काठमाडौं- चितवन राइनोजले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।
ब्याटिङमा रवि बोपाराको अर्धशतक तथा बलिङमा सोहेल तनविर र रिजन ढकालको उत्कृष्ट प्रदर्शनमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो।
१६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा ७४ रनमा अलआउट भयो। पोखराका लागि लोअर अर्डरमा आएका नारायण जोशीले सर्वाधिक ३० रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। जोशीले २४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे। म्याट क्रिटलेले १७ रन जोडे।
चितवनका तनविरले ३ ओभरमा १ मडन राख्दै ६ रन मात्र खर्चेर ३ विकेट लिए। रिजनले पनि ३ ओभरमा १ मेडन राख्नदै १० रन खर्चेर ३ विकेट लिए। लुकले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए। दीपक बोहराले १ विकेट लिए।