आइतबार, मंसिर २८, २०८२

घरघरमा धारा तर आउँदैन खानेपानी

 |  बिहीबार, कात्तिक २९, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २९, २०८१

मुग्लिन- चितवनको  इच्छाकामना गाउँपालिका-२ डाडाँगाउँमा प्रत्येक घरको आँगनमै धारा छ। तर यहाँका स्थानीय कुवा धाउन बाध्य छन्।

National life

एक घर-एक धारा अभियानअन्तर्गत डेढवर्ष अघि मात्र इच्छाकामना गाउँपालिका, ‘वाइनटु वाटर’ नेपाल र स्थानीय उपभोक्ताको सहकार्यमा लिफ्टिङ प्रविधिबाट सञ्चालन गरिएको तेर्से-भोर्ले-डाडाँगाउँ खानेपानी आयोजनाको सोलारले काम गर्न छाडेपछि यहाँका स्थानीय खानेपानी जोह गर्न कुवा धाउन बाध्य भएका हुन्।

उपभोक्ता समितिका अध्यक्ष दीपक गुरुङका अनुसार आयोजना सम्पन्न भएको ६ महिनामै सोलारले काम गर्न छाडेपछि यहाँका स्थानीय समस्यामा परेका हुन्। एक वर्षदेखि यहाँका बासिन्दा झण्डै एक घण्टाको बाटो हिँडेर पानी लिन जान बाध्य छन्।

डाँडागाउँमा मात्र होइन सोही आयोजनाअन्तर्गत भोर्ले र तेर्से गाउँमा पनि समस्या उस्तै छ। घर-घरमा धारा भए पनि एक वर्षदेखि पानी नआएको तेर्सेका सुकबहादुर गुरुङले बताए।

लामो समय भइसक्दा पनि खानेपानी समस्या समाधानमा गाउँपालिकाले बेवास्ता गरेको उपभोक्ताको गुनासो छ। आयोजनाअन्तर्गत ४२ परिवार रहेका छन्। ४२ परिवारका स्थानीयले खानेपानीको समस्या झेलिरहेका छन्। तत्काल गाउँपालिका र साझेदार संस्था ‘वाइनटुवाटर’का कर्मचारीलाई जानकारी गराए पनि समस्याको बेलैमा सुनुवाइ नभएको स्थानीय बताउँछन्।

Laxmi sunrise bank
kumari

स्थानीय दीपक गुरुङले भने, 'सोलारले पानी तान्न छाडेपछि तत्काल गाउँपालिका र वाइनटुवाटरलाई जानकारी गराएका थियौँ। महिनौँ दिनसम्म प्राविधिक पठाएनन्।'

ढिला गरी प्राविधिक आए पनि काम सुरु गर्न ढिलाइ गरेको उनको भनाइ छ। वाइनटुवाटरका वास संयोजक यज्ञराज जोशीले भने स्थानीयले ढिला जानकारी गराउँदा समस्या समाधान हुन समय लागेको बताए।

अहिले सर्भे गरी समस्या पहिचान गरिएको र चाँडै समाधान हुने गुरुङले बताए। उनले भने, 'हामीले  वैकल्पिक ऊर्जाका प्राविधिक ल्याएर रिर्पोट तयार पारिसकेका छौँ, केही दिनभित्र काम सुरु गछौँ।'

उनका अनुसार सो स्थानमा घाम केही समय मात्र लाग्ने र लामो दुरी भएका कारण समस्या आएको हो। सोलारले काम नगरेको अवस्थामा विद्युत्बाट सञ्चालन हुने गरी व्यवस्था गर्न गाउँपालिकासँग छलफल भएको उनको भनाइ छ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले दीर्घकालीन रुपमा टिकाउ हुने गरी समस्याको सामाधान गरिने बताए। तत्कालका लागि अस्थायी रुपमा खानेपानी समस्या सामाधान गर्न पुरानो मुहानबाट पानी ल्याउन पाइप उपलब्ध गराइने उनले बताए। केही दिनमै काम सुरु गरिने र एक महिनाभित्र समस्या समाधान गरिने उनको भनाइ छ।

गाउँपालिका, वाइनटुवाटर नेपाल र स्थानीय उपभोक्ताको साझेदारीमा ५८ लाख रूपैयाँको लागतमा २०८० साल  जेठ ३० गते आयोजना सम्पन्न भएको थियो। रासस

प्रकाशित: Nov 14, 2024| 21:01 बिहीबार, कात्तिक २९, २०८१
प्रतिक्रिया दिनुहोस्