सोमबार, फागुन १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

पूर्वाधार विकासले फेरिँदै रामपुरको स्वरुप

 |  सोमबार, फागुन १२, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०८१

ntc landingntc landing

पाल्पा- रामपुर सहरीकरणको सम्भावना बोकेको सहर हो। कालीगण्डकी करिडोरसँग जोडिएको रामपुर नगरपालिकामा पछिल्लो समय पूर्वाधार विकासले द्रुत गति लिएको छ। यहाँको मुख्य बजार बेझाड र त्यस आसपासका सडक हाल धमाधम स्तरोन्नति भइरहेका छन्।

himalayan bank box

बेझाड बजार क्षेत्रमा सडक कालोपत्रका लागि काम थालनी भएपछि यस क्षेत्रका स्थानीय उत्साहित बनेका छन्। बजार क्षेत्रमा दुईतर्फी पैदलमार्गसहितको सडक कालोपत्रको योजना सुरु भएको छ। ग्रामीण विकास तथा साना सहरी पूर्वाधार आयोजनाअन्तर्गत (बजार क्षेत्र) बेझाड बजार, बाङ्गेपसल र सहकारी भवनसम्म एक हजार आठसय ३० मिटर सडक स्तरोन्नति तथा कालोपत्र भइरहेको रामपुर-५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले जानकारी दिए।

'बजार क्षेत्रमा काम भइरहेको छ, नाली खन्ने काम सकिएको छ, यसपछि कालोपत्र गरिने छ, बजार क्षेत्रलाई व्यवस्थित बनाउन पैदलमार्ग तयार गर्ने र सडक बत्ति जडान गर्दैछौँ', उनले भने।

बजार क्षेत्रमा सडकको निश्चित मापदण्ड बनाएर रेखांकन गरी काम थालिएको वडाध्यक्ष पोखरेलले बताए। रामपुरको मुख्य बजार क्षेत्र भएकाले बेझाड बजारलाई हेर्न र घुम्न लायक सहर बनाउन स्तरोन्नतिमा जोड दिइएको हो। ग्रामीण विकास तथा साना सहरी पूर्वाधार आयोजनाअन्तर्गत बेझाड बजारसहित रामपुर-५ र ६ मा पर्ने सहायक सडक  स्तरोन्नति गर्ने कार्य भइरहेको छ।

लुम्बिनी प्रदेश सरकार, सहरी विकास मन्त्रालयमार्फत यहाँ करिब नौ किलोमिटर सडक स्तरोन्नति गरिँदैछ। सडकको बीच रेखाबाट दायाँबायाँ दुवैतिर चार/चार मिटर सडक क्षेत्राधिकार  छ। कुल २६ करोड ७१ लाख रूपैयाँको लागतमा आयोजनाको काम सञ्चालन गरिएको छ। आयोजना सञ्चालनका लागि प्रदेश र संघ सरकारको समपूरक कोषबाट बजेट विनियोजन भएको छ। 

सडक स्तरोन्नति गर्न रामपुर नगरपालिकामा यो हालसम्मकै ठूलो कार्य हो। यस आयोजनाअन्तर्गत रामपुर-५ स्थित सिमलघारी बसपार्क क्षेत्रअन्तर्गत जोडिएका विभिन्न सडकको काम भइरहेको छ। गत बैशाखमा सम्झौता भइ जेठदेखि काम सुरू भएको हो।

चालु आर्थिक वर्षको असार मसान्तभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको वडाध्यक्ष पोखरेलले बताए। 'विगतमा भएका सडक विस्तारको कामलाई यस आयोजनामा समेटिएको छ। यहाँका १३ सडक छनोट गरी काम भइरहेको छ', उनले भने।

हालसम्म सबै सडकमा नाली निर्माणको काम लगभग सकिएको छ। अब कालोपत्र गर्ने तयारी छ। यी सडकले बेझाड बजार, बसपार्क, नगरपालिका कार्यालय, मालपोत तथा नापी कार्यालय र इलाका प्रशासन कार्यालयलाई जोडेको छ। नगरपालिका कार्यालय प्राङ्गण अगाडि सुविधा सम्पन्न नमूना हरियाली उद्यान बनाउने यसै योजनामा समावेश गरिएको रामपुर नगर प्रमुख रमणबहादुर थापा बताउँछन्।

'अहिलेसम्मकै ठूलो योजनामा विशेष गरी रामपुरको वडा नं ५ मा सडक स्तरोन्नतिको काम भइरहेको छ, यस योजनाअन्तर्गत वडा नं ६ मा पनि केही सडक स्तरोन्नतिको काम चलिरहेको छ', नगर प्रमुख थापाले भने, 'आउँदो असार मसान्तभित्र योजना सम्पन्न गर्नुपर्ने भएकाले काम सकिएपछि कामलाई गुणस्तर रूपमा तीव्र गतिमा सञ्चालन गरेका छौँ, योजना सम्पन्न भएपछि यो क्षेत्र एउटा नमूना बन्नेछ।'

नगरपालिका तथा वडाबाट विनियोजन गरेको साना रकमले ठूला आयोजना एकैपटक सञ्चालन गर्न कठिनाइ पर्ने हुन्छ। हाल यहाँ परेको ग्रामीण विकास तथा साना सहरी पूर्वाधार आयोजनाले रामपुरको मुहार फेर्नेछ। तोकिएको समयमा गुणस्तरीय काम सम्पन्न गराउन निर्माण कार्य भइरहेका स्थलमा जनप्रतिनिधिबाट निरन्तर अनुगमन तथा निरीक्षणको कार्य भइरहेको छ।

यो आयोजना निर्माणको काम सकिएपछि रामपुर सुगम सहरको रूपमा चिनिनेछ भने यहाँ पाल्पा मात्र नभइ स्याङ्जा, तनहुँ र नवलपुरका स्थानीयको व्यापार व्यवसाय तथा आवतजावत गर्ने प्रमुख केन्द्र भएकाले चार जिल्लाका स्थानीय प्रत्यक्ष लाभान्वित हुने लुम्बिनी प्रदेशसभाको अर्थ, उद्योग तथा पर्यटन समिति सभापति राजुप्रसाद श्रेष्ठ बताउँछन्।

'सडक विकास भएपछि अन्य कुराको विकास क्रमिक रूपमा हुँदै जान्छ, रामपुरको बजार क्षेत्र, यस आसपासका सडक कालोपत्र भएपछि नमूना सहर बन्नेछ, यो क्षेत्र ठूला सहर सडक सञ्जालसँग जोडिएको छ, भविष्यमा यो प्रमुख मार्ग बन्नेछ, निर्माण कार्यलाई गुणस्तरीय रूपमा तोकिएको समयमा निर्माण सम्पन्न गर्न बेला-बेलामा निर्माणस्थलको अनुगमन गर्ने काम भइरहेको छ', सभापति श्रेष्ठले भने।

पोखरा, काठमाडौं, नारायणगढ, बुटवल, भैरहवा सहरसँग जोडिएको रामपुर भविष्यमा देशकै ठूलो सहर बन्ने सम्भावना छ। कालीगण्डकी करिडोर सडकमार्ग रामपुर नगरपालिकामा परेकाले यस सडकले ठूला सहरलाई जोडेको छ। सहरी विकास आयोजनाको काम सम्पन्न भएपछि एउटा नमूना सहरको रूपमा विकसित हुने, यस आयोजनाले रामपुरको पर्यटन, कृषि, उद्योग, व्यापार, व्यवसायमा ठूलो परिवर्तन ल्याउनेछ। रासस

प्रकाशित: Feb 24, 2025| 19:01 सोमबार, फागुन १२, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्