काठमाडौं- अविरल वर्षाका कारण बीपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ। गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार बाढीले रोशी गाउँपालिका-१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन सकिएको थिएन।
प्रहरी टोली तथा स्थानीयका पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको उनले बताए। गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो। राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको प्रहरीले जनाएको छ।