बुधबार, चैत २०, २०८१

राजावादीको प्रदर्शनबारे संसद्‍मा आरोप-प्रत्यारोप

 |  सोमबार, चैत १८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, चैत १८, २०८१

vianetvianet

काठमाडौं- राजावादीको हिंसात्मक प्रदर्शनपछि पहिलोपल्ट बसेको संसद् बैठकमा सांसदहरुबीच आरोप-प्रत्यारोप चलेको छ। 

triton college

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गरेका प्रधानमन्त्री केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहमाथि खनिए। ओलीले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको विषयमा जवाफ दिने कार्यतालिका थियो। यही विषयलाई लिएर विपक्षीले संसद् चल्न दिएका थिएनन्। यहीकारण सरकारले ल्याएका अध्यादेश निष्क्रिय हुने जोखिम बढेको थियो।

प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलहरुले गरिरहेको विरोधका कारण संसद्का महत्वपूर्ण काम अवरुद्ध भएको बताए। संसद्मा महत्वपूर्ण कानुनहरु पारित गर्नैपर्ने अवस्थामा कुनै एक कर्मचारीको विषयलाई मात्र लिएर संसद् अवरुद्ध गर्न नहुने उनले तर्क गरे। प्रधानमन्त्री ओलीले कर्मचारीलाई हटाउने वा राख्ने विषय उसको गुण र दोषका आधारमा निर्धारण हुने र त्यसको अधिकार विभागीय मन्त्रीलाई हुने स्पष्ट पारे।

चैत १५ को हिंसात्मक प्रदर्शनका विषयमा प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उन्मुक्ति नदिइने बताए। उनले तीनकुनेमा गत शुक्रबार भएको राजावादी समूहको आन्दोलन हिंस्रक हुनुमा पूर्वराजा शाहको समेत संलग्नता रहेको उल्लेख गरे।

उनले जुनसुकै आवरणमा भए पनि हिंस्रक आन्दोलन गर्ने जो-कोहीलाई कानुनी दायरामा ल्याइने दाबी गरे। प्रधानमन्त्री ओलीले पूर्वराजा शाहले भिडियो वक्तव्य जारी गरेर भीड उक्साएको आरोप लगाए। उनले भने, 'व्यवस्था मासेर फेरि राजा बन्छु भन्नेले श्रृंखलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नु पर्दैन ?'

पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते सार्वजनिक भिडियो वक्तव्य जारी गर्दै भीड उक्साउने काम गरेको ओलीको भनाइ छ। प्रधानमन्त्री ओलीले पूर्वराजाविरुद्ध अभिव्यक्ति दिँदा राप्रपा सांसदहरूले सभामा उठेर विरोध जनाएका थिए।

नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले अहिलेको व्यवस्थाको विकल्प राजतन्त्र हुन नसक्ने बताइन्। ‘अहिले संघीय लोकतानित्रक गणतन्त्र व्यवस्थाको अभ्यासमा हामी छौं। यो व्यवस्थाको विकल्प राजतन्त्र होइन। त्यो पश्चगमन हो। पश्चगमनका पक्षमा हामी कहिले पनि छैनौँ। हुने छैनौं’, उनले भनिन्, ‘त्यसकारण सम्माननीय सभामुखमार्फत् म आग्रह गर्न चाहन्छु–हामी संघीय लोकतान्त्रिक गणतन्त्रामा छौं भन्दैमा के हामीलाई सबै गर्ने छुट छ ? छैन। हामीले संघीय गणतन्त्र, लोकतन्त्रमा हामीले सुशासन कायम सक्नुपर्छ। हामीले जनतालाई सेवा दिन सक्नुपर्छ। बदलिएको परिवेश अनुसार जनताको अवस्था बदल्न सक्नुपर्छ।’

त्यसका लागि एकमात्र शर्त सुशासन रहेको उनले बताइन्। ‘हामीले त्यो गर्न सकेका छैनौं। त्यसकारण हामीले सुशासनको पक्षमा सरकारलाई निरन्तर खबरदारी गर्दै आएका छौं’, उनले भनिन्, ‘अहिले जसरी तीनकुनेको घटना भयो। तीनकुने घटनामा सरकारको एउटा राम्रो संस्थामा आगजनी भएको छ। व्यक्तिका निजी घर जलाइएका छन्। दुई–दुई जना व्यक्तिको हत्या भएको छ। म दुवै होनहार युवालाई सहिद घोषणाको माग गर्दछु। र, घाइतेहरूको निःशुल्क उपचारको माग गर्न चाहन्छु।’

उनले यो दुखद् घटनाका पछाडि कसको हात छ भन्ने कुरा घामजत्तिकै छर्लङ्‍ग रहेको बताइन्। ‘प्रत्यक्ष कमान्ड कथित जनकमान्डर दुर्गा प्रसाईंले गरेका छन्। तर, हामी सबैले के बुझेका छौं भने यसको पर्दा पछाडि पूर्वराजा ज्ञानेन्द्र शाह छन्’, उनले थपिन्, ‘उनको उक्साहटमा, उनले पटक पटक गरेको आह्वानमा, अपीलमा युवाहरू समाहित भएका छन्। त्यसकारण म सरकारसँग सभामुखमार्फत् के माग गर्न चाहन्छु भने राजतन्त्रात्मक वयवस्था यो होइन, त्यसकारण अहिले संविधानभन्दा माथि कोही छैन। कानुनभन्दा माथि कोही छैन।’

शर्माले सबैलाई कारबाही हुनुपर्ने बताइन्। ‘चाहे पूर्वराजा ज्ञानेन्द्र शाह हुन् वा चाहे अहिले सामाजिक सञ्जालमा सक्रिय, तर लुकेर बसेका दुर्गा प्रसाईं हुन्’, उनले भनिन्, ‘तिनीहरू सबैलाई तुरुन्त कानुनी प्रक्रियामा सरकारले ल्याओस्। कानुनबोजिम कारबाही गरोस् भन्ने कुरा हामी हाम्रो दलको तर्फबाट माग गर्न चाहन्छौँ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले तीनकुने घटनामा न्यायिक छानबिन आयोग गठन गर्न माग गरे।

राप्रपाका अध्यक्षसमेत रहेका लिङ्देनले भने, ‘सबिन महर्जनलाई हिँडिराखेको बेला गोली किन हानियो, छतमाथि बसेर मञ्चमा किन म्याद सकिएको अश्रुग्यास र माथिबाट गोली हानियो त्यसको जबाफ चाहिन्छ।’

चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाको मागसहित तीनकुनेमा प्रदर्शन भएको थियो। उक्त प्रदर्शनपछि तीनकुने-कोटेश्वर-जडिबुटी क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट भएको थियो। तीनकुनेमा दुई जनाको मृत्यु भएको थियो।

यस घटनामा छानबिन गर्न न्यायिक आयोग बनाउनुपर्ने माग लिङ्देनले राखेका हुन्। तीनकुनेको प्रदर्शनलाई राप्रपाले पनि समर्थन गरेको थियो। ‘न्यायिक छानबिन आयोग गठन होस् र दोषीहरूलाई कारबाही होस्,’ लिङ्देनले भने। साथै अध्यक्ष लिङ्देनले जनताले चाहे राजसंस्था आउन सक्ने पनि बताए।

रास्वपा सांसद मनिष झाले तीनकुने घटनामा गृह प्रशासन पूर्ण रूपमा चुकेको बताए। घटनाका बारेमा छानबिन गर्न उच्चस्तरीय छानबिन समितिको माग पनि उनले गरे।    

‘प्रधानमन्त्रीको गृह प्रशासनले ४ हजार किन नियन्त्रण गर्न सकेन ?,’ उनले प्रश्न गरे, ‘सबिनलाई पछाडिबाट गोली हानिएको छ। उच्चस्तरीय छानबिन आयोगको माग गर्दछौं।’ तीनकुने घटनामा एक पक्षलाई दोष देखाएर सरकार पन्छिन लागेको उनले बताए।

नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासबाट केही व्यक्तिलाई माला लगाएर जनताको घर जलाउन पठाएको आरोप लगाए। सांसद भट्टराईले शाहले राज्यसँग गरेको सम्झौता भंग गरेको भन्दै उनलाई दिएको सेवासुविधा समेत कटौती गर्नेबारे सोच्न आवश्यक रहेको जिकिर गरे।

‘उहाँले सम्झौता भंग गर्नुभयो। उहाँले लफंगाहरूलाई जनकमाण्डर बनायो। तीनकुनेमा ताण्डव नृत्य नचाउन पठाउनु भयो,’ उनले भने, ‘निर्मल निवासबाट लफंगाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाउनुभयो। तपाईंको सम्झौता भंग भयो। त्यसैले तपाईंलाई दिइएको सेवासुविधा के हुन्छ ? सरकारले जवाफ दिनुपर्‍यो।’

पूर्वराजाले शाहले राज्यसँग गरेको सम्झौता भंग गरेकोले उहाँलाई दिइएको सेवा सुविधा कायम रहन्छ कि रहँदैन ? भन्दै प्रश्न गर्दै सरकारसँग भट्टराईले जवाफ माग गरे। ‘पूर्वराजा शाहलाई सरकार पूर्वराष्ट्राध्यक्षको हिसाबले यो राज्यले सेवा सम्मान दिन्छ भनेर दिएको हो। आज त्यो सम्झौता पनि ज्ञानेन्द्र शाहले भंग गर्नुभयो,’ भट्टराईले भने, ‘सम्झौता भंग भएपछि उहाँलाई दिएको सेवा सुविधा कायम हुन्छ कि हुदैन ? म सरकारलाई सोध्न चाहन्छु।’

सांसद राणा पक्राउ परेको सदनमा जानकारी
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य डा. धवल शमशेर राणा पक्राउ परेको जानकारी प्रतिनिधिसभा बैठकमा गराएका छन्। आजको बैठकमा सभामुख घिमिरेले प्रहरीले संघीय संसद् सचिवालयमा पठाएको पत्र सदनमा पढेर सुनाएका हुन्।

ललितपुर महानगरपालिका–१५ बाट शुक्रबार राति ९ बजे पक्राउ गरिएको जानकारी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको जानकारी संघीय संसद् सचिवालयलाई शनिबार गराएको थियो।

 

प्रकाशित: Mar 31, 2025| 14:07 सोमबार, चैत १८, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्