शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • वर्षमा एक बालीमात्र उत्पादन हुँदै आएकामा सिँचाइ सुविधापछि तीन बाली खेती

वर्षमा एक बालीमात्र उत्पादन हुँदै आएकामा सिँचाइ सुविधापछि तीन बाली खेती

 |  सोमबार, चैत ११, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ११, २०८१

फिक्कल- इलाम नगरपालिका-१० भिरगाउँमा सिँचाइ योजना पुनःर्निर्माण भएपछि किसानलाई खाद्यबालीसँगै तरकारीखेती गर्न सहज भएको छ। वर्षमा एक बालीमात्र उत्पादन हुँदै आएको सो क्षेत्रमा सिँचाइ आयोजना पुनर्निर्माणपछि किसानले तीन बालीसम्म खेती गर्न थालेका छन्।

साना सिँचाइ कार्यक्रमअन्तर्गत ४१ लाख ९४ हजार रूपैयाँको लागतमा मालबाँसे भिरगाउँ हुँदै तेस्रोगाउँ जोड्ने सिँचाइ आयोजना पुनर्निर्माणपछि किसानले राहत पाएका हुन्।

स्थानीय अँधेरीखोलाबाट आठ सय ९५ मिटर लामो पक्की कुलो निर्माण भएको वडा नं १० का वडाध्यक्ष दिलीप प्रधानले जानकारी दिए। आयोजनाबाट ३९ घरपरिवारको १५ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ।

आयोजना पुनर्निर्माण सम्पन्न भइ पानी आउन थालेपछि भिरगाउँका किसान खुसी भएका हुन्। पानी अभावमा खेत बाँझै राखेर बस्न विवश भिरगाउँका किसानलाई सिँचाइ आयोजनाले राहत मिलेको उपभोक्ता समितिका अध्यक्ष किशोर रम्तेलले बताए।

स्वीडेन सरकारको १२ लाख ५८ हजार रूपैयाँ, संघीय सरकार, प्रदेश सरकार र इलाम नगरपालिकाको आठ लाख ३८ हजार रूपैयाँका दरले तथा स्थानीय उपभोक्ताको चार लाख १९ हजार रूपैयाँको साझेदारीमा उक्त आयोजना पुनर्निर्माण गरिएको हो।

आयोजना पुनर्निर्माणपछि धान, मकैजस्ता मौसमी बालीको मात्र खेती हुँदै आएको सो क्षेत्रमा अहिले मौसमी र बेमौसमी तरकारीसँगै नगदेबाली पनि उत्पादन हुन थालेको उपभोक्ता समिति सचिव मनकुमारी समालले बताइन्। 'पहिले मौसमी धान र मकैखेती मात्र गरिन्थ्यो, अहिले सिँचाइ सुविधा आएपछि बेमौसमी तरकारीको पनि व्यावसायिक खेती हुन थालेको छ', सचिव समालले भनिन्, 'यसबाट किसानको आर्थिक अवस्था सुधार आउने विश्वास छ।' 

स्थानीय उपभोक्ता भीमकुमारी मगर आयोजना पुनर्निर्माणसँगै आकासे पानीको भर पर्नुपर्ने बाध्यताबाट मुक्त भएको बताउँछिन्। अहिले भिरगाउँका किसान तीन बालीसम्म खेती गर्न थालेका छन्। सिँचाइ सुविधा पुगेपछि अन्नबाली, नगदेबाली तथा तरकारीबाली उत्पादन वृद्धि हुने उनले बताइन्।

कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार यस वर्ष १० हजार तीनसय ४२ हेक्टरमा धानखेती गरिएकामा ३५ हजार ३९ मेट्रिक टन धान उत्पादन भएको छ। इलाममा रन्जित, राधा४, चुल्ठेर अन्य स्थानीय जातको धानखेती गरिन्छ। रासस

प्रकाशित: Mar 24, 2025| 17:01 सोमबार, चैत ११, २०८१
प्रतिक्रिया दिनुहोस्