बुधबार, पुस ९, २०८२

मनाङमा जलविद्युत्‌को कामले स्थानीय र पर्यटकलाई सास्ती

 |  शुक्रबार, चैत २२, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २२, २०८१

मनाङ- मनाङको नासोँ गाउँपालिका–९ दानाक्युमा एक सय ३५ मेगावाट क्षमताको निर्माणाधीन मनाङ-मर्स्याङ्दी जलविद्युत् आयोजनाका कारण स्थानीय र पर्यटकले सास्ती भोग्नुपरेको छ। जलविद्युत्को टनेल, सुरुङ निर्माण तीव्र रूपमा सञ्चालन भइरहेको अवस्थामा ‘बमब्लाष्टिङ’ र ठूला सवारीसाधनको प्रयोगले स्थानीय तथा पर्यटकलाई समस्या हुँदै आएको हो।

National life

मनाङ पर्यटकीय क्षेत्र भएकाले यो समय विश्वका पर्यटकको आगमन हुने गर्दछ। बिनाजानकारी आयोजना निर्माणस्थलमा बमब्लाष्टिङ गरिँदा पैदलयात्रामार्फत यहाँ आउने पर्यटक तर्सने गरेका छन्। आयोजना निर्माण क्षेत्रमा पर्ने स्थान भएर आउने पर्यटकले ठूला सवारीसाधनबाट निस्कने धूलोले सास्ती हुने गुनासो गरेका छन्। यसले पर्यटकीय सिजन सुरु भएको अवस्थामा पर्यटक आगमनमा असर गर्ने व्यवसायीको भनाइ छ।

बस्ती व्यवस्थापन बिना आयोजनाले बमब्लाष्टिङको काम गर्दा स्थानीयको घर चर्किने र तर्सिने गरेको चामे गाउँपालिका–३ का वडाध्यक्ष विनोद लामाले गुनासो गरे। ‘आयोजनाले बस्तीको व्यवस्थापन नगरी कामलाई तीव्रता दिएपछि स्थानीयको गुनासो बढी आइरहेको छ। कतिपयले बमब्लाष्टिङ गर्दा घर चर्किएको जानकारी दिनुभएको छ’, उनले भने।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले स्थानीयको गुनासो आयोजनाले सम्बोधन गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘स्थानीयको गुनासो आयोजनाले सम्बोधन नगरी अघि बढ्न आग्रह गर्दछौँ। स्थानीय र पर्यटकको सुरक्षालाई मध्यनजरमा राखी सुनुवाइका लागि दबाब दिइरहेका छौँ।’ यो आयोजना पनि मनाङवासीको भएकाले बस्तीलाई सुरक्षित बनाउनेतर्फ योजनाबद्ध काम गर्न उहाँले आयोजना कार्यालयलाई आग्रह गरे।

बुटवल पावर कम्पनीका सहायक निर्देशक एवं मनाङ-मर्स्याङ्दी जलविद्युत् आयोजनाका उपमहाप्रबन्धक प्रतिकमान सिंहप्रधानले यहाँको मौसमअनुसार यो समय आयोजनाको काम गर्ने उपयुक्त भएकाले तीव्रता दिइएको बताए। उनले भने, ‘काम गर्ने समय उपयुक्त र पर्यटक आगमनको पनि यही समय उपयुक्त भएकाले केही समस्या भएको हो। समस्या समाधान गर्न समन्वय तथा गुनासो सम्बोधन गर्दै अगाडि बढ्ने छौँ।’

Laxmi sunrise bank
kumari

ठूलो आयोजना भएकाले यहाँ उपयोग हुने स्रोतसाधन पनि ठूला हुने भन्दै शान्त रहेका स्थानमा केही समस्या आएको उपमहाप्रबन्धक प्रधानले स्वीकारे। उनले भने, ‘आगामी दिनमा समन्वयमार्फत स्थानीय र पर्यटकलाई सहज बनाउने गरी काम गर्नेछौँ।’

स्वच्छ, शान्त भनेर चिनिएको मनाङमा पर्यटक आवागमनका समयमा बमब्लाष्टिङ, धुलोले समस्या निम्त्याउन थालेपछि पर्यटकको सङ्ख्यामा कमी आउने जोखिम बढेको स्थानीय व्यवसायी बताउँछन्। जिल्लाको मुख्य आयका रूपमा रहेको पर्यटन व्यवसायलाई सहज बनाउने गरी निर्माण गर्नुपर्ने व्यवसायीको भनाइ छ।

‘आयोजनाको बाध (ड्याम), मेसिनरी पर्खाल, सडक विस्तारको काम भइरहेको छ, यहाँको मौसमअनुसार सम्झौतामा तोकिएको समयमा सम्पन्न गर्ने उद्देश्यले कामलाई तीव्रता दिइरहेका छौँ’, प्रधानले भने। आयोजनालाई निर्धारित समयमा सम्पन्न गरी मनाङलाई उज्यालो बनाउन सहयोग पुर्‍याउने लक्ष्य आयोजनाको रहेको उनले बताए।

चामे–३ कोतोमा बाध (ड्याम) निर्माण भइरहेको उपमहाप्रबन्धक प्रधानले जानकारी दिए। उनका अनुसार सुरुङ खन्ने, पावर हाउस, सडक निर्माणलगायत काम भइरहेका छन्। नासोँ गाउँपालिका–८ र ९ मा पावर हाउस र सुरुङ खन्ने काम भइरहेको आयोजनाले जनाएको छ। चामे गाउँपालिका–१, २ र ३ तथा नासोँ गाउँपालिका–९ र ८ नम्बर वडामा पर्नेगरी निर्माणाधीन आयोजना सम्पन्न हुनेछ। रासस

प्रकाशित: Apr 04, 2025| 07:51 शुक्रबार, चैत २२, २०८१
प्रतिक्रिया दिनुहोस्