काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आगामी १७ पुस (१ जनवरी सन् २०२६) देखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताएका छन्।
मन्त्री दाहालले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको अनुगमन गर्दै यस्तो बताएका हुन्। मन्त्री दाहाल मन्त्रालयका सचिवसहित उच्चस्तरीय अधिकारी लिएर आइतबार निर्मार्णाधीन सुरुङमार्गको अनुगमन तथा निरीक्षण गर्न पुगेका थिए।
सो क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री दाहालले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालको गोरवको विषय भएको बताए। उनले लामो समयको प्रतिक्षापछि सञ्चालनमा आउने तयारीमा रहेको सुरुङमार्गको सब–अपरेसनको काम आगामी ७ कात्तिकदेखि सुरु हुने बताए।
मन्त्री दाहालले भने, ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालको गोरवको विषय हो । लामो समयको प्रतिक्षापछि यो सञ्चालनमा आउने तयारीमा छ । अहिले पनि काम भइरहेको छ । हामी अगामी ७ कात्तिकदेखि सामान्य सब–अपरेसनको काम चाहिँ सुरु गर्छौं । सिभिल वर्क अक्टोबर २५ मा सकिन्छ । त्यो काम सकिएपछि हामीलाई हस्तान्तरण हुन्छ । यसलाई पूर्ण रूपमा अगामी वर्षको १ जनवरीदेखि सुरु गर्ने भनेका छौं । तर त्यसअघि नै हामीले सुरुङमार्ग सञ्चालनका लागि डेमो जस्तो गरेर यसलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनका लागि काम गर्छौं ।’
आज नै उनले ललितपुरको ग्वार्कोमा निर्माणाधिन ओभरपासको पनि निरीक्षण गरेका थिए। ओभरपासमा यही जेठभित्र गाडी चलाउने लक्ष्य रहेको उनले बताए।