शुक्रबार, साउन २३, २०८२

जुम्लामा वर्षा र हिमपात, कृषकहरू उत्साहित

 |  शनिबार, फागुन १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १७, २०८१

vianetvianet

जुम्ला- शुक्रबार बिहानैदेखि हिमपात र वर्षा  हुँदा यहाँका किसानलाई राहत पुगेको छ। हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ र वर्षा भएको हो। उच्च ठाउँमा एक फिट जति हिउँ परेको पातारासी गाउँपालिका–१ का स्थानीयवासी मुनबहादुर एडीले जानकारी दिए।

ढिलोगरी वर्षासँगै भएको हिमपातपछि आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन्। गत असोजदेखि पानी नपर्दा हिउँदे बाली सुक्दै गएका थिए। 

जिल्लाका आठवटै स्थानीय तहमा धेरैजसो ठाउँमा सिँचाइको अभाव छ। जहाँ किसानले आकाशे वर्षात्का भरमा जौँ, गहुँ बाली लगाउने गर्छन्। हिमपातका कारण जौं, गहुँलगायत नयाँ  स्याउका बिरुवा लगाउन निकै सहज भएको हिमा गाउँपालिका–६ का  स्थानीय किसान दुर्गा शाहीले बताए।

जिल्लामा स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिमपातका कारण सहज भएको कृषि विकास कार्यालयका सूचना अधिकारी दीपकसिंह धामीले बताउनुभयो। जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ। साथै सदरमुकाम खलङ्गा बजारबाट चल्ने लामो तथा छोटा दूरीका सवारीसाधन फाट्टफुट्ट चलेको तिला कर्णाली यातायातले जनाएको छ। गत २४ घण्टामा जिल्लामा ३३ मितिमिटर वर्षा भएको हावापानी फिल्ड कार्यालयले जनाएको छ।

प्रकाशित: Mar 01, 2025| 14:28 शनिबार, फागुन १७, २०८१
प्रतिक्रिया दिनुहोस्