काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले दलहरूले व्यवहार नसच्याए अहिलेको गणतन्त्र जाने बताएका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा लिङ्देनले यस्तो बताएका हुन्।
उनले भने, ‘आठ वर्ष अगाडि राष्ट्रिय ऋण ६ खर्बमा थियो। आज २७ खर्ब छ। हाम्रो जीवनमै बेसी कर तिरेका छौं । उडाउन नमिल्ने प्लेन, बसाउन नमिल्ने एयरपोर्ट किन ल्याइयो र बनाइयो ? जनताले राम्ररी हेरेको छ । नेपाली युवालाई भुटानी शरणार्थी बनाएर बेचेको पनि जनताले हेरेको छ। व्यवहार नसच्याएपछि जनताले दबाब दिइरहन्छन् । जनताले उल्टाउँछन् । जनताले चाह्यो भने यो गणतन्त्र जान्छ ।’
चैत १५ गते आन्दोलनकारीले मात्रै नभएर सरकारले पनि ज्यादती गरेको उनले आरोप लगाए। ‘चैत १५ गते आन्दोलनकारीले मात्रै ज्यादती गरेको हो ? कांग्रेस, एमाले भजनकीर्तन गरी आएका हुन् ? मान्छे नमारी आएका हुन् ?’, लिङ्देनले भने, ‘सरकार र विश्व समुदाय, मानव अधिकारवादी सबैको ध्यानाकर्षण गराउँछु । चैत १५ गतेको घटनाको छानबिन गर्न न्यायिक समिति बनाइयोस् ।’