मंगलबार, चैत १०, २०८२

'जैविक विविधता र वन्यजन्तुको पर्यटकीय राजधानी चितवन'

 |  सोमबार, पुस १, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस १, २०८१

चितवन- चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रूपमा घोषणा गर्न सौराहाका पर्यटन व्यवसायी लागि परेका छन्। यसका लागि रत्ननगर नगरपालिका र बागमती प्रदेश सरकारसँगको छलफल तथा समन्वय भइरहेको हो।

National life

यही पुस ११ गतेदेखि सुरू हुने १८औँ हात्ती तथा पर्यटन महोत्सव २०८१ को अवसरमा राजधानी घोषणा गर्ने गरी तयारी अघि बढाइएको क्षेत्रीय होटल संघ सौराहाले जनाएको छ। महोत्सवका संयोजक रामकुमार अर्यालका अनुसार महोत्सवको उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा घोषणा गर्ने कार्यक्रम रहेको छ।

यसका लागि रत्ननगर नगरपालिकाको बोर्ड बैठकले निर्णय गरेर प्रदेश सरकारले राष्ट्रपति समक्ष प्रस्ताव लगेपछि घोषणाको प्रक्रिया सुरू हुनेछ। अहिले यो प्रक्रिया सुरू गरिएको र महोत्सवको अवसरमा घोषणा हुने अपेक्षा गरिएको छ।

महोत्सवको बारेमा जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा संयोजक अर्यालले गत वर्षमा भएका हात्तीदौड तथा हात्तीका छावाको फुटबल प्रतियोगिता यस वर्ष हटाइएको जानकारी दिए। यस वर्ष हात्तीको शृंगार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी प्रतियोगिता, हात्ती मैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण कार्यक्रम गरिने उनले बताए।

यस्तै पालिकास्तरीय डुंगा दौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीसँग ‘बीटुबी’ गोष्ठी, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तरक्रियाजस्ता कार्यक्रमम गरिनेछ। यस महोत्सवमा ८० वटा हात्तीलाई सहभागी गराइने आयोजकले जनाएको छ।

Laxmi sunrise bank
kumari

अहिले पर्यटक कम आउने समय भएकाले पर्यटकलाई आकर्षित गर्नका लागि महोत्सव गर्न लागिएको संघका अध्यक्ष गंगा गिरीले जानकारी दिइन्। उनका अनुसार कार्यक्रमबाट अहिले भइरहेका पर्यटकभन्दा ३० प्रतिशत बढी पर्यटक आउने अनुमान गरिएको छ।

अहिले सौराहाका होटलमा ३० प्रतिशत मात्र पर्यटक रहेका छन्। यसलाई बढाउन यो कार्यक्रम फलदायी हुने उनले बताइन्। हात्तीलाई पर्यटनसँग जोड्दा विदेशी पाहुनाको बसाइ लम्ब्याउन सहज हुने उनको भनाइ छ। 

मृगकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले संस्कृति र पर्यटनलाई जोड्न यो महोत्सव सफल हुने बताए। हात्तीलाई जबरर्जस्ती विभिन्न खेलमा सहभागी गराइएको भन्दै पशु अधिकारवादीले विरोध गरेपछि संघले कार्यक्रमलाई केही फेरबदल गरेको हो।

कार्यक्रम निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएको चौरमा गर्ने विषयमा पनि केही संरक्षणकर्मीले आवाज उठाएका छन्। रासस

प्रकाशित: Dec 16, 2024| 19:31 सोमबार, पुस १, २०८१
प्रतिक्रिया दिनुहोस्