शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • विसु पर्व नजिकिएसँगै सुदूरपश्चिममा बढ्यो चहलपहल, रातोमाटो र कमेरोले रंगिन थाले घर

विसु पर्व नजिकिएसँगै सुदूरपश्चिममा बढ्यो चहलपहल, रातोमाटो र कमेरोले रंगिन थाले घर

 |  शनिबार, चैत २३, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, चैत २३, २०८१

डडेल्धुरा- विसु पर्व नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ। घर लिपपोतदेखि रोजगारी, शिक्षालगायतका प्रयोजनका लागि बाहिर रहेकाहरु घर फर्केने क्रम बढेसँगै चहलपहल बढेको हो।

विसु पर्व सुदूरपश्चिमेलीले धुमधामसँग मनाउँछन्। विसु पर्व आउनुपूर्व नै सुदूर पहाडका घर रातो माटो र कमेरो माटोले रंगिन थालेका छन्।

नयाँ वर्ष आउनुभन्दा पहिले नै घर लिपपोत गरेमा वर्षभरी नै सुख, शान्ति र समृद्धि कायम हुन्छ भन्ने जनविश्वास रहेको पण्डित करुणाकर अवस्थी बताउँछन्।चैत सुरु भएदेखि नै घर लिप्ने र पोत्ने काम सुरु हुन्छ भने यो काम चैत महिनामा नै सक्नुपर्छ।

पाटन नगरपालिका-१० का सीता भट्टले लगभग तीन घण्टा हिँडेर कमेरो र रातोमाटो ल्याइ घर लिपेको बताइन्। पछिल्लो समयमा घर निर्माणमा सिमेन्टको प्रयोग बढ्न थालेपछि कमेरो र रातोमाटोको प्रयोग पनि घट्दै गएको उनको भनाइ छ।

चैत सुरु भएपछि घर लिपपोत गर्नका लागि धेरै टाढासम्म कमेरो र रातोमाटो लिन जाने गरेको पाटन-८ का लक्ष्मी भट्टले बताइन्।

'बरु बडादसैँका बेलामा खासै लिपपोत गर्दैनौँ, तर चैतमा त जसरी नी लिप्नुपर्छ। कमेरोले घरको माथिल्लो भाग र रातोमाटोले घरको तल्लो भागमा लिप्ने पोत्ने चलन छ', भट्टले भनिन्, 'अब यो चलन कम होला जस्तो छ, धेरैजसोले पुराना घरमा लगाएको माटो उप्काएर सिमेन्ट लगाएका छन्।' 

नयाँ वर्ष तथा विसु पर्वमा भारत गएकाहरु घर फर्किन चलन छ। उनीहरुको आगमनले गाउँमा चहलपहल पनि बढेको उनले बताए। विसु पर्वको अवसरमा बिहे गरेर गएका छोरी चेलीसमेत माइत जाने चलन पनि छ। विसु तिहारकै दिन कूलदेवताको पूजा गरी ‘गतानी डुब्का’ (स्थानीय खानाको परिकार) खाने चलन छ।

विसु पर्वका अवसरमा सुदूरपश्चिमका डोटी, दार्चुला, अछाम, डडेलधुरा, बझाङ, बाजुरा, बैतडी, कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका पहाडी समुदायले सिस्नु लगाउने प्रचलन पनि छ। रासस

प्रकाशित: Apr 05, 2025| 18:01 शनिबार, चैत २३, २०८१
प्रतिक्रिया दिनुहोस्