आइतबार, मंसिर २१, २०८२

जाडो याममा कसरी बढाउने शरीरमा ऊर्जा ?

 |  आइतबार, मंसिर ९, २०८१

डा. अरुणा उप्रेती

डा. अरुणा उप्रेती

आइतबार, मंसिर ९, २०८१

जाडो बेलामा शरीरमा बढी ऊर्जाको जरुरत पर्छ , यस्तो बेलामा बढी ऊर्जा दिने खानेकुरा खाने गर्नुपर्छ। जाडोमा विशेषगरी तातो खानेकुरा खाने गर्नुपर्छ।  

National life

विशेषगरी बच्चा र बुढाबुढीहरुलाई जाडोले शरीरको तापक्रम कम भइसकेपछि निमोनिया हुन सक्ने हुनाले तातो खानेकुरा र लुगा पनि न्यानो, तातो आउने खालको लगाउने गर्नुपर्छ। टाउको र खुट्टाबाट चिसो चाँडो छिर्ने हुनाले हाम्रो हजुरबा, हजुरआमाले पहिलेदेखि नै टाउको र खुट्टा तातो बनाउनुपर्छ भन्ने गर्नुभएको हो। त्यसकारण टाउको र खुट्टालाई चिसोबाट राम्रोसँग जोगाउनु पर्छ।

बालबालिकालाई विशेषगरी कोदोको सुप, फापरको सुप, गुन्द्रुक, भटमास, आलुको सुप जस्तो तातो झोलिलो तथा दाल, भात, तरकारी र रोगसँग लड्न सक्ने प्रतिरोध क्षमता भएका भिटामिन 'सी' युक्त खानेकुरा खाने गर्नुपर्छ। यसमा कागती, अमला, गुन्द्रुक जस्ता खानेकुरा जुन सजिलै घरमै उपलब्ध हुन्छ।

कागतीमा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ। विभिन्न फलफूलहरू अमला, सुन्तला, अम्बा र तुलसीको पत्ताले पनि हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ। हामीले अहिले सुपका नाममा धेरै पैसा हालेर तयारी सुप किनेर ल्याउँछौँ। त्यसमा के के हालिएको छ पनि हामीलाई थाहा हुँदैन।

गहत जो ऊर्जायुक्त, पोषणयुक्त तथा विभिन्न सुक्ष्म पोषक तत्त्वयुक्त हुन्छ यसको दाल बनाएर खाँदा हाम्रो खर्च पनि धेरै नहुने र जाडोमा धेरै नै फाइदा हुन्छ। हामीले पहिलेदेखि हेपेर जात फाल्नु गहतको झोलमा भनेर गहतलाई निकृष्ट खानेकुरा बनाएका छौं। तर, गहतलाई पिसेर सुप बनाएर खान सकिन्छ, विभिन्न दालमा मिलाएर पनि खान सकिन्छ। जुनसुकै खाद्य वस्तुमा मिलाएर खाए पनि गहतले फाइदा गर्छ। गहतलाई त्यसकारण पनि हामी विशेष खानेकुरा अर्थात सुपर फुड पनि भन्ने गर्छौं।

Laxmi sunrise bank
kumari

गहत र मास दुवैमा प्रोटिनसहित सुक्ष्म पोषक तत्त्व भएकाले यसले स्वास्थ्य राम्रो पार्न पनि भूमिका खेल्छ। ‘आयुर्वेद र परम्परागत सिद्धान्तअनुसार यसको तातोपनले ढुंगा पनि फुटाउन सकिन्छ भन्ने मान्यता छ। त्यसैले मृगौलामा स-साना पत्थरी भएकाहरूलाई गहतको झोल खाँदा फाइदा गर्छ भनेर गाउँघरमा प्रयोग गर्ने चलन छ। सुदूरपश्चिमतिर गहतलाई भुटेर, पिसेर, पानीमा मिसाएर पकाइन्छ। यसलाई ‘घुर्रे’ भनिन्छ। यो भात वा रोटीसँग खान सकिन्छ। साथै पकाउँदा अलिकति तरकारी, मकैको पीठो र घिउ हालेपछि यो तातो सुपको रूपमा पनि खान सकिन्छ।

गुन्द्रुक, भटमास तथा आलु उमालेर भात, ढिँडो तथा रोटीसँग खाँदा शरीरमा ऊर्जा दिने, सुक्ष्म पोषकत्त्व दिने तथा स्वादिलो पनि हुन्छ। हामीले बजारका चाउचाउ तथा अन्य सुप खाँदा त पैसा बढी  खर्च गरे पनि त्यसले शरीरमा ऊर्जा तथा पोषक तत्त्व भने दिने काम गर्दैन। बरु अन्य विभिन्न रासायनिक पदार्थ शरीरमा हालेर रोग लगाउने काम गर्छ।

अहिले बजारमा विभिन्न थरिका प्याकेटको सुप पाइन्छन्। त्यस्तो सुपमा धेरै चिल्लो हुन्छ, रसायनहरू पनि धेरै हालेको हुन्छ। कति हालेको हुन्छ भन्ने आफैं पत्ता लगाउन, प्याकेटका सुप पकाएर, चिसो भएपछि ८–१० घण्टा (वा एक रात) फ्रिजमा राखिदिनुस् अनि फ्रिजबाट निकाल्दा धेरै चिल्लो जमेको देखिन्छ। अध्ययनले भन्छ त्यसरी धेरै चिल्लो पदार्थ भएको ‘खाना’ प्रयोग गर्दा स्वाद त हुन्छ तर स्वास्थ्यमा समस्या पर्न सक्छ। यस्तो ‘सुप’ को प्याकेट महँगो पनि हुन्छ। त्यसैले यस्ता प्याकेटको सुपहरू होइन कि घरमा नै भएका विभिन्न तरकारी, गेडागुडी, दाल आदि प्रयोग गरेर स्वस्थकर सुप बनाउन सकिन्छ।

जाडोमा हामीले घरकै तातो खानेकुरा जस्तै तातो दूध, कागती र मह हालेको चिया, दही, अमिलो मोही छ भने त्यसमा बेसन हालेर कडीको सुप बनाएर खान सकिन्छ। हामीसँग सहजै सस्तो रुपमा उपलब्ध हुने यति धेरै खानेकुरा छन् जुन बालबालिका,  वृद्धवृद्धालाई खान दिँदा स्वास्थ्यमा धेरै नै फाइदा हुने गर्छ।

माघे संक्रान्तिका दिन खाइने घ्यु, चाकु, तिलको लड्डु, शखरखण्ड, खिचडी शरीरका लागि निकै फाइदाजनक छ। खिचडीमा दही मिसाएर खाए यसले रोग प्रतिरोधात्मक क्षमतासमेत बढाउँछ। यसैगरी यमरी पूर्णिमाको दिन चामलको पिठोभित्र खुवा वा चाकु राखेर बनाइने यमरीले पनि जाडो मौसममा धेरै फाइदा गर्ने गर्छ।

अष्ट्रेलियामा ‘पम्पकिन’ सुप भनेर फर्सीलाई उसिनेर पानीमा हालेर त्यसमा मखन र मरिच हालेर खाने चलन छ। हामीकहाँ फर्सीको तरकारीमा भटमास हालेर घ्यूले झानेर भातसँग खाँदा पनि रोगसँग लड्ने शक्ति भएको खाना नै खाएको भन्ने ठाने हुन्छ। तरकारी र गेडागुडी एकछिन उसिनेर त्यसलाई मिक्सचरमा पिसेर (यदि मिक्सचर छैन भने सिलौटामा पिसेर वा मसिनो गरेर काटेर) हल्का आँचमा पकाएर लसुनले झानेर, खाँदा अलिकता घिउ र हरियो धनिया, मरिच हालेर खाएपछि स्वाद र स्वस्थ दुबै हुन्छ। जाडोको बेलामा ‘क्वाँटी’ सुप बनाउन सकिन्छ।

प्रकाशित: Nov 24, 2024| 19:50 आइतबार, मंसिर ९, २०८१
प्रतिक्रिया दिनुहोस्