नेपालमा लिग फुटबल नै आयोजना हुन नसकिरहेको वर्तमान अवस्थामा निजी क्षेत्रकोतर्फबाट सञ्चालन गरिएको फ्रेन्चाइज फुटबल प्रतियोगिताले नेपाली फुटबल खेलाडीहरूलाई प्रतिभा प्रदर्शन गर्ने उचित अवसर दिएको छ। नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित नेपालकै सबैभन्दा पहिलो फेन्चाइज खेलकुद प्रतियोगिताको तेस्रो संस्करण करिब एक महिनासम्म सञ्चालन भएको थियो।
मुलुकको फुटबलको विकासका लागि रहेको आधिकारिक संस्था अखिल नेपाल फुटबल सङ्घले पूर्वघोषित नकआउट फुटबल प्रतियोगितासमेत गर्न नसकेको अवस्थामा मुलुकका विभिन्न सात जिल्लाको प्रतिनिधित्व रहेको एनएसएल फुटबल प्रतियोगिताको गत शनिबार सम्पन्न फाइनलमा ललितपुर सिटी फुटबल क्लबले पोखरा थण्डर्सलाई एक गोलकाविरूद्ध दुई गोल प्रहार गरी उपाधि रक्षा गर्न सफल भएको थियो। सो खेलको मध्यान्तरअघि समय समाप्त हुनु तीन मिनेटअघि ललितपुरका तर्फबाट नाइजेरियाका खेलाडी इमोह इजेकेले पहिलो गोल गरेका थिए। मध्यान्तरपछि ६३औँ मिनेटमा पोखराका सुदील राईले गोल फर्काएर खेललाई बराबरको स्थिति बनाए पनि ७४औँ मिनेटमा ललितपुरका लागि पापा इबोउ केबेले दोस्रो गोल गरेर अग्रता दिलाएका थिए।
गत वर्ष पनि विजेता रहेको ललितपुर टिमका कप्तान अनन्त तामाङले आफ्नो टिमलाई लगातार दोस्रोपटक उपाधि दिलाउन सफल भएका छन्। कप्तान तामाङ स्तरीय खेलाडीहरू रहेका पोखरा टिमले कडा प्रतिस्पर्धा गरेकाले फाइनल जित्न सजिलो नभएको बताउँछन्। यो प्रतियोगितामा इङ्गल्याण्डका प्रशिक्षक साइमन ग्रेसनको प्रशिक्षणमा ललितपुरले अपराजित टिमका रूपमा स्थापित हुन सफल भएको छ। पोखरा टिमका कप्तान आयुष घलानले सर्वोत्कृष्ट खेलाडी घोषित बन्दै रू दुई लाख ५० हजार पुरस्कार जित्न सफल भएका छन्। उनले आगामी वर्ष राम्रो नतिजा ल्याउन आफ्नो टिमले प्रयास गर्ने धारणा व्यक्त गरे। पोखरा टिमका गोलकिपर गिलामो प्रिसोले पाँच खेलमा एक गोल पनि नखाएर रू एक लाखको उत्कृष्ट गोलकिपर पुरस्कार जितेका थिए। प्रथम विजेता ललितपुर टिमका सन्तोष खत्रीलाई प्रतियोगिताको इमर्जिङ तथा मणिकुमार लामालाई इनरजेटिक खेलाडीका रूपमा जनही रू एक÷एक लाख पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगिता अवधिभर सर्वाधिक नौ गोल गर्न सफल धनगढी फुटबल क्लबका खेलाडी अहमद हिजानीलाई सर्वाधिक गोलकर्ताको पुरस्कार पाएका थिए।
प्रतियोगितामा छैठौँ भएको झापा टिमले एउटै रेड कार्ड नपाएर प्रतियोगिताको फेयर प्ले पुरस्कार पाएको थियो। यस्तै नेपाली महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी प्रिति राईलाई आयोजकले स्कुटर प्रदान गरेका प्रोत्साहित गरेका थिए।
पोखरा टिम प्रारम्भिक चरणमा दुई खेलमा पराजित भए पनि प्रशिक्षक सुमन श्रेष्ठले पछि क्रमशः खेलमा रणनीति परिवर्तन गर्दै टिमलाई फाइनलसम्म लैजान सफल भएका थिए। फाइनलमा पनि पोखराले प्रारम्भदेखि नै कडा चुनौती दिएको देखिएको थियो यसअघि लिग चरणमा पनि ललितपुरले पोखरा टिमलाई पराजित गरिसकेको थियो। ‘अब खेल्छ नेपाल’ नारा दिइएको एनएसएल प्रतियोगितामा नेपाली दर्शकहरू नेपाली तथा विभिन्न देशमा व्यावसायिक फुटबल खेलिरहेका विदेशी खेलाडीहरूको खेल हेर्ने अवसर पाएका थिए।
फाइनलको दिन दशरथ रङ्गशाला टन्नै भरिएको थियो। फुटबलप्रेमीहरूले टेलिभिजनको प्रत्यक्ष प्रसारणका साथै विभिन्न सामाजिक माध्यमबाटसमेत खेल हेरेका थिए। तर प्रतियोगिता अवधिभर निर्धारित समयमा निर्णय हुन नसकी अतिरिक्त समय थप गरिएको तथा टाइब्रेकरबाट खेलको निर्णय भएको क्षण भने दर्शकहरूले अनुभव गर्नु परेन।
यस प्रतियोगितामा नेपाली खेलाडीहरूले एकैटिममा रहेर विदेशी खेलाडीहरूसँग खेल्ने मौका पाएका थिए। विदेशी प्रशिक्षक तथा खेलाडीहरूबाट नेपाली खेलाडीहरूले थप खेल कौशल सिक्न पाए जसको दुरगामी महत्व रहेको छ। विदेशमा रहेका नेपालीहरू तथा विदेशी खेलाडीहरूलाई समेत यो प्रतियोगिता नेपालप्रति आकर्षण गर्ने एउटा माध्यम बनेको छ। व्यावसायिक खेलको जग नबनिसकेको नेपालमा खेलाडीहरूलाई अक्सन गर्दै लाखौं पारिश्रमिक दिएर खेलाउनु, विभिन्न देशबाट करोडौं खर्च गरेर खेलाडीहरू आमन्त्रण गर्नु त्यति सहज छैन। प्रतियोगिताको आयोजनाका साथै विभिन्न क्लबकालागि निजी क्षेत्रका तर्फबाट गरिएको लगानीको प्रतिफल उठ्न अझै केही वर्ष धैर्य गर्नुपर्ने स्थिति रहेको देखिन्छ। तर यस्ता प्रतियोगिताको निरन्तरताले खेलकुद क्षेत्रलाई समृद्ध बनाउँदै लैजान सकिने छिमेकी मुलुकहरूमा भइरहेको खेल गतिविधिबाटै प्रष्ट हुन्छ।
नेपालको राष्ट्रिय फुटबल टिममा नरहेका खेलाडीहरूले अब एनएसएल फुटबल प्रतियोगिताका माध्यमबाट निकट भविश्यमा देशको प्रतिनिधित्व गर्ने अवसर पाउने निश्चित छ। नेपाली राष्ट्रिय फुटबल टिमका वर्तमान मुख्य प्रशिक्षक म्याट रस खेल हेर्न रङ्गशालामा उपस्थिति हुने गरेका थिए। नेपाली खेलाडीले यस प्रतियोगितामा गरेको खेल प्रदर्शनबाट उनीहरूले आगामी दिनमा विदेशका अन्य व्यावसायिक क्लबमा समेत खेल्न पाउने सम्भावनाको ढोका खुलेको छ।
करोडौँको पुरस्कार
एनएसएल फुटबलमा पुरस्कार मात्र करोडौँ रूपैयाँ वितरण गरिएको थियो। प्रथम भएको टिमले रू ८० लाख पुरस्कार प्राप्त गरेको थियो भने दोस्रो टिमलाई र रू ३० लाख प्रदान गरिएको थियो। अघिल्लो संस्करणमाभन्दा यसपटक प्रथम र दोस्रो भएको टिमको पुरस्कारमा रू १० लाख वृद्धि गरिएको थियो। अघिल्लो वर्ष प्रथम भएको टिमले रू ७० लाख र दोस्रो टिमले रू २० लाख पुरस्कार पाएको थियो। यसैगरी विभिन्न विधामा उत्कृष्ट भएका खेलाडीहरूलाई प्रदान गरिएको लाखौं नगद पुरस्कारले पनि प्रतियोगिताको बजेट बढ्न गएको थियो।
पहिलोपटक ‘रेड कार्ड’ खारेज
प्रतियोगिताअन्तर्गत भएका केही खेलमा विवाद पनि भएका थिए। फाइनलमा समेत प्रतिस्पर्धी टिमबीचको बिबादले बिग्रन लागिसकेको स्थितिलाई भारतीय रेफ्री रामदशनले सम्हालेका थिए। धनगढी र ललितपुरबीचको खेल बढी विवादास्पद मानिएको थियो। खेलका क्रममा ललितपुर एफसीका मिडफिल्डर मणिकुमार लामालाई रेफ्रीले ‘रेड कार्ड’ देखाएर मैदानबाट निष्काशित गरेका थिए। तर अपिल गरिएपछि भएको छानबिनमा मणि निर्दोष देखिएपछि उनलाई दिइएको ‘रेड कार्ड’ खारेज गरी फाइनलमा खेल्न अनुमति दिइएको थियो।
नेपालको फुटबल इतिहासमा यसरी रेफ्रीले देखाइसकेको ‘रेड कार्ड’ खारेज गरिएको यो पहिलो हो। प्रतियोगिताकै दौरानमा म्याच डाइरेक्टर र रेफ्रीलाई समेत हातपातको प्रयाससमेत हुनु सामान्य घटना होइन। अनुशासनकै कारण पोखरा टिमलाई आयोजक समितिका तर्फबाट रू ५० हजार जरिवाना समेत गरिएको थियो। श्रम स्वीकृति नभएका खेलाडीलाई खेलाइएकामा बिरोध गरिदा खेल १८ मिनेट ढिलो सुरू भएको जस्ता घटना पनि प्रतियोगितामा भएका थिए।
विश्व प्रसिद्ध फुटबलरको उपस्थिति
एनएसएल फुटबलका सिलसिलामा विश्वमै चर्चित मानिएका ब्राजिलका फुटबलका हस्ती रोबर्टो कार्लोसको नेपाल आगमनले पनि नेपाली खेलाडी तथा फुटबल प्रेमीहरूको उत्साह थपेको थियो। उनको नेपाल भ्रमण दुई दिनको मात्र भए तापनि नेपालको फुटबल इतिहासमा महत्वपूर्ण मानिएको छ। उनको भ्रमणका माध्यमबाट नेपालको विश्वमा प्रचार भएको छ। उनले ढाका टोपी लगाएर खिचेको फोटोलाई विभिन्न सञ्चार माध्यमले प्रकाशित गरेका थिए। दशरथ रङ्गशालामा रोबर्टो कार्लोसले प्रहार गरेको फ्रि किकले सबैलाई रोमान्चित गरिदिएको थियो। अझ खुसीको कुरो ललितपुर एफसीका गोलकिपर सुमित श्रेष्ठले ब्राजिलका विश्वकप विजेता फुटबल टिमका हस्ती कार्लोसले प्रहार गरेको पहिलो फ्रि किक नै गोल हुनबाट जोगाएर प्रशंसा बटुलेका थिए। फ्रि किक प्रहारका क्रममा कार्लोसले दुई गोल गरेका थिए भने उनको केही प्रहार बाहिर गएको थियो।
ब्राजिलका रोबर्टो कार्लोसले विश्वकै उत्कृष्ट लेफ्ट ब्याकको परिचय बनाउन सफल भएका थिए। सन् १९९८ को विश्वकपको उप बिजेता तथा सन् २००२ को विश्वकप विजेता टिमका सशक्त खेलाडी रहेका उनले ब्राजिलको राष्ट्रिय टिमका तर्फबाट १२५ भन्दाबढी खेल खेलेका थिए। रियल म्याड्रिड टिमलाई विभिन्न उपाधि दिलाउन उनको प्रमुख योगदान रहेको थियो। तर यस्तो विश्व विख्यात खेलाडीको दशरथ रङ्गशालामा उपस्थिति हुँदा पनि रङ्गशालामा दर्शकहरू उल्लेख्य उपस्थिति नहुनुलाई दुःखद् मान्न सकिन्छ।
विश्वमा कोभिडको प्रकोप भई खेल गतिविधि शून्य भएको अवस्थामा पनि एनएसएल फुटबल प्रतियोगिता आयोजना गरेर आयोजकहरूले प्रशंसनीय कार्य गरेका थिए। नेपालमा फुटबलबाट शुरू भएको फ्रेन्चाइज प्रतियोगिताहरू क्रिकेट, भलिबल, कबड्डीलगायत खेलहरूमा विस्तार भैसकेको छ। नेपालमा खेलकुद गतिविधि विस्तार गर्न यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका हुने गर्दछ। तर हालसम्मको स्थितिलाई मूल्याङ्कन गर्दा खेलकुदमा लगानी गर्ने निजी क्षेत्रले अझै केही वर्ष धैर्य गर्नु पर्ने स्थिति देखिएको छ।
नेपालमा खेलकुदको बजार सीमित भएकाले तत्कालका लागि प्रतिफल आइहाल्ने स्थिति देखिँदैन। यस्ता प्रतियोगिता अझै धेरै आवश्यक भएको स्वयं खेलाडीहरूले बताएका छन्। नेपालमा हाल ‘ए’ डिभिजनका फुटबल खेलाडीहरूले समेत आवश्यक प्रतियोगिता खेल्न नपाइरहेको स्थितिमा खेलाडीहरूको मनोबल बढाएर पलायन हुनसक्ने स्थिति रोक्न पनि प्रतियोगिताहरू निरन्तर आयोजना भइरहनु पर्दछ। यसपाली एनएल फुटबलमा खेलाडीहरूले एक महिनासम्म हासिल गरेको अनुभवको सकारात्मक प्रभाव छिट्टै देखिनेछ। आगामी जेठमा हङ्गकङ्गमा हुने मैत्रीपूर्ण फुटबल खेलमा एनएसएल फुटबलमा मैदानमा उत्रेका केही खेलाडीहरूको पनि सहभागिता रहनेछ।
सरकारको प्रयासमा मात्र मुलुकको खेलकुद विकास असम्भव भएकाले उत्साहका साथ प्रतियोगिता आयोजनाका साथै टिम सञ्चालनमा सक्रिय भइरहेको निजी क्षेत्रलाई यथाशक्य प्रोत्साहित गर्न राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल सङ्घजस्ता संस्थाले उचित योजना नै बनाउनु जरूरी देखिएको छ। आयोजकले पनि एनएसएल फुटबलका तीन वटा प्रतियोगिता राजधानीमै केन्द्रित गरिसकेपछि अब आगामी वर्षका प्रतियोगिता बाहिरी जिल्लामा पनि विस्तार गर्नसके मोफसलमा छरिएर रहेका प्रतिभाशाली खेलाडीहरूका साथै फुटबल प्रेमीहरू लाभान्वित हुन जाने कुरामा विश्वस्त हुन सकिन्छ। -रासस
(लेखक खेलकुद पत्रकार हुन्)