आइतबार, जेठ ३१, २०८३

महाशिलाको तरकारी पोखरा झर्दा किसान मालामाल

 |  सोमबार, फागुन १२, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०८१

पर्वतको महाशिला गाउँपालिकाले ढुवानीमा अनुदान दिएपछि स्थानीय तरकारी जिल्लाबाहिर निर्यात हुन थालेको छ।  

National life

पछिल्लो चार महिनामा मात्रै यहाँबाट रु ८५ लाख बराबरको तरकारीको बजारीकरण भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष ईश्वरीप्रसाद भुसालले ढुवानीमा अनुदानपछि कात्तिकदेखि माघ महिनासम्म रु ८५ लाख बाराबरको तरकारी बिक्री भएको बताए।

उनका अनुसार गत कात्तिकमा रु ३६ लाख १९ हजार, मङ्सिरमा रु १३ लाख ७८ हजार ८३५, पुसमा रु २९ लाख ९७ हजार ८८० र माघमा रु १८ लाख १२ हजार १८५ बाराबरको तरकारी बिक्री भएको हो । 

महाशिलामा फर्सी, आलु, अकबरे खुर्सानी, साग, ब्रोकाउली, काउली, बन्दाकोभी, स्कुस, लौका, काक्रो, टमाटर, भिन्डी, सिमी, बोडीलगायत तरकारी  उत्पादन हुने गरेको छ । यहाँका कृषकहरूले मौसमी तथा बेमौसमी तरकारीखेती गर्ने गरेका छन् । गाउँपालिकासँगको सहकार्यमा यहाँ हेफर इन्टरनेशनल नेपालको सहयोगमा इन्प्रेड नेपालले ग्रामीण महिला उद्यमसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ । 

उक्त परियोजनाबाट यहाँका आठ सय ७५ परिवार लाभान्वित भएका छन् । हाल यहाँ एक हजार एक सय ३९ रोपनी जग्गामा तरकारी खेती गरिएको छ । संस्थाले उत्पादित तरकारी तथा खाद्यान्न बाली घरेलु बजारका साथै जलजला, वालिङ, पोखरा, काठमाडौँलगायत क्षेत्रमा बिक्री वितरण गर्न सहजीकरण गरिरहको इन्प्रेड नेपालका कार्यक्रम अधिकृत टुकप्रसाद शर्माले बताए।

Shivam cement

पालिकाका छ वटै वडामा सडकको पहुँच विस्तार भएपछि कृषकलाई  व्यावसायिक तरकारीखेती गर्न सहज भएको छ । गाउँपालिकाले कृषिजन्य उत्पादनमा अनुदानस्वरूप प्रति किलो रु पाँच उपलब्ध गराउँदै आएको छ । पालिकाले तरकारी मात्र नभएर खसी बोकामा समेत प्रति किलो रु २५ का दरले अनुदान उपलब्ध गराउँदै आएको छ । 

स्थानीयलाई व्यावसायिक उत्पादनका लागि उत्प्रेरित गर्ने उद्देश्यले पालिकाले अनुदान सहयोग गर्न थालेको अध्यक्ष भुसालले बताए । यसले कृषि पेसातर्फ आकर्षित हुनेको सङ्ख्या बढ्दै गएको उनले बताए।

प्रकाशित: Feb 24, 2025| 19:35 सोमबार, फागुन १२, २०८१
प्रतिक्रिया दिनुहोस्