शुक्रबार, पुस ११, २०८२

कोरियाको कमाइ र सीप, गाउँमा भैँसीपालन

 |  बिहीबार, वैशाख २५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०८२

स्याङ्जा- दक्षिण कोरियामा १० वर्ष बिताएका स्याङ्जा चापकोटका २ दाजुभाइले गाउँ फर्केर कृषिउद्यम सुरु गरेका छन्। उत्तम आचार्य र वीरेन्द्र आचार्यले विदेशमा कमाएको धन आफ्नै गाउँमा भैँसीपालनमा खर्चिएका हुन्।

National life

२०७३ देखि सुरु गरेको ‘सिद्धबाबा एग्रो फार्म एन्ड रिसर्च सेन्टर प्राली’ हाल गण्डकी प्रदेशमै ठूलोमध्येको एक भैँसी फार्मको पहिचान बनाएको छ। १० वर्ष कोरियामा सिकेको सीप र कमाएको पैसा लगानी गरेको उक्त फर्ममा ६७ वटा गुजराती र मुर्रा जातका भैँसीहरू छन्। हाल फर्मबाट दैनिक १८५ देखि २०० लिटरसम्म दूध उत्पादन भइरहेको छ।

यसका साथै गोबर र मूत्रलाई जैविक मलका रूपमा बिक्री गरेर आम्दानी भइरहेको छ। आचार्य दाजुभाइ कोरियामा रहँदा सिकेको आधुनिक पशुपालन प्रविधिलाई नेपालमै प्रयोग गरिरहेको बताउँछन्। कोरियाबाट फर्किएपछि सुरुमा काठमाडौंमा होटल व्यवसायमा लागे पनि पछि गाउँमै आएर हार्डवेयर व्यवसाय र भैँसीपालन सुरु गरेको उत्तमको भनाइ छ। 

‘फार्म सञ्चालनका क्रममा हालसम्म ३ करोडभन्दा बढी लगानी भइसकेको छ। सञ्चालनको सुरुआतमा २५ प्रतिशत विश्व बैंक २५ प्रतिशत नेपाल सरकार र बाँकी ५० प्रतिशत लगानी आफैले गरेका थियौँ’, २ दाजु भाइ भन्छन्, ‘फार्ममा प्रत्यक्ष रूपमा १० जनाले रोजगारी पाएका छन् भने अप्रत्यक्ष रूपमा थप धेरैलाई कामको अवसर सिर्जना भएको छ।’

भाई वीरेन्द्र फार्ममा दिनहुँ आँफै खट्ने गरेको बताउँछन्। बिहानै फार्ममा पुगेर दूध प्याक गर्ने, क्यानमा राख्ने, होम डेलिभरी गर्ने र बिक्री नभएको दूधबाट पनिर उत्पादन गर्ने काम दिनहुँ भइरहेको उनको भनाइ छ। अब हरेक युवाले आफ्नै देशमा भविष्य खोज्नुपर्छ भनेर आफूहरू यस कार्यमा लागेको आचार्यले बताए।

Laxmi sunrise bank
kumari

‘कुनै समय कोरियामा राम्रो जीवन बिताएका थियौँ। विदेश गएर अनुभव हासिल गर्नु राम्रो हो तर, उतै बसेर हुँदैन आफ्नो देश र माटो आफ्नै हुन्छ’ उनीहरु भन्छन्, ‘त्यसैले विदेशबाट फर्किएर हामीले आफ्नै गाउँठाउँमा लगानी गर्यौँ। कृषि क्षेत्रमा लगानी गर्न सके देशमै राम्रो गर्न सकिन्छ।’

उनीहरुको कामबाट चापाकोटका धेरै युवाहरू कृषिप्रति आकर्षित भइरहेका छन्। स्थानीय निकाय र राज्यले कृषिउद्यमलाई सम्मानित तथा प्रोत्साहित बनाउन सहयोग गरे धेरैले यसैमा भविष्य खोज्ने आचार्य दाजुभाइको विश्वास छ।

‘देशमै भविष्य खोजेका कृषकलाई राज्यबाट पर्याप्त सुविधा नभएको महसुस हुन्छ। कहिलेकाहीँ भैँसीलाई मिल्क फिभर जस्ता रोग लाग्छन्, भैँसीको बीमा र स्वास्थ्य उपचार निःशुल्क  छैन’ उनीहरुले गुनासो पोखे।अन्य धेरै पालिकाहरूमा प्रतिलिटर दूधमा २ देखि १५ सम्म अनुदान दिइए पनि चापाकोट नगरपालिकाले कुनै अनुदान दिएको छैन। यसबारे पालिकाले सोच्न आवश्यक भएको कृषकको भनाइ छ। रासस 

प्रकाशित: May 08, 2025| 17:31 बिहीबार, वैशाख २५, २०८२
प्रतिक्रिया दिनुहोस्