हेटौँडा- 'पशुपालन नगरे पनि मलको कमी छैन', यहाँको मनहरी गाउँपालिका-७ की कृषक विमला राईले भनिन्, 'पहिले पशुपालन गर्दा अरू काम गर्नै भ्याउँदिन थिएँ। पशु नपालौँ खेती गर्न मल धेरै चाहिने। अहिले त्यो समस्या छैन, ढुक्क छु।'
हाल होटल व्यवसायसँगै खेती गरिरहेकी उनको आर्थिकस्तर पहिलेको तुलनामा सुध्रिएको छ। वनको छेउमै घर हुँदा तीन वर्ष अघिसम्म हिउँद लागेपछि डढेलोले घर भेट्ला कि भन्ने चिन्ता हुन्थ्यो। छिमेकीको गोठमा आगो लागेपछि निकै रातसम्म अनिँदो बसेको उनले बिर्सिएकी छैनन्।
यी समस्याका समाधान खोज्ने क्रममा वन समूहले पत्करबाट मल उत्पादन गर्न थालेपछि डढेलो लाग्न छोडेको उनी बताउँछिन्। उनी वन समूहको आयआर्जन समूहमा पनि आबद्ध छिन्। आयआर्जन कार्यक्रममा ‘ग्रिन फाउन्डेसन नेपाल’ (जिएफएन) नामक संस्थाले सहयोग गरिरहेको छ।
सुनाचुरी सामुदायिक वनकी उपभोक्ता सरिता ब्लोन पनि वनमा गरिएको कागती, तेजपत्ता, अम्रिसोखेतीले आम्दानी गर्न सहज भएको बताउँछिन्। उनी भन्छिन्, 'पहिले वन संरक्षण मात्र गर्ने होजस्तो लाग्थ्यो तर यहाँ खेती पनि गर्न पाउँदा आम्दानीको स्रोत बनेको छ।' उनले २० वटा बाख्रा पालेकी छिन्। बाख्रालाई घाँस लिन टाढा जान पर्दैन। बाख्राबाट पनि आम्दानी भइरहेको उनको भनाइ छ।
पशुपति सामुदायिक वन उपभोक्ता समूहले हाइटेन्सनमुनि रुख नभएका स्थानमा जडीबुटी र घाँसखेती गरेको छ। जिएफएनको सहयोगमा अदुवा, बेसार र सर्पगन्धाको खेती गरिरहेको समूहकी अध्यक्ष चम्पामाया परियारले जानकारी दिइन्। उनले भनिन्, 'यहाँ यसरी आम्दानी हुन्छ जस्तो लागेको थिएन, गर्दा नहुने केही रहेनछ।' जडीबुटीसँगै यसवर्ष अदुवा पनि खेती गरिएको उनले बताइन्।
सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईँले मनहरी गाउँपालिकाका तीनवटा सामुदायिक वनमा खेती र मल उत्पादन गरिएको बताए। वनबाट समृद्ध बन्ने र जलवायु परिवर्तनको असर कम गर्ने अभियानअन्तर्गत यहाँका डिपार्ट सामुदायिक वन, पशुपति सामुदायिक वन र सुनाचुरी सामुदायिक वनले वनक्षेत्रभित्र खेती र मल उत्पादन गरिरहेको छ।
वनमा आधारित ३७ उद्यमहरुलाई दिगो बनाउँदै बजारसँग जोडेर हरित उद्यम विकास गर्न सहयोग गरिरहेको जिएफएनका अध्यक्ष घनश्याम पाण्डेले बताए। उनका अनुसार जिएफएनले वनकरिया साबुन उद्योग, पिप्लेपोखरा सामुदायिव वनमा रहेको श्रमजीवी महिला काष्ठ हस्तकला, हेटौँडा-१२ मा कञ्चनजंघा गुन्द्रुक उद्योग, न्युरेनी सामुदायिक वनमा रहेको दुना टपरी उद्योग र थाहा नगरपालिकाको अल्लो उद्योगको उत्पादन र बजारीकरणमा सहयोग गरिरहेको छ।
पानीका मुहान सुक्न थालेपछि मनहरी गाउँपालिकाका सामुदायिक वनहरुले पुनर्भरण (रिचार्ज) पोखरी निर्माणलाई प्राथमिकता दिएको छ। डिभिजन वन कार्यालय राप्ती मनहरीले डिभिजनअन्तर्गतका सामुदायिक वनमा मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माण गरिरहेको जनाएको छ।
उपभोक्ताले दैनिक पिउने पानीका स्रोत सुक्दै जानु र वनमा जनावरहरुले पानी खान नपाउँदा समस्या भएकाले रिजार्च पोखरी निर्माणलाई प्राथमिकतामा राखिएको डिभिजन वन कार्यालयका अधिकृत गगन शर्माले बताए। गत आर्थिक वर्षमा सातवटा सामुदायिक वन समूहमा आठवटा रिजार्च पोखरी निर्माण गरिएका छन्।
चुरे तथा सुक्खा क्षेत्रमा रिचार्ज पोखरी निर्माण गरेपश्चात् पानीको मुहान संरक्षण र वन्यजन्तुका लागि पानीको उपलब्धतामा सहज भएको छ। वन अधिकृत शर्माले भलबाढीका कारण पोखरी पुरिँदा थोरै समस्या हुने गरेको बताए।
सामुदायिक वनमा जैविक विविधता संरक्षणका लागि वृक्षरोपण र संरक्षण गरिएको छ। लोपोन्मुख विजयसाल, सतिसाल, दार, चिउरी तथा बहुउपयोगी नीम रोपिएको छ। लोपोन्मुख वन्यजन्तु सालकको संरक्षणमा विशेष जोड दिइएको छ। रासस