बुधबार, पुस ९, २०८२

बसाइँसराइ रोक्न ग्रामीण क्षेत्रमा विकासका योजना

 |  बिहीबार, चैत २१, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २१, २०८१

म्याग्दी- सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ मा करिब १७ करोड रूपैयाँको लागतमा यातायात पूर्वाधार निर्माणसम्बन्धी १६ वटा योजना सञ्चालनमा ल्याएको छ।

National life

मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना पोखरामार्फत दुई झोलुंगे पुल, नौवटा सडक र सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङमार्फत तीनवटा सडक योजना विभिन्न निर्माण कम्पनीसँग १५ करोड १७ लाख २२ हजार ६ सय ४६ रूपैयाँमा ठेक्का सम्झौता गरि कार्यान्वयन गरिएको हो।

चालु आर्थिक वर्षमा एक करोड ६० लाख रूपैयाँ बजेट विनियोजन भएको दुईवटा योजना ठेक्का प्रक्रियामा छन् भने एक करोड १० लाख रूपैयाँ बजेटका दुईवटा योजनालाई बहुवर्षीय ठेक्का आह्वान गर्न मन्त्रालयमा स्रोत सहमतिका लागि प्रस्ताव गरिएको छ।

झोलुंगे पुल बाहेकका आयोजनाहरु चालु आर्थिक वर्षभित्र नै सम्पन्न हुने प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले बताए। योजनाहरुमार्फत ग्रामीण क्षेत्रमा सहज यातायात सेवाको पहुँच विस्तार भइ बसाइँसराइ घटाउने अपेक्षा गरिएको उनले बताए।

सघन सहरी तथा भवन निर्माण योजनामार्फत चार करोड ७५ लाख रूपैयाँ बजेट विनियोजन भएको बेनी नगरपालिकामा एकिकृत शहरी पूर्वाधार विकास गर्ने कार्यक्रमअन्तर्गत तीन करोड १९ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको बेनी नगरपालिका-८ कालीपुलदेखि वडा नम्बर ७ मा रहेको दरवाङ बसपार्क जोड्ने बेनी चक्रपथ सडक ढलान गर्ने योजना सुरु भएको छ।

Laxmi sunrise bank
kumari

उक्त कार्यालयमार्फत ६५ लाख ३८ हजार ५३ रूपैयाँको लागतमा कुहुँ-टोड्के-झि र एक करोड तीन लाख २८ हजार ६२ रूपैयाँमा मौवाफाँट-दग्नाम-दरमिजा-चिमखोला हुँदै कुइनेमंगले सडक स्तरोन्नति योजना कार्यान्वयन भएको छ। योजनाका इञ्जिनियर बिरबल सुनारले ५० शय्या क्षमताको बेनी अस्पतालको भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए।

स्थानीय पूर्वाधार विकास आयोजना मार्फत चार करोड ७० लाख ३६ हजार दुईसय ५० रूपैयाँको लागतमा धवलागिरी गाउँपालिकाको मराङखोला माथि तीनसय ६५ र मुनाको दरखोला माथी तीनसय ५५ मिटर लामो झोलुंगे पुल निर्माणाधिन छन्।

आयोजनाका इञ्जिनियर मनिष अधिकारीले धवलागिरी गाउँपालिका-४ बगर तातोपानी कुण्ड जाने बाटोमा म्याग्दी नदी माथि दुईसय ५० मिटर लामो झोलुंगे पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ६० लाख रूपैयाँ बजेट विनियोजन भएको योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियामा रहेको जानकारी दिए।

उनका अनुसार सडक पूर्वाधार विकास कार्यक्रममार्फत पाखापानी-कुइनेमंगले-मल्कवाङ, गलेश्वर-दशमुरे-मौवाफाँट-दग्नाम-दरमिजा-कुइनेमंगले-घ्यासीखर्क सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता गरेका निर्माण कम्पनीहरुले ढलान, पक्की नाला र टेवा पर्खाल निर्माण थालेका छन्।

वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रममार्फत मौवाफाँट-दग्नाम-दरमिजा-चिमखोला हुदै कुइनेमंगले, कुहुँ-टोड्के हुदै झिँ, अन्नपूर्ण गाउँपालिकाको दोसल्ले-काफलडाडा-नागी, मालिकाको छ्यारछ्यारे हुँदै मंगलाको टिकावाङ र बेनी नगरपालिकाको अर्थुङ्गे देउराली-भराले-पुत्लेढुंगा सडक आयोजना कार्यान्वयनमा रहेका छन्। 

एक करोड बजेट विनियोजन भएको धवलागिरी गाउँपालिकाको लुलाङ-गुर्जा सडक स्तरोन्नति योजना ठेक्का प्रक्रियामा छ।

५० लाख रूपैयाँ बजेट विनियोजन भएको बेनीको मंगलाघाट र बगरफाँट जोड्ने म्याग्दी नदीमा मोटरेबल पुल निर्माणसम्बन्धी योजनाको बहुवर्षीय ठेक्का आह्वानका लागि गरिएको प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गरेको छैन।

प्रकाशित: Apr 03, 2025| 19:01 बिहीबार, चैत २१, २०८१
प्रतिक्रिया दिनुहोस्