गत साता ओखरबोटमा सार्वजनिक सुनुवाइ सम्पन्न गरेको थियो। साथै, मङ्गलबार सात दिने सार्वजनिक सूचना जारी गर्दै स्थानीय तथा सरोकारवाला संघसंस्थाबाट औपचारिक सुझाव पनि संकलन गरिरहेको छ।

स्थानीय बासिन्दाले अध्ययन थालिएकोप्रति खुसी व्यक्त गरेका छन्। उनीहरूले रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनु पर्ने र वातावरणीय सावधानी अपनाउनु पर्ने सुझाव दिएका छन्।

खानीको स्थलगत अवलोकनमा आएका भूगर्भविद् रोनित पौडेलले प्रारम्भिक परीक्षण प्रतिवेदन स्वीकृत भएपछि खानीमा खोज तथा अनुसन्धान सुरु गरिने जानकारी दिनुभयो। त्यसपछिको चरणमा विस्तृत सम्भाव्यता अध्ययन हुँदै उत्खनन प्रक्रियामा अघि बढ्ने तयारी छ।

Shivam cement

७२ वर्षीय स्थानीय बासिन्दा विसराम पटेलका अनुसार ओखरबोटको तामाखानीबाट विसं २०२८ सम्म स्थानीय प्रविधिबाट तामा निकालिन्थ्यो। तर प्रविधिको अभाव, उच्च कर भार र कमजोर आम्दानीका कारण खानी सञ्चालनमा कठिनाइ भएपछि उत्खनन बन्द गरिएको थियो। 

उनका अनुसार त्यसबेलाको खानीमा दुई सयभन्दा बढी कामदार खटिन्थे र दैनिक सातदेखि आठ धार्नी (एक धार्नी करिब २.५ केजी) तामा निकालिन्थ्यो। अब यो ऐतिहासिक खानी पुनः सञ्चालनमा आउँछ कि भन्ने स्थानीयको चासो र आशा दुवै बढ्दो छ। रासस

प्रकाशित: Jul 02, 2025| 18:01 बुधबार, असार १८, २०८२
प्रतिक्रिया दिनुहोस्