मंगलबार, पुस १, २०८२

सिन्धुपाल्चोकमा नदीजन्य पदार्थको ठेक्का लगाउन सास्ती

 |  बुधबार, कात्तिक २८, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २८, २०८१

सिन्धुपाल्चोक- यहाँका स्थानीय तहले नदीजन्य पदार्थको ठेक्का लगाउन सकिरहेका छैनन्। स्थानीय तहले नदीजन्य पदार्थ (ढुंगा, गिट्टी र बालुवा) को ठेक्का लगाउन पटकपटक बोलपत्र आह्वानको सूचना प्रकाशित गरे पनि ठेक्का सम्झौता हुन सकेको छैन।

National life

चालु आर्थिक वर्ष सुरु भएको करिब चार महिना पुगिसक्दासमेत १२ स्थानीय तहमध्ये तीनको मात्रै ठेक्का लागेको छ। मेलम्ची नगरपालिका, बाह्रबिसे र बलेफी गाउँपालिकाले ठेक्का लगाएका हुन्।

मेलम्ची, चौतारा साँगाचोकगढी र बाह्रबिसे नगरपालिका तथा ईन्द्रावती, त्रिपुरासुन्दरी, सुनकोसी र बलेफी गाउँपालिकाले ईन्द्रावती र भोटेकोसी नदीबाट नदीजन्य सामग्री उत्खनन गर्दा सोबापत कर संकलन गर्ने गरेको थियो। पटकपटक सूचना प्रकाशित गरे पनि चालु आवमा ठेक्का नलागेको ती स्थानीय तहले जानकारी दिएका छन्।

बाह्रबिसे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी शर्माका अनुसार दुईवर्ष अघि सुनकोशी नदी क्षेत्रको बाह्रबिसेबाट जुरेसम्मको क्षेत्रमा नदीजन्य पदार्थ उत्खननबापत एक करोड रूपैयाँमा ठेक्का आह्वान गरिएको थियो। यस वर्षका लागि पुलबाट तल्लो खण्डमा भ्याटबाहेक ७५ लाख र माथिल्लो खण्डमा २८ लाख गरी जम्मा एक करोड तीन लाख रूपैयाँमा ठेक्का लागेको उनले जानकारी दिए। गत वर्षको तुलनामा प्रतिघनफिट दुई रूपैयाँ घटाएर ठेक्का आह्वान गरिएको शर्माले उल्लेख गरे।

बलेफी गाउँपालिकामा गत वर्ष ठेक्का नलागेकामा यस वर्ष स्थानीय सुनिलकुमार श्रेष्ठ, श्रेष्ठ कन्ट्रक्सनको नाममा २६ लाख रूपैयाँमा ठेक्का परेको छ। बाह्र स्थानीय तहमध्ये सबैभन्दा बढी नदीजन्य पदार्थबाट राजस्व संकलन गर्ने मेलम्ची नगरपालिकामा पनि गत वर्षभन्दा १० करोड रूपैयाँ कम हुने गरी ठेक्का लागेको राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिए। उनका अनुसार २३ करोड ५२ लाख रूपैयाँमा सुदिपा ट्रेनिङ प्रालिलाई उक्त ठेक्का परेको हो।

Laxmi sunrise bank
kumari

नगरपालिकाले गत वर्ष ३३ करोड रूपैयाँमा प्रतिघनफिट नौ रूपैयाँका दरले ठेक्का परेकामा चालु आवमा दुई रूपैयाँ घटाउँदा करिब १० करोड रूपैयाँ नोक्सानी भएको राजस्व शाखा प्रमुख दुलालले बताए।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह चौतारा साँगाचोकगढी नगरपालिकामा पनि ठेक्का लाग्न सकेको छैन। नगरका प्रमुख इञ्जिनियर विकास श्रेष्ठका अनुसार चालु आवका लागि ईन्द्रावतीतर्फ ११ करोड पाँच लाख ७९ हजार एक सय ६१ र सुनकोशीतर्फ दुई करोड ८४ लाख ७३ हजार सातसय २७ रूपैयाँको बोलपत्र आह्वान जारी भए पनि ठेक्का लाग्न सकेको छैन।

गत आवमा ईन्द्रावतीतर्फ १५ करोड ४९ लाख छ हजार सात सय ९४ रूपैयाँ र सुनकोसीतर्फ चार करोड ७५ लाख ६० हजार दुई सय ९३ रूपैयाँमा सम्झौता भएको लागेको थियो।

ईन्द्रावती गाउँपालिकाले गत आवमा १२ करोड रूपैयाँमा ठेक्का लगाएकामा चालु आवमा प्रतिघनमिटर दुई रूपैयाँ घटाएर सातौँ पटक आह्वान गर्दा पनि सम्झौता नभएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए।

पालिकामा कार्यरत करारका कर्मचारीलाई आन्तरिक आम्दानीबाट तलब खुवाउने गरिएको भन्दै राजस्व संकलन नभएपछि तलब व्यवस्थापनमा समस्या भइरहेको उनले बताए।

त्रिपुरासुन्दरी गाउँपालिकाले २१ लाख रूपैयाँमा बोलपत्र आह्वान गरेपनि हालसम्म ठेक्का नलागेको पालिकाका अध्यक्ष भक्तध्वज बोहोराले बताए। सुनकोसी गाउँपालिकाको चालु आवका लागि २२ लाख रूपैयाँमा बोलपत्र जारी गरे पनि ठेक्का लागेको छैन।

'सातौँ पटकसम्म सूचना प्रकाशित गरेका छौँ। घाटघाट अनुसार पनि छुट्ट्याएर ठेक्का निकाल्दासमेत सम्झौता भएको छैन', सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले भने। पालिका प्रशासकीय अधिकृत युगबहादुर खड्काका अनुसार तीन वर्ष अगाडि ६० लाख रूपैयाँको ठेक्का लागेकामा त्यसपछि ठेक्का लाग्न सकेको छैन।

सिन्धुपाल्चोकको सुनकोशी, ईन्द्रावती र भोटेकोसी नदी आसपसामा दुई दर्जनभन्दा बढी क्रसर उद्योग सञ्चालनमा छन्। पूर्वाधार निर्माण नहुँदा क्रसरले उत्पादन गरेका बालुवा, गिट्टीलगायत सामग्री बिक्री हुन छाडेको क्रसर सञ्चालकको भनाइ छ। रासस

प्रकाशित: Nov 13, 2024| 15:02 बुधबार, कात्तिक २८, २०८१
प्रतिक्रिया दिनुहोस्