बुधबार, माघ ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मौरीपालनमा लोभिँदै रुकुम पूर्वका किसान

 |  बुधबार, माघ ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ ९, २०८१

ntc landingntc landing

त्रिवेणी- रुकुमपूर्वको सिस्ने गाउँपालिका-३ का कमलाल खड्काले मौरीपालन गर्न थालेको नौ वर्ष भयो। दशवटा गोलाबाट मौरीपालन सुरु गरेका खड्कासँग हाल एकसय २३ वटा मौरी गोला छन्। सोही मौरी गोलाबाट यस ‘सिजन’मा दुईसय २५ केजी मह उत्पादन भयो।

himalayan bank box

उत्पादित मह पनि बिक्री भइसकेको छ। प्रतिकेजी एक हजार दुईसय रूपैयाँ दरले यो सिजनको महबाट खड्काले दुई लाख ७० हजार रूपैयाँ आम्दानी गरेका छन्। गत वर्षभन्दा यो वर्ष भने मह उत्पादन घटेको उनले बताए। 

गत वर्ष उनले ७० वटा मौरी गोलाबाट दुईसय करिब ३८ केजी मह उत्पादन गरेका थिए। उक्त वर्ष मह बिक्रीबाट ६ लाख ४० हजार रूपैयाँ आम्दानी भएको उनको भनाइ छ। गत वर्षको तुलनामा यसवर्ष मह उत्पादनमा ६० प्रतिशतसम्म कमी आएको मौरीपालक कृषकहरूको भनाइ छ। 'महको माग बढिरहको छ, मह उत्पादन घटेका कारण ग्राहकलाई मागअनुसारको मह पुर्‍याउन सकिएको छैन्', खड्काले भने।

सोही वडाका ओमप्रकाश खड्का पनि पुराना मौरीपालक कृषक हुन्। उनीसँग हाल एकसय ५१ वटा मौरी गोला छन्। उक्त गोलाबाट एकपटकमा उनले तीनसय १२ केजी मह उत्पादन गरे। उत्पादित मह बिक्रीबाट तीन लाख ७५ हजार रूपैयाँ आम्दानी भएको छ। विसं २०५५ देखि मौरीपालन सुरु गरेका ओमप्रकाशको पनि यसवर्ष मह उत्पादन घटेको छ। गत वर्षको तुलनामा यस वर्ष आधाभन्दा बढी मह उत्पादनमा कमी आएको उनको भनाइ छ।

गतवर्ष एकसय ४५ वटा मौरी गोलाबाट सातसय ४२ केजी मह उत्पादन भएको थियो। सोही वर्ष उत्पादित मह बिक्री गरेर आठ लाख ६१ हजार रूपैयाँ आम्दानी गरेको ओमप्रकाशले बताए। यसवर्षको यो सिजनमा कमलाल र ओमप्रकाशको मात्र नभइ जिल्लाका अधिकांश मौरीपालक कृषकको मह उत्पादन घटेको छ।

चिउरीको फूल फुल्ने समयमा पानी परेका कारण मह उत्पादनमा कमी आएको मौरीपालक कृषकले बताएका छन्। कात्तिकदेखि मह निकाल्न सुरु गरिन्छ। अधिकांश कृषकले मह निकालिसकेका छन्। तीन स्थानीय तह रहेको यस जिल्लामा सबैभन्दा बढी सिस्ने गाउँपालिकामा मह उत्पादन हुने गरेको छ।

सिस्ने गाउँपालिकामा प्रायः सर्वसाधारणले मौरीपालन गर्ने गरेका छन्। भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा सिस्नेको तुलनामा मौरीपालन कम हुन्छ। मह बिक्री गरेर यहाँका कृषकले राम्रो आम्दानी गर्ने गरेका छन्। यस क्षेत्रको मह रुकुम पश्चिम, सल्यान, जाजरकोट, दाङ, पोखरा तथा काठमाडौंसम्म पुग्ने गरेको छ।

रुकुमपूर्वमा तीन आर्थिक वर्षमा २४ दशमलव आठ मेट्रिकटन मह उत्पादन भएको छ। तीन स्थानीय तह रहेको रुकुमपूर्वमा उक्त परिमाणमा मह उत्पादन भएको हो। जिल्लाभर आर्थिक वर्ष २०७८/७९ मा ६ दशमलव सात मेट्रिकटन मह उत्पादन भएको एकीकृत कृषि तथा पुशपक्षी विकास कार्यालय रुकुमपूर्वका प्रमुख डिल्लीराज पौडेलले जानकारी दिए।

उनका अनुसार आव २०७९/८० मा अघिल्लो आवको भन्दा महको उत्पादन घटेर ६ मेट्रिकटन उत्पादन भयो भने आव २०८०/८१ मा महको उत्पादन दोबर बढेर १२ दशमलव एक मेट्रिकटन मह उत्पादन भएको थियो। चालु आवको भने किसानहरुले मह निकाल्दै रहेका मह उत्पादनको विवरण प्राप्त नभएको प्रमुख पौडेलले जानकारी दिए। जिल्लामा किसानले प्रतिधार्नी मह (दुई दशमलव पाँच केजी) तीन हजार रूपैयाँमा बिक्री गर्दै आएका छन्।

रुकुमपूर्वमा तीन आर्थिक वर्षमा मह बिक्रीबाट मात्रै किसानले दुई करोड २५ लाख २४ हजार रूपैयाँ आम्दानी गरेका छन्। जिल्लामा व्यावसायिक मौरीपालन गर्ने किसानले दुई लाख रूपैयाँदेखि सात लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेका छन्।

एकीकृत कृषि तथा पुशपक्षी विकास कार्यालय रुकुमपूर्वका अनुसार आव २०७८/७९ मा ६ दशमलव सात मेट्रिकटनबाट ८० लाख ४० हजार रूपैयाँ आम्दानी गरेका छन् भने आव २०७९०/८० मा महको उत्पादन घटेर ६ मेट्रिकटन उत्पादन हुँदा ७२ लाख रूपैयाँ किसानले आम्दानी गरेका थिए।

गत वर्ष भने मह उत्पादन दोबर उत्पादन भएर १२ दशमलव एक मेट्रिकटन मह उत्पादन हुँदा एक करोड ४५ लाख २० हजार रूपैयाँ रकम जिल्लामा भित्रिएको थियो। चालु आर्थिक वर्षको भने मह उत्पादनको विवरण आइसकेको छैन। विवरण प्राप्त नभए पनि यस वर्ष किसानले मह उत्पादनमा कमी आएको गुनासो गरिरहेकाले मह उत्पादनमा कमी हुनसक्ने  कार्र्यालले अनुमान गरेको छ। 

जिल्लाभर कृषकले चार हजार तीनसय ८० घारमा मह उत्पादन गरिरहेका छन्। व्यावसायिक मौरीपानल गर्ने कृषकले एक सयदेखि एकसय ५० घारमा मौरीपालन गर्दै आएका छन्। जिल्लाभर आर्थिक वर्ष २०७८/७० मा एक हजार चारसय ८० घारबाट मह उत्पादन भएको थियो।

आव २०७९/०८० मा मह उत्पादन हुने घारको सङ्ख्या घटेर एक हजार दुईसयमा मात्र मह उत्पादन भएको थियो। गत आवमा भने घारको सङ्ख्या बढेर एक हजार सात सय पुगेको थियो। मह उत्पादन पनि सोही मात्रामा बढेर १२ दशमलव एक मेट्रिकटन उत्पादन भएको थियो। यस वर्ष भने मह उत्पादनको विवरण तथा घारको सङ्ख्याको विवरण प्राप्त हुन बाँकी रहेको कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख पौडलले जानकारी दिए। रासस

प्रकाशित: Jan 22, 2025| 07:01 बुधबार, माघ ९, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्