काठमाडौं- बाक्लो हुस्सु र तुवालोका कारण तराई क्षेत्रका विमानस्थको उडान प्रभावित भएको छ।
तुवालोले ‘भिजिबिलिटी’ कमजोर हुँदा सिमरा, भरतपुर, भैरहवा र सुर्खेत विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्त रिञ्जी शेर्पाका अनुसार अहिले भैरहवा र सुर्खेत विमानस्थलमा उडान हुन सकेको छैन।
'भैरहवा र सुर्खेत विमानस्थल बन्द छन् अन्य विमानस्थलबाट नियमित उडान भइरहेका छन्', उनले भने।
हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ। ती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार सुक्खा मौसम र प्रदूषणले लामो समय वर्षा नहुँदा तथा तराई क्षेत्रमा बाक्लो तुवालो लागेकाले हवाई यातायात प्रभावित भइरहेको बताए।
'तराईको भू-भागमा वर्षा भए पनि नभए पनि अबको केही दिनपछि बिहाना हुस्सु, कुइरो लाग्नेक्रम बढ्ने र उडान प्रभावित हुनेछ', उनले भने, 'नोभेम्बरको तेस्रो सातादेखि बाक्लो हुस्सु कुइरो बढ्नेछ। डिसेम्बर, जनवरी र फेब्रुअरीमा बढी हुस्सु र कुहिलो लाग्ने भएकाले महाशाखाले विशेष ‘मोनिटरिङ’ नै गर्छ।'
तापक्रम घट्दै जाँदा भिजिबिलिटी कमजोर हुने भएकाले विशेषगरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान प्रभावित हुनसक्ने महाशाखाले उल्लेख गरेको छ।