बुधबार, जेठ २०, २०८३

धरानमा फस्टाउँदै सिद्रा व्यापार

 |  सोमबार, पुस १, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस १, २०८१

सुनसरी- मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली आइपुग्छिन्। गल्लीमै बेलुकी ६ बजेसम्म सिद्रा बिक्री गर्नु उनको दैनिकी हो। सिद्रा बिक्री गर्दा राम्रै आम्दानी हुने उनी बताउँछिन्।

National life

‘सिद्रा गर्मीको तुलनामा जाडोमा धेरै बिक्री हुने गरेकाले जाडो सुरु भएसँगै अहिले धरानमा सिद्राको व्यापार फस्टाएको छ’, उनले भनिन्।

शाहीले सिद्रा व्यापार गर्न थालेको २० वर्ष भयो । सिद्रा व्यापारबाटै जीविकोपार्जन गर्दै आएको उनले बताए। सिद्राप्रति किलो छ सयदेखि एक हजार दुई सयसम्ममा बिक्री गर्छिन्। उनले भनिन्, ‘मेहनतअनुसार कमाइ पनि राम्रै छ, सन्तुष्ट छु । महिनामा सबै खर्च कटाएर ४० हजारसम्म बचत हुन्छ।’

धरानको भानुचोकबाट पूर्वतर्फ माछाभौडी गल्लीमा लस्करै सिद्रा व्यापारी छन्। सिद्राको पारखीहरू टाढाटाढा बाट यहाँ सिद्रा किन्न आउँछन्। शाहीले झै विगत ३३ वर्षदेखि सिद्राको व्यापार गर्दै आएका धरान उपमहानगरपालिका–३ का प्रेम श्रेष्ठ पनि जाडो यामसँगै बर्सेनि सिद्रा व्यापार फस्टाउने बताउँछन्।

उनका अनुसार कात्तिकको पहिलो सातादेखि फागुनसम्म सिद्राको बढी व्यापार हुन्छ। उनले हाल १२ भन्दा बढी प्रकारका सिद्रा बिक्री गर्दै आएका छन्। पटासी, चेला, वामना, जुँगे, सुन्दरी, टेग्ना, बरेल, चलवा, झिंगे, बुलवा प्रजातिका सिद्रा बिक्री गर्दै आएको उनले सुनाए।

Shivam cement

धेरैजसो तरकारी र अचार बनाएर खाने सिद्रा बिक्री हुने उनले बताए। यही व्यापारबाट उनले घरखर्च र छोरा छोरीको स्कुल ‘फि’ बुझाउने गरेको बताए। उनले भने, ‘नेपालमा प्रशस्त खोलानाला भए पर्याप्त सिद्रा उत्पादन नहुने भएकाले भारतबाट ल्याएर बेच्नुपर्छ । मैले वर्षमा २० क्विन्टल बढी सिद्रा बिक्री गर्ने गर्छु।’

धेरै जसो पहाडी जिल्लाहरूमा सिद्रा खपत हुने गरेको उनको भनाइ छ। सिद्रा मौसमअनुसार नेपालमा साउनदेखि असोज महिनासम्म उत्पादन हुने गर्छ । सो अवधिमा उनले नेपालमै खरिद गरेर बिक्री गर्ने गरेको बताए।

नेपालमा सिद्रा उत्पादन हुने याम सकिएपछि भारतबाट ल्याएर बिक्री गर्ने गरेको उनको भनाइ छ । सिद्रा धरानका होटलहरुमा अचारका लागि खपत हुने गर्छ । आफन्तलाई कोसेलीका रूपमा पनि ग्राहकहरूले सिद्रा खरिद गरेर लैजाने उनले बताए।

जाडो याममा सिद्राको झोल बनाएर खाने चलन रहेको व्यापारीहरू बताउँछन्। धरानमा शाही र श्रेष्ठ जस्ता सिद्राको व्यापार गर्ने व्यापारीको संख्या एक दर्जनभन्दा बढी छन्। पछिल्लो समय सिद्रा व्यापार गर्ने अधिकांश महिला छन्। रासस

प्रकाशित: Dec 16, 2024| 09:01 सोमबार, पुस १, २०८१
प्रतिक्रिया दिनुहोस्