दाङ- दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने घोसखोलामा पुल बनेपछि विद्यार्थीलगायतलाई आवतजावत गर्न सहज भएको छ।
बर्खाको समयमा खोलामा पानीको बहाव बढ्दा विद्यार्थीलाई आवतजावत गर्न समस्या भएको थियो। राप्ती गाउँपालिका–९ स्थित देवी आधारभूत विद्यालय मसरी डाँडाका विद्यार्थी पानी परेका बेला घरमै बस्नुपर्ने बाध्यता थियो।
‘खोला तर्न नसक्दा पढाइ छुट्थ्यो। अहिले पुल बनेपछि ढुक्कसँग विद्यालय जान सकिने भएको छ,’ कक्षा ६ मा अध्ययनरत सुस्मिता राना मगरले भनिन्।
मसरी डाँडाका ५० भन्दा बढी विद्यार्थी उक्त विद्यालयमा अध्ययनरत छन्। पुल बनेपछि बर्खामा पनि विद्यार्थी नियमित रुपमा पढ्न जाने गरेका कक्षा ६ मा अध्ययनरत भीमबहादुर गाहा मगरले बताए।
विद्यार्थीलाई मात्रै होइन, त्यहाँका स्थानीयलाई पनि पुल बनेपछि सहज भएको छ। त्यहाँ करिब १९५ घरधुरीको बसोबास रहेको छ। कोही बिरामी पर्दा पनि पुल नहुँदा बाढीले छेक्ने गरेको राप्ती गाउँपालिका–९ का वडाध्यक्ष रिमबहादुर सुनारीले बताए।
अहिले त्यहाँ ११२ मिटर लामो पुल निर्माण भएको छ। सङ्घीय सरकारको ४३ लाख ४८ हजार र राप्ती गाउँपालिकाको १८ लाख तथा स्थानीयको एक लाख २५ हजार रुपैयाँ बराबरको श्रमदानबाट उक्त पुल निर्माण भएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए। (रासस)यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
काठमाडौं- हाल कोशी, मधेस, बागमती, गण्डकी र प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।
जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ। देशका थोरै स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधरणतया बदलीदेखि पूर्णयता बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।