चितवन- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सम्पन्न भएको छ। नेपाल विद्युत प्राधिकरणको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरणको काम केन्द्रीय बस ट्रमिनलबाट टिकौलीसम्मको बाहेक अन्यत्रको सम्पन्न भएको जनाएको छ।
आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत पुलचोकबाट केन्द्रीय बस ट्रर्मिलनसम्मको सडकमा भूमिगत गर्ने काम सम्पन्न भएको हो। ती क्षेत्रमा स्थानीयको घरमा जडानको काम बाँकी रहेको उनले जानकारी दिए। बाइपास सडकमा आँपटारीबाट केन्द्रीय बस ट्रर्मिनलसम्मको सडकमा दायाँतर्फ भूमिगतको काम सम्पन्न भएको छ।
बायाँतर्फ भूमिगत गर्ने काम बाँकी छ। ‘फाउण्डेसन राख्ने काम सकिएर केही ठाउँमा मुख्य लाइन जडान बाँकी छ’ इन्जिनियर सुवेदी भन्छन्, ‘३३ केभी जडानको काम सकिएको छ भने ११ केभी र ४०० भोल्टको केवल राख्ने काम जारी छ।’ पारस बसपार्कबाट गोन्द्राङ्तर्फको कामका लागि सडक विभागसँग अनुमति लिने प्रक्रिया भइरहेको उनको भनाइ छ।
वर्षाको समयमा फाउण्डेसन निर्माणमा कठिनाइ हुने भएकाले केही समय ढिला हुने देखिएको छ। खाल्डाे खन्ने क्रममा पानी आउने भएकाले वर्षापछि त्यस क्षेत्रको काम सुरु गर्ने तयारी छ। सडक विभागबाट अनुमति आएसँगै काम अघि बढाइने उनले बताए। केन्द्रीय बस ट्रर्मिनलबाट गोन्द्राङ्सम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिए पनि अहिले थप गरी ११ केभिए र ४ सय भोल्टको लाइनलाई भूमिगत गरिने उनको भनाइ छ।
पछिल्लो सम्झौताअनुसार भरतपुर महानगरपालिका भित्र चनौली लाइन जडानका लागि मुख्य सहरी क्षेत्रमा भूमिगतमार्फत काम गर्दै लगिने इन्जिनियर सुवेदीले जानकारी दिए। उनका अनुसार महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि १ अर्ब ४० करोड रुपैयाँ लाग्छ। सुरुवाती समयमा १ अर्ब ३० करोड रुपैयाँ बजेट भरतपुरलाई विनियोजन गरिएको थियो।निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको छ।
ठेक्का सम्झौता अनुसार पहिलो चरणको समय सन् २०२४ को जनावरी २० मा सकिएको थियो। तर, निर्माण सम्पन्न नभएपछि ८ महिनाका लागि समय थप गरी काम अघि बढाइएको छ। काम थप हुँदै जाँदा समय पनि थप गरिँदै लगिएको हो। एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको छ। रासस