काठमाडौं- अनलाइनमार्फत् नै बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले तिहारको समयमा गाउँ घर जानेहरुलाई ५ प्रतिशतसम्म छुट दिने भएको छ। सहज किसिमले बसको टिकट काट्न सकिने व्यवस्था गरेको जनाउँदै बससेवाले आफ्ना प्लेटफर्मबाट टिकट काट्नेहरुलाई ५ प्रतिशतसम्म छुट दिने आफर ल्याएको हो।
प्रविधिको उच्चतम प्रयोग गर्दै जोखिमरहित र झन्झटरहित तरिकाले घरमा बसी बसी आफ्नो मोबाइलबाट छुटमा बसको टिकट काट्न अनुरोध गरेको हो।
बससेवाले देशभरका विभिन्न ४३३ गन्तव्यको टिकट काट्दा छुट उपलब्ध हुने जनाएको छ। प्रविधिमा जानकारी नहुने र अनलाइनको पहुँचमा नहुने व्यक्तिले पनि बससेवाका अन्य प्रयोगकर्ताको सहयोगमा सजिलै टिकट काट्न सकिने बससेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। साथै बससेवा चलाउन नसक्नेहरूलाई बससेवाका अन्य प्रयोगकर्तासँग सहयोग लिएर टिकट काट्न पनि बससेवाले आग्रह गरेको छ। लाइन लागेर टिकट काट्ने बाध्यताबाट छुटकारा दिलाउनका लागि आमयात्रुलाई टिकट काटेर सहयोग गरिदिन बससेवाका प्रयोगकर्तालाई पनि बससेवाले आग्रह गरेको छ।
देशका जुनसुकै स्थानबाट पनि काठमाडौँका लागि छुट्ने बसको टिकट काट्न सकिने हुँदा यसको प्रयोगबाट यात्रुहरू लाभान्वित हुने बससेवाले जनाएको छ। संघीय राजधानी काठमाडौँ उपत्यकासहित देशका मुख्य सहरमा रहेका १० हजारभन्दा बढी स्टेसनरी, पान पसल, ट्राभल एजेन्सी लगायतबाट बससेवा प्रयोग गरी टिकट काट्न सकिनेछ। ती स्थानबाट टिकट काट्दा पनि छुट उपलब्ध हुने बससेवाले जनाएको छ।
सरकार तथा यातायात व्यवसायीले पछिल्ला दिनहरुमा अनलाइन टिकेटिङलाई प्राथमिकतामा राखेका कारण बससेवामा आवश्यकताअनसार टिकट उपलब्ध हुने बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बताए। दशैंको तुलनामा तिहारमा राजधानीबाट बाहिर जाने तथा अन्य स्थानमा आवतजावत केही कम हुने भएकाले पनि तिहारमा टिकट अभावको अवस्था नहुने उनको भनाई छ।
‘विगतमा अनलाइनमार्फत् काटिने टिकटको कोटा थोरै हुँदा अपेक्षित रूपमा टिकट उपलब्ध गराउन असहज हुने गरेको थियो,’ खनालले भने, ‘तर अहिले त्यो समस्या हटेको छ। आवश्यक्ताका आधारमा टिकट उपलब्ध हुन्छ।’
खनालका अनुसार बससेवामार्फत काठमाडौँबाट देशभरका सबै गन्तव्यको टिकट काट्न सकिन्छ भने देशका अन्य स्थानबाट पनि मोफसलकै टिकट काट्न सकिन्छ। ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढीको संख्यामा बससेवाबाट टिकट काट्न सकिने उनले बताए।
यात्रुहरूले बससेवा डटकम तथा बससेवाको मोबाइल एप्लिकेसनबाट घरमै बसेर टिकट बुकिङ गर्न सक्ने बताइएको छ। नेपालका कुनै पनि सहरको टिकट अनलाइनबाटै काट्न सकिने भएकाले यात्रुलाई टिकट काट्न बससेवा उचित माध्यम हुने र टिकट काट्नकै लागि काउण्टर पुग्नु नपर्ने साथै लाइन बस्नुनपर्ने बससेवाले जनाएको छ।
बससेवा नेपालको पहिलो अनलाइन बस टिकेटिङ प्लेटफर्म हो। बससेवामा ५०० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन्। सबै समिति तथा कम्पनीका हजारौँ बसका लाखौँ सिटको टिकट घरबाटै बुकिङ गर्न सकिने भएकाले यात्रुलाई सहज हुने विश्वास बससेवाको छ।