काठमाडौं- कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा पहिलो विजय हात पारेको छ।
शिखर धवन र चाडविक वाल्टनले अनुभवी इनिङ्स खेलेपछि कर्णालीले शुक्रबार पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो।
धवनले ४१ बलमा ४५ र वाल्टनले १९ बलमा ३० रन बनाएपछि कर्णालीले १ सय ३१ रनको लक्ष्य मात्र १ बल अगाडि पूरा गर्यो। ४ चौका र १ छक्का प्रहार गरेका धवनलाई यान निकोलास लफ्टी इटोनले कट एन्ड बोल्ड गरे। वाल्टनले ३ छक्का प्रहार गरे। धवनले देव खनालसँग पहिलो विकेटमा १० ओभरमा ५३ र वाल्टनसँग दोस्रो विकेटमा ३३ बलमा ५१ रन जोडेका थिए।
टस हारेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३० रनमात्र बनाउन सकेको थियो।