काठमाडौं- प्रतिनिधिसभाको आजको बैठक जारी छ। बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए।
प्रतिपक्षको विरोधपछि सभामुख देवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए।
सांसद पाण्डेले संसद्मा सोमबार दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गरिनुपर्ने बताए।
शिक्षकहरु लामो समयदेखि सडक आन्दोलनमा रहेकामा उनीहरुका जायज माग सम्बोधनका लागि पहल गर्न सोमबार पाण्डे प्रस्तावक रहेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता भएको थियो। उक्त प्रस्तावमाथि आजै संसद्मा छलफल चलाउन र समस्याको समाधान खोज्न पाण्डेले सभामुखमार्फत ‘रुलिङ’ माग गरे।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्नका लागि सरकार गम्भीर रहेको दाबी गरे। शिक्षकहरुसँग तत्काल वार्ता गरी समस्याको समाधान गर्न र वार्ताबाटै विषय टुंग्याउन आवश्यक रहेको उनले बताए।
‘सदनमा उठेका विषयमाथि सरकार गम्भीर भएर शिक्षामन्त्रीले शिक्षक प्रतिनिधिहरुसँग निरन्तर छलफल र वार्ता गरिरहनुभएको छ’, आज साँझ सम्ममा निकास निस्कनेमा आफू आशावादी भएको उनले बताए।
सांसद प्रेम आलेले पोखरा र भैरहवा विमानस्थलमा भएको आर्थिक हिनामिनाको निष्पक्ष छानबिनको माग गरे।
सांसद शोभा ज्ञवालीले देशका विभिन्न भागमा जंगली जनावरको आक्रमण बढेकामा चिन्ता व्यक्त गर्दै समस्याको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
सांसद ज्ञानबहादुर शाहीले आन्दोलनरत शिक्षकका समस्या समाधानका लागि गम्भीर हुन सरकारलाई आग्रह गरे।
त्यसैगरी, सांसद रञ्जुकुमारी झाले बालबालिकाको पोषणभत्ता वृद्धि हुनेगरी आगामी नीति तथा कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिइन्।
सांसद माधव सापकोटाले सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ गुम्बास्थित बोल्दे आधारभूत विद्यालयका कार्यालय सहयोगी पेम्बानुर्बु तामाङलाई आन्दोलनका क्रममा हातपात भएको भन्दै आपत्ति जनाए।
सांसद महेश बस्नेतले इलाममा चिया उत्पादन गर्न किसानले युरिया मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले किसानलाई किबीको उचित मूल्य उपलब्ध गराउन सरकारसँग माग गरे।
सांसद मीना तामाङ र मैना कार्कीले शिक्षकका समस्या समयमै वार्तामार्फत समाधान गर्नुपर्नेमा जोड दिइन्। सांसद मेनकाकुमारी पोखरेलले अभिभावकविहीन बालबालिकाका लागि सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा व्यवस्था गर्न माग गरिन्।
यस्तै, सांसद योगेन्द्र मण्डलले शिक्षा ऐन चाँडोभन्दा चाँडो ल्याउनुपर्नेमा जोड दिए भने सांसद रणकुमारी बलम्पाकी मगरले बालबालिकाको भविष्यसँग खेलबाड गर्न नहुने भन्दै शिक्षक आन्दोलन बन्द गरेर समाधानको बाटो खोज्न सुझाव दिइन्।
सांसद रणेन्द्र बराइलीले कर्मचारीले सर्वसाधारणलाई हैरानी दिने प्रवृत्ति नरोकिएको भन्दै आपत्ति जनाए।
सांसद रमा कोइराला पौडेलले विद्युत् प्राधिकरणका कर्मचारीको गैरजिम्मेवारीले सर्वसाधारणको जीवन जोखिममा परेको बताइन्।
संसद् बैठकको शून्य समयमा सांसद राजेन्द्रकुमार केसीले पूर्वाधार विकासका काम वातावरणमैत्री हुन नसक्दा खानेपानीका मुहान जोखिममा रहेको बताए भने सांसद राजेन्द्रकुमार राईले बजेट अभावले ‘एक स्थानीय तह एक अस्पताल’ कार्यक्रम कार्यान्वयन गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए।
सांसद रामहरि खतिवडाले गभर्नर नियुक्तिको प्रक्रिया तत्काल अगाडि बढाउन सरकारसँग माग गरे।
यसैगरी, सांसदहरु रामकुमार राई, रामकिशोर यादव, रुपा सोशी (चौधरी), रेखा शर्मा, लेखनाथ दाहाल, बिजुला रायमाझी र रोशन कार्कीले शिक्षकहरुसँग वार्ता गर्न ढिला गर्न नहुने बताए।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदन सहितको भन्सार विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि आजै प्रस्तुत हुनेछ।
कार्यसूचीअनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने छन्। उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि आज नै प्रस्तुत हुनेछ।