शुक्रबार, असोज ३, २०८२

'डाक्टर साब कुनै भिटामिन लेख्दिनुस् न'

 |  आइतबार, माघ ६, २०८१

डा. अरूणा उप्रेती

डा. अरूणा उप्रेती

आइतबार, माघ ६, २०८१

‘डाक्टर साहेव, मलाई कमजोरी भइरहेछ, कुनै भिटामिन वा टनिक लेखिदिनुस् न।’ यो वाक्य अस्पताल, हेल्थपोस्ट र क्लिनिकमा काम गर्ने डाक्टर वा स्वास्थ्य कार्यकर्ताले प्रायः सुन्नुपर्छ। हातमा ठूला राम्रा टनिकका सिसी लिएर घरपरिवारका बालबालिका वा बिरामीबाट भर्खर तङ्ग्रिन लागेका व्यक्तिलाई खुवाउने प्रचलन अहिले गाउँशहर सबै ठाउँमा बढ्दो छ। 

Kumaribank

पहिले सुत्केरीलाई ज्वानोको झोल खुवाएर दूध पर्याप्त मात्रामा आउँथ्यो। क्याल्सियम पनि हुन्थ्यो। तर, अहिले ज्वानोको नाममा नाक खुम्च्याइन्छ तर महँगा क्याल्सियमका चक्की भने मज्जासँग खुवाइन्छ। त्यसैगरी, बढी भिटामिन ख्वाउनुपर्छ भनेर मानिसहरू जताततै भिटामिनको खोजीमा छन्। कतिचोटि ग्राहक आफैँ औषधि पसलमा गएर भन्छन्, 'मलाई कमजोरी भएको छ, कुनै तागतको झोल दिनुस् न।' औषधि पसलेले कुनै 'रङ्गीन झोल’ निकालेर दिन्छ र ग्राहक खुसी हुँदै ‘तागतको सिसी’ लिएर फर्कन्छन्। 

विशेष गरी गाउँघरतिर महिला ढाड दुख्नेदेखि लिएर मुटु पोल्नेसम्म जुनसुकै प्रकारको शारीरिक अस्वस्थतामा पनि भिटामिन प्रयोग गर्छन्। शहरका महिलाले पनि आफैँ ‘दुब्लो भएँ, मोटाउने भिटामिन दिनुस् न’ भन्दै औषधि पसलबाट किनेर ल्याउँछन्। गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्दा कतिचोटि महिला खास कुनै समस्या नभए पनि कमजोरी भयो भनेर आउँछन् र भिटामिनको माग गर्छन्। यदि उनीहरूलाई भिटामिन नदिने हो भने 'कस्तो डाक्टर होला। केही रोग छैन भनेर भिटामिन दिएन' भनेर गुनासो गरेको पनि सुनिन्छ।

त्यसैगरी बच्चाले भात खाएन भनेर बजारको औषधि खुवाए भात र रोटीले पाउने पोषण पुग्छ भन्ने ठान्छन्। भिटामिन मानव शरीरका लागि एकदमै नभई नहुने तत्त्व हो। त्यस शब्दको उत्पत्ति नै ल्याटिनको भाइटल (अत्यन्त आवश्यक) शब्दबाट भएको हो। भिटामिन मानव शरीरलाई अत्यन्त कम मात्रामा चाहिन्छ भन्ने त सबैलाई थाहा छ तर यो हामीले दिनदिनै खाने भोजनबाट नै प्राप्त हुन्छ र यसको बढी प्रयोग गरेर ज्यादा फाइदा हुँदैन भन्ने कुराचाहिँ कमैलाई थाहा छ। त्यसैले त उनीहरू त्यसको पूर्ति हेर्दा आकर्षक देखिने तर महँगा र अनावश्यक झोलहरूले हुन सक्दैन भन्ने तथ्यतर्फ कमैको ध्यान गएको पाइन्छ। 
    
गर्भवती र सुत्केरी आमालाई सबै पौष्टिक तत्त्व एवं भिटामिनहरू बढी चाहिन्छ भन्ने कुरा पनि प्रायःलाई थाहा हुन्छ, तर ती आवश्यक तत्त्वहरू प्राकृतिक भोजनमै धेरै हुन्छ भन्ने कुरामा कमैले ध्यान पुर्‍याएको देखिन्छ। आमा पनि चाहे काखको बच्चा होस्, चाहे बढ्ने बच्चा सबैलाई भिटामिन झोल र टोनिक दिएर सन्तुष्ट हुन्छन्, बच्चालाई पोषण दिइरहेको ठान्छन्। बाबुआमा कमैलाई थाहा छ– भान्छामा भएको भोजन नै बच्चालाई सबैभन्दा उपयुक्त हुन्छ। 

आधुनिक चिकित्सा विज्ञानका पिता हिपोक्र्याटस भनेका थिए, 'भोजन नै औषधि हो।' विभिन्न विज्ञापनका भरमा औषधि किनेर खाने प्रचलन र घरको खानेकुराले मात्रै हाम्रो शरीर कमजोर हुन्छ भन्ने गलत मानसिकताका कारणले नै मानिसहरू सिसी र चक्की भिटामिन औषधि किनेर खान्छन्। हाम्रा करेसाबारीमा फलेका हरिया तरकारी, बजारमा पाइने मौसमअनुसारका फलफूल आदिलाई बेवास्ता गरेर हामीहरू धेरैजसो स्वास्थ्य राम्रो पार्नका लागि बजारका टोनिक किनेर खान्छौँ।

Metro Mart

भिटामिनको प्रयोग गर्दा चक्कीभन्दा रङ्गीन झोल वा टनिकहरू बढी फाइदाजनक र झोलभन्दा बढी भिटामिन सुई फाइदाजनक हुन्छन् भन्ने गलत धारणाले गर्दा गाउँघरमा प्रत्येक रोगका लागि भिटामिन सुई लिने प्रचलन पनि धेरै मात्रामा छ। अनेक भ्रामक र अज्ञानताको कारणले पछिल्लो समय गाउँघरमा पनि सस्ता पोषक खानेकुराहरू छोडेर महँगो झोल तथा सुईका पछाडि दौडिने क्रम बढ्दै गएको छ। यस्तो चलन बढ्नुको एउटा कारण रेडियो, पत्रपत्रिका र टीभीजस्ता सञ्चारमाध्यमहरूमा हर्लिक्स, बुस्ट, बोर्नभिटाजस्ता भिटामिनहरूको प्रचारप्रसार अत्यधिक हुनु पनि हो।

भिटामिन ‘ए’ को कमीले हुने राति अन्धो हुने रोगका लागि ‘भिटामिन ए’को  क्याप्सुल बाँडिन्छ। तर, तपाईंको घरको बारीको फल मेवा वा अम्बा खाऊँ है भनेर भनिदैन। जुन ठाउँमा पर्याप्त मात्रामा अमला पाइन्छ, त्यो ठाउँमा भिटामिन सी’ को चक्की बेचिन्छ महँगोमा। सस्तोमा पाइने अमला भिटामिन 'सी'को भन्दा धेरै सस्तो भएर पनि बेवास्ता गरिन्छ।

मानिसहरूले आफ्नो धेरै कमाइ भ्रममा परेर यस्ता रङ्गीन झोलमा खर्च गरिरहेका छन्। औषधि पसलमा गएर रङ्गीन झोल किन्नुभन्दा अगाडि तपाईं डाक्टरलाई सोध्नुस्, ‘के वास्तवमा नै मलाई भिटामिन जरुरी छ ?’ भोक लगाउने टोनिक आफूले खानुभन्दा अघि वा परिवारका सदस्यहरूलाई दिनुभन्दा अघि सोच्नुस्, ‘के यो वास्तवमा तपाईंलाई चाहिन्छ ? के यसका सम्पूर्ण कुप्रभावहरूबारे तपाईंलाई जानकारी दिइएको छ ? कतिपय विकसित देशहरूमा कुप्रभाव पर्छ भनेर भनिएका यस्ता भिटामिनका चक्की वा झोलहरू नेपालमा प्रश्रयका साथ बिक्री वितरण भइरहेको छ। सन्तुलित भोजनबाट नै सबैखाले भिटामिनहरू पाउन सकिन्छ भनेर बुझ्नसक्यो भने भिटामिन झोल र टनिकको कसैलाई पनि जरुरत हुँदैन। 

त्यसैगरी, धेरै मानिसहरू भोजन भनेर पाचन गराउने रस किनेर खान्छन्। तर, घरमै भएका खानेकुरा ज्वानो, हिङजस्ता तत्त्वहरूको प्रयोग गरे पनि पच्ने प्रक्रिया राम्रो हुन्छ भनेर धेरै थोरैलाई मात्र थाहा हुन्छ होला। युवापुस्तामा त यस्ता कुराहरूमा कमैले चासो दिएको पाइन्छ। तराईंमा घरघरमा पाइने मेवा पाकेर झरिरहेका हुन्छन्। त्यसलाई हेरेर आँखा तर्काएर हिँड्नेहरूलाई थाहा छैन कि मेवा कस्तो औषधि, पाचन रस र भिटामिनले भरिएको खानेकुरा हो भनेर। खाना पचाउने भनेर थरीथरीका सिसीहरू बजारबाट किनेर ल्याउनेहरूलाई थाहा छ कि छैन मेवामा शरीरका भोजन पचाउन चाहिने सबै पाचन रसहरूजस्तै– पापायिन, खिम्मोपापिन आदि हुन्छ।

मेवालाई विभिन्न ठाउँमा विभिन्न तरिकाले प्रयोग गरिन्छ। कतै पाकेको, कतैकतै पाकेको फललाई झोल बनाएर खाइन्छ, कतै काँचो मेवालाई तरकारी वा अचार बनाएर खाइन्छ, जसरी खाए पनि यसले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउने मात्रा होइन कि शरीरमा रहेका अन्य समस्या जस्तो कब्जियत हुने, खाना नपच्ने समस्या हुने आदि हटाउन पनि सक्छ। मेवामा भिटामिन ‘सी’ को मात्रा प्रचुर रहेको हुन्छ। 

आधुनिक पाचन रसका बारेमा जानिफकार प्रोफेसर म्याकस वोल्फले क्यानेडियन सिपाहीहरूमा अनुसन्धान गरेका थिए। उनले पर्याप्त मात्रामा पाचन रस भएका फलफूलहरूको खान दिएका सिपाहीहरूको स्वास्थ्यमा मात्र सुधार भएन कि उनीहरूमध्ये जसलाई धेरै रुघाखोकी लागि रहन्थ्यो दुईतिहाइलाई त लामो समयसम्म रुघाखोकी नै लागेन। एकतिहाइ सिपाहीलाई रुघाखोकी लागे पनि कडा रूपले लागेन। प्रोफेसर वोल्फले आफ्ना विभिन्न अनुसन्धानबाट यो निष्कर्ष निकाले कि, शरीरमा पर्याप्त मात्रामा पाचन रस हुने हो भने व्यक्तिहरूको शरीरमा किटाणुहरूले आक्रमण गरेर रोग लाग्ने सम्भावना कम हुन्छ। पाचन रस प्राप्त गर्न टाढा जानै पर्दैन। मेवामा रहेका पर्याप्त तत्त्वहरू नै खानेकुरा पचाउन पर्याप्त छन्। 

तर प्रायः मानिसहरू घरमा फलेको मेवा खान छोडेर, औषधि पसलमा गएर पाचन गर्ने औषधि, विभिन्न भिटामिनका झोल, शक्ति दिने झोल, सुत्केरी महिलालाई दूध बढाउने झोल, बालबालिकालाई भोक लगाउने झोल भनेर अनेकथरीका थरीथरीका बट्टाहरू किनेको पाइन्छ। नेपाली उखान ‘नजिकको तीर्थ हेला’ भनेझैँ आफूसँग भएको वस्तुको बेवास्ता गरेर त्यसको सट्टामा महँगा झोलहरू किन्ने क्रम बढिरहेको छ। यसले आर्थिक रुपमा मात्र नभई स्वास्थ्यका हिसाबले पनि फाइदा पुगेको छैन।   -रासस    (लेखक जनस्वास्थ्य तथा पोषणविद् हुन्।)

प्रकाशित: Jan 19, 2025| 20:01 आइतबार, माघ ६, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बिरानो बन्यो मेची पारिको नेपाल

बिरामी पर्दा उपचारका लागि मात्र होइन, कक्षा तीनदेखि माथिल्लो तहको शिक्षाका लागि बालबालिका समेत भारत नै धाउनुपर्ने यहाँको बाध्यता छ।

बालबालिकालाई नेपालको महिमा पढाउनुपर्छ

आधुनिक प्रविधिको प्रभाव, प्रवासी जीवनशैलीको आकर्षण र सामाजिक सञ्जालको प्रभावले आजका बालबालिकाको ध्यान आफ्नो देश र संस्कृतिप्रति कमजोर बनाउँदैछ। यस्तो परिस्थितिमा नेपालको गौरव, मौलिकता र...

सडकको चर्को आवाज, संवादको मौनता

शिक्षकदेखि राजनीतिक दलसम्मको आन्दोलन यात्रा-आर्थिक क्षति, सामाजिक तनाव र शैक्षिक अवरोधको आत्मस्वीकृति, अब विश्वका सफल उदाहरणबाट सिक्दै संवादलाई संस्थागत गर्ने समय आएको छ।

अटिजम रोग होइन, लुकाउनु हुँदैन

यसलाई 'न्यूरो डेभलपमेन्ट डिसअर्डर' पनि भनिन्छ। अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य देखिए पनि सामाजिक तथा सञ्चारसम्बन्धी सीप सिकाइको क्षमता कम हुन्छ। जसले गर्दा उनीहरु...