मंगलबार, पुस ८, २०८२

दश वर्ष अमेरिका बसेर फर्केका सुशील म्याग्दीमा केरा फलाउँदै

 |  शुक्रबार, चैत १, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १, २०८१

म्याग्दीको मंगला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्किएका एक जना युवाले व्यावसायिक केराखेती गरेका छन्। हाल बागलुङमा बसोबास र काठमाडौंमा व्यवसाय गर्दै आएका ३८ वर्षीय सुशील खड्काले जन्मथलोमा पुर्ख्यौली जग्गालाई सदुपयोग गर्न केराखेती सुरु गरेका हुन्। 

National life

मंगला भेञ्चर कम्पनीमार्फत केराखेती गरेर बाँझिन थालेको खेतीयोग्य जमिनलाई सदुपयोगका साथै कृषि उद्यमबाट गाउँघरमा नै आम्दानी र रोजगारीको अवसर भएको सन्देश दिने प्रयास गरेका छन्।

‘हाम्रा पुर्खाले दुई सय वर्षअघि धानखेती गर्न किनेको सातविसेको उर्वरायुक्त जग्गा बसाइँसराइ र वैदेशिक रोजगारीका कारण बाँझिन थालेपछि दुई वर्षअघि केरा रोप्दा धेरैले मलाई हाँसोको पात्र बनाए,’ खड्काले भने, ‘जग्गा बाँझो नहोस् भनेर सुरू गरेको केराखेती राम्रो हुन थालेपछि अरूले पनि सिको गर्न थालेकामा खुसी लागेको छ।’

अमेरिकाको भेन्डेरबिल्ट विश्वविद्यालयबाट अर्थशास्त्र र व्यवसाय विषयमा स्नाकोत्तर तथा इन्जिनियरिङमा स्नातक गरेका सुशीलले काठमाडौंमा श्रीमती सिलसिलासँगै नकुहिने फोहर प्रशोधन गरेर पुनःप्रयोग गर्ने कम्पनी सञ्चालन गरेका छन्। खड्काको सातबिसेमा एक सय रोपनी पुर्ख्यौली जग्गा छ।

सुशीलका जिजुबाजेले दुई सय वर्षअघि बागलुङबाट आएर सातबिसेमा जग्गा खरिद गरेका थिए। सातवटा २० रुपैयाँमा किनेको जग्गा भएकाले यो ठाउँको नाम सातबिसे नामकरण भएको किंवदन्ती छ। खेतमा पाक्दा र भान्छामा पकाउँदा मगमग बास्ना आउने गौरिया धानखेती हुने र सिँचाइ सुविधा भएकाले खड्काका पुर्खाले सातबिसेमा जग्गा किनेका थिए।

Laxmi sunrise bank
kumari

पछिल्लो समय वैदेशिक रोजगारीका कारण कृषि मजदुर नपाउने र लागत बढ्न थालेपछि सातबिसेको खेतीयोग्य जमिन पनि बाँझिएर झाडीमा परिणत हुन थालेको छ। सन् २००५ मा अध्ययनका लागि अमेरिका गएका सुशील सन् २०१५ मा नेपाल फर्किएका थिए।

कोरोना महामारी फैलिएपछि भएको बन्दाबन्दीका समयमा उनलाई पुर्ख्यौली जग्गामा कृषि उद्यम सञ्चालन गर्ने सोच पलाएको थियो। तीन रोपनीमा एक सय ५० बोट हजारी जातको केराबाट उद्यम सुरू गरेका खड्काले हालै एक रोपनीमा नयाँ केराका बिरूवा रोपेर विस्तार गरेका छन्। केराखेतीको परीक्षण सफल भएपछि विस्तार गर्न थालेका हुन्।

केरा बगैँचा रेखदेखको काममा सुशीललाई आमा मनकुमारीले सघाएकी छन्। केरा बेचेर पछिल्लो एक वर्षयता एक लाख आम्दानी गरेका खड्का केराखेतीसँगै ड्रागन फ्रुटको खेती गर्ने तयारीमा छन्।

आधुनिक उपकरणको प्रयोग गरेर कम लागतमा रैथाने गौरिया जातको धानखेतीलाई निरन्तरता दिने र विदेशबाट फर्किएका तथा गाउँमै भएका बेरोजगार युवाको समूह बनाएर कृषि उद्यम सञ्चालन गर्ने उनको योजना छ।

‘देशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिनु र परम्परागत बालीको संरक्षणसँगै प्रवर्द्धन गर्ने मेरो उद्देश्य हो,’ खड्काले भने, ‘जलवायु र मौसममा आएको परिवर्तनको सामना गर्न सक्ने क्षमता भएका परम्परागत बालीलाई जोगाउनु हाम्रो दायित्व र जिम्मेवारी हो।’ रासस

प्रकाशित: Mar 14, 2025| 13:14 शुक्रबार, चैत १, २०८१
प्रतिक्रिया दिनुहोस्