मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

नगर्नुस् जोखिमपूर्ण यात्रा, अर्को वर्ष पनि आउँछ दसैं

 |  बुधबार, असोज १६, २०८१
nespernesper

नारायण ढुंगाना

नारायण ढुंगाना

बुधबार, असोज १६, २०८१

काठमाडौं- वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरुको महान् चाड दसैंको मुखमा यात्रा कष्टकर बनेको छ। दसैंका लागि पोकापुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँ-ठाउँका सडकमा अलपत्र छन्।

triton college

कतिबेला घर पुग्ने हो ठेगान छैन। अन्य प्राकृतिक विपत्तिले झ्याप्ले खोलामा आएको पहिरोमा नागरिक बिलाएझैं हुने हो कि भन्ने त्रासमा यात्रा गर्न बाध्य छन्।

यही असोज ११ गतेदेखि नै काठमाडौंको नागढुंगा हुँदै जाने सवारीसाधन गन्तव्यमा जान सकेका छैनन्। सामान्य रुपमा सडकमा खसेको पहिरो हटाएर सवारी साधन कछुवाको गतिमा चल्न सुरु भएलगत्तै असोज १४ गते दिउँसोबाट रात्रिकालीन सवारीसाधन काठमाडौंबाट छुटाउन थालिएको थियो। दसैंका यात्रु भरिभराउ ती रात्रिकालीन बस एकैचोटि निस्किए।

राजमार्गमा सुस्त गतिमा मात्रै सवारीसाधन चल्न सक्ने अवस्थामा यातायातको चाप अत्यधिक हुँदा र चालकको ‘ओभरटेक’ गर्ने पुरानै नराम्रो बानीले सडक खुले पनि जामको समस्या कायमै छ। यद्यपि बीचबीचमा पुनः पहिरो खस्ने क्रम जारी तथा ठाउँठाउँमा एकतर्फी सडकले जाम थपिएको छ।

त्यसैले अब यात्रुहरुले यो दसैंमा घर पुग्न ठूलै युद्ध जितेझैं हुने अवस्था रहेको चितवन जान लागेका यात्रु कृष्ण शर्माले बताए। सोमबार राति ११ बजे नागढुंगा नाका हुँदै उपत्यका छाड्ने यात्रु बोकेका सवारी साधनहरु काठमाडौंको नैकापसम्म लाइन थियो। आज पनि ती सवारी साधन राम्ररी अघि बढ्न सकेका छैनन्।

Metro Mart
vianet

यस्तै, पूर्व र पश्चिम नेपाल जाने राजमार्ग पनि राम्ररी सञ्चालन हुन सकेका छैनन्। नेपाल  प्रहरीका अनुसार आज पनि २० भन्दा बढी ठाउँमा राजमार्ग अवरोध नै रहेको तथ्यांक छ। केही ठाउँमा पहिरो हटाउने र सडक खुलाउने काम पनि जारी छ।

सडक यात्रा जोखिमपूर्ण रहेपछि अहिले हवाई यात्रुको संख्या थेगिनसक्नु भएको छ। नारायणगढबाट बुटवल हुँदै जाने सडकको दाउन्ने खण्डमा सडक भासिएका कारण उक्त खण्ड पनि पूर्ण रुपमा बन्द हुँदा सवारी साधनको चाप थपिएको छ। बीपी राजमार्ग पनि क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ।

काठमाडौं-नारायणगढ सडकका दर्जनौं ठाउँँमा भत्किएको सडक गाडीको अत्यधिक चापका कारण राम्ररी सवारीसाधन सञ्चालन हुने गरी सडक व्यवस्थापन गर्न सक्ने अवस्थासमेत छैन। हेर्दा कामचलाउका रुपमा मात्रै यातायात सञ्चालन गरिएको छ। सामान्य पानी परेको खण्डमा यातायात पूर्ण रुपमा अवरुद्ध हुने अवस्था रहेको नेपाल प्रहरीका सहायक प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी बताउँछन्।

समयमै गन्तव्यमा यातायातका साधन जान नसकेपछि यातायातको ‘चेन ब्रेक’ हुने अवस्थाले गर्दा यात्रुको चाप बढ्ने, यातायात अव्यवस्थित हुने, यात्रुको तँछाडमछाड हुने र त्यसले दसैंसम्म नै यात्रा कष्टकर हुन सक्ने देखिएको छ। यातायात व्यवस्था विभागले यही असोज १४ गतेदेखि देशभर बाटो इजाजत खुला गरेकाले अब गाडीको चाप झन् बढ्न थालेको छ।

पानी पर्दै नपरेको खण्डमा दसैं आसपाससम्म यातायात पूर्ण रुपमा सहज पार्ने प्रयास जारी रहेको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारी अहिले कसरी हुन्छ रोकिएका यातायातलाई गन्तव्यमा पुर्‍याउने र यातायात सहज आवागमन पार्ने भन्नेमै सरकारको ध्यान रहेको बताउँछन्।

उनले भने, 'प्राथमिकताका आधारमा अत्यावश्यक र यात्रुवाहक साधनलाई पठाउने गरिएको छ। त्यसपछि खाद्यान्न, इन्धनलगायत बोकेका अत्यावश्यक सवारीसाधनलाई प्राथमिकतामा राखेर व्यवस्था भइरहेको छ।'

प्रवक्ता तिवारीका अनुसार केही ठाउँमा पहिरो गएको र झ्याप्ले खोलामा पनि एकतर्फीजस्तै छ। त्यसैले समस्या भएको उनले बताए। अब दाउन्नेमा पनि एकतर्फी खुलेको र धादिङको पहिरो हटाइसकेका कारण यातायात आवागमन सहज बन्दै जाने उनले बताए। 

उनका अनुसार अहिले बिहान ११ देखि १ बजेसम्म बीचबीचमा सवारी साधन रोकेर दुईतर्फी यातायात खुलाउने गरी काम अघि बढाउने निर्णय भएको छ। अबको केही दिनमा पुरानै अवस्थामा यातायात आवागमन सहज हुने गरी व्यवस्थापन कार्यलाई तीव्रता दिइएको उनले बताए। यो चाडपर्वमा १८ लाख मानिसले राजधानी छाड्ने अनुमान यसअघि नै गरिएको थियो।

'यही अवस्थामा गाडी लैजान सक्दैनौं'
नेपाल याातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला अब दसैंको बुकिङ नै बन्द गर्न लागिएको बताउँछन्। यो अवस्थामा कुनै हालतमा यात्रुलाई गन्तव्यमा लैजान नसकिने उनले बताए।

वरिष्ठ उपाध्यक्ष सिटौलाले भने, 'विषम परिस्थिति, वर्षालगायत कारण राज्यले व्यवस्थापन गर्न सकिरहेको छैन। बीपी राजमार्ग ठप्पै छ। त्यहाँ ६ सय सवारीसाधन रोकिएका छन्। चालक खान नपाएको भनेर फोन गरिरहेका छन्। दुवैपट्टि पहिरो गएर बीचमा जोखिमपूर्ण अवस्थामा गाडी अड्किरहेका छन्। हामीले खाना नै पुर्‍याउन सकिरहेका छैनौं, सरकारले पनि सकेको छैन। अनि कसरी चलाउन सकिन्छ गाडी ?'

वरिष्ठ उपाध्यक्ष सिटौलाले नागढुंगाबाट बाहिर जान चार दिन अघिका गाडी बल्ल पठाइएको बताए। 'जाम जारी छ, धादिङ र दाउन्नेमा पहिरो खसिरहेकै छ। देशभरको सडक अस्तव्यस्त भएका कारण समस्या ठूलो छ। फेरि वर्षा हुने भनिरहेको छ, बीचमा रोकिएका गाडी र यात्रु जोखिममा परे। केही भए जिम्मा कसले लिन्छ ? वर्षा नहुँदा पनि सुक्खा पहिरो खसिरहेको छ। यातायात रोकिँदा अब हाम्रो सबै ‘सेड्युल’ बिग्रियो। अब हामीले टिकट बुक गर्न सक्ने अवस्था छैन। यदि गाडी समयमा आउने अवस्था नरहे यात्रुका पैसा फिर्ता गर्नेछौं।' 

वर्षाका कारण विपत्तिको संकटग्रस्त क्षेत्र घोषण गर्न ढिला गर्न नहुनेमा उनले सरकारलाई सुझाव दिए। मान्छेको ज्यान बचाउन राज्यले ध्यान दिनुपर्छ भन्दै सिटौलाले दसैंपछि पनि मनाउन सकिने भएकाले अहिले ख्याल गर्नुपर्ने बताए।

आज पनि बिहान ११ बजेदेखि गाडी रोक्न अनुरोध आएको सुनाउँदै उनले एक ठाउँमा भए गाडी रोकौंला, पन्छाएपछि सहज जाउँला भन्ने हुन्छ, जताततै भत्किएको अवस्थामा सहज सञ्चालन हुने अवस्था नै नरहेको उनले सुनाए। पहिरोको त्रास कायमै रहेको अवस्थामा बेलैमा सरकारले निर्णय गरोस् भन्ने आफूहरुको माग रहेको उनले बताए।

‘अहिले घर जान हतार नगरौं’
यातायात क्षेत्रका विज्ञ आशिष गजुरेल अहिलेको अवस्थामा यातायात सहज बनाउन सकिने अवस्था छ भने सहज बनाउने, होइन अवस्था जटिल छ भन्ने देखिए त्यो सडक बन्द नै गरेर काम गर्नुपर्ने बताउँछन्। उनले भने, 'कहाँ-कहाँ व्यवस्थापन गर्न सकिन्छ गर्ने र सुधार गर्न सक्ने ठाउँमा सुधार गर्नुपर्छ। तत्काल व्यवस्थापन गर्न सकिँदैन भने बन्द नै गर्नुपर्छ। दसैं छ भनेर जोखिममा यात्रा गराउनु हुन्न।'

अहिले पनि सडकमा पहिरो खस्ने र ढुंगा खस्ने क्रम जारी रहेको उल्लेख गर्दै उनले सुधार गरेर सञ्चालन गर्दा जोखिम छैन भन्ने लागेको क्षेत्रमा सञ्चालन गर्ने तर सडक व्यवस्थापनमा समय लाग्ने छ भने हतार गर्न नहुने सुझाव दिए।

'दसैंमा यात्रुको चाप छ भनेर ज्यानको जोखिम राखेर सवारी साधन सञ्चालन गर्नु भएन', उनले भने, 'त्यसैगरी सञ्चालन गर्दा झ्याप्ले खोलामा त्यति ठूलो घटना भयो। गाडी नचलाउ भन्दाभन्दै चलाएका कारण झ्याप्ले खोलामा घटना भएको थाहा नै छ।' उनका अनुसार जहाँ पनि सडक खनेको ठाउँमा सानोठूलो पहिरो खसरिहेको र यसले जोखिम कायम छ भनेर देखाउँछ।

आगामी दिनमा पनि ठूलो क्षति गराउन सक्ने उनको भनाइ छ। 'यो अवस्थामा जबरजस्ती गरेर घर जानलाई हतार गर्नु हुँदैन। ज्यान रह्यो भने दसैं त फेरि पनि मनाउन पाइहालिन्छ', गजुरेलले भने, 'यात्रुले पनि जबरजस्ती जान नखोजौं, सरकारले पनि जोखिम छ भनेर यकिन भएको ठाउँमा गाडी जान रोक्नैपर्छ।'    -रासस

प्रकाशित: Oct 02, 2024| 06:01 बुधबार, असोज १६, २०८१
प्रतिक्रिया दिनुहोस्