शुक्रबार, मंसिर १२, २०८२

गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

 |  बुधबार, असार १८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असार १८, २०८२

गण्डकी- गण्डकी प्रदेशको कास्की, बागलुङ, तनहुँ, म्याग्दी, मनाङ, लमजुङ, पर्वत र गोरखालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ। जन्मेदेखि २३ महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि आठवटै जिल्लालाई पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिएको हो। 

National life

प्रदेशका बाँकी जिल्ला स्याङ्जा, नवलपुर र मुस्ताङलाई यही असारभित्र पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कास्कीलाई सोमबार र लमजुङलाई आज पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य मन्त्री कृृष्णप्रसाद पाठकले बताए। 

पहिलो पटक विसं २०७५ मा गण्डकी प्रदेश नै पूर्णखोप सुनिश्चित प्रदेश घोषणा भए पनि त्यसयता बर्सेनि हरेक स्थानीय तह, जिल्ला र प्रदेशलाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गर्ने गरिएको उनको भनाइ छ। स्वास्थ्य मन्त्रालयका अनुसार जन्मेदेखि २३ महिना उमेर समूहका बालबालिकाले १३ प्रकारका रोगविरुद्ध लगाइने सम्पूर्ण खोप पाएपछि पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको छ।  

घोषणासँगै यसको दिगोपनाका लागि हरेक वर्ष खोप अभियान सञ्चालन गर्ने गरिएको मन्त्रालयले जनाएको छ। खोप लगाउनबाट कुनै पनि बालबालिका बञ्चित हुन नपरोस् भनेर खोजीखोजी खोप लगाउने गरिएको जिल्ला खोप समन्वय समिति, बागलुङका सदस्य सचिव घनश्याम सापकोटाले बताए। 

स्वास्थ्य मन्त्री पाठकले खोप कार्यक्रम तीनै तहका सरकारको प्राथमिकतामा रहेको बताए। नियमित खोप पाउनु बालबालिकाको अधिकार र खोप दिलाउनु राज्यको दायित्व रहेको उनको भनाइ छ। मातृ तथा नवशिशु मृत्युदर घटाउन पूर्णखोप अभियानले सहयोग पुर्‍याइरहेको स्वास्थ्य मन्त्री पाठकले बताए। 

Laxmi sunrise bank
kumari

प्रदेशका करिब २५ हजार बालबालिकालाई नियमित खोपको दायरामा ल्याइएको जनाउँदै उनले सबै जिल्ला घोषणा भएपछि गण्डकीलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिने बताए।

प्रकाशित: Jul 02, 2025| 16:01 बुधबार, असार १८, २०८२
प्रतिक्रिया दिनुहोस्