झापा- झापाको मेचीनगर नगरपालिका बहुउपयोगी खाद्य वनस्पति सजिवन (मोरिङ्गा)को व्यावसायिक खेती प्रवर्द्धनमा जुटेको छ ।
स्थानीय थोप्लेबिरान महिला कृषि सहकारी संस्थासँग मिलेर मेचीनगर–९ मा दुई बिघा क्षेत्रफलमा सजिवनको खेती प्रवर्द्धन गर्न नगरपालिकाले बजेट उपलब्ध गराएको नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले बताए ।
स्वास्थ्य र आयआर्जनका दृष्टिले किसानका लागि लाभदायक भएकाले यसको खेतीमा नगरपालिका आर्थिक साझेदारीसहित जुटेको उनको भनाइ छ । खेतीका लागि नगरपालिकाले थोप्लेबिरान महिला कृषि सहकारी संस्थासँग परियोजना सम्झौता गरिसकेको छ ।
परियोजना सम्झौतामा नगरपालिकाले खेतीको ८० प्रतिशत र सहकारी संस्थाले २० प्रतिशत साझेदारी लागत व्यहोर्ने उल्लेख छ । नगरपालिकाले सजिवन खेती परियोजनाका लागि प्रारम्भिक चरणमा तीन लाख बजेट बिनियोजन गरेको छ । मेचीनगरमा यसको परम्परागत खेती पहिल्यैदेखि हुने गरे तापनि व्यावसायिक खेती भने पहिलोपल्ट सुरु भएको हो ।
फल र पात दुबै तरकारीको रूपमा खान मिल्ने र यसमा औषधीय एवम् पौष्टिक गुण अधिक हुने भएकाले पछिल्लो समय सजिवनको खेतीमा किसान आकर्षित भइरहेका छन् । छिमेकी जिल्ला इलाममा पनि यसको व्यावसायिक खेती सफलतापूर्वक भइरहेको छ ।
मेचीनगरका किसानहरू हालै सजिवन खेती अवलोकन गर्न रूपन्देहीको सैनामैना नगरपालिका– ६ मा गएका थिए । त्यहाँका कृषक गोविन्द कँडेलले ६५ बिघा क्षेत्रफलमा लगाएको सजिवनको व्यावसायिक खेती अवलोकन गरेर फर्किएपछि मेचीनगरका किसानले उक्त खेतीमा लाग्ने सोच बनाएको थोप्लेविरान महिला कृषि सहकारी संस्थाकी अध्यक्ष डम्बरकुमारी श्रेष्ठले बताइन् ।
सजिवन खेती परियोजना सञ्चालनका लागि थोप्लेविरान सामुदायिक वन उपभोक्ता समूहकी सचिव जानुका ओलीलाई सजिवन खेती व्यवस्थापन समितिको संयोजक चयन गरिएको उनले जानकारी दिइन् ।
सजिवन खेती व्यवस्थापन समितिकी संयोजक जानुका ओलीले सैनामैनाबाट पहिलो चरणमा दुई किलो सजिवनको बीउ ल्याइएको र त्यसबाट लगभग ६ हजार विरुवा हुर्काउने परियोजनाको लक्ष्य रहेको बताइन् ।
समितिले सजिवन खेती गर्न इच्छुक किसानलाई बोलाएर खेती गर्ने तरिका र यसका फाइदा बारेमा छलफल चलाएको छ । आगामी दिनमा खेतीको विस्तार गरिने र यसको पातबाट पाउडर बनाउने योजना बनाइएको ओलीले बताइन् ।
मेचीनगर नगरपालिकाका कृषि विकास शाखाका प्रमुख टेकेन्द्र प्रधानले सजिवन खेती गर्ने तरिका, उत्पादन र यसका फाइदा वेफाइदालगायतका विषयमा मसिनो गरी किसानलाई अवगत गराइएको बताए ।
उनका अनुसार मलिलो, बलौटे र पानी नजम्ने माटोमा सजिवनको खेती फस्टाउँछ । सजिवनको फल र पातमा रोग प्रतिरोधी तत्व हुने भएकाले मधुमेह, उच्च रक्तचापलगायत अन्य थुप्रै रोगका बिरामीले यसको नियमित सेवन गरिरहेको पाइएको छ ।