आइतबार, मंसिर २८, २०८२

लुम्बिनीका बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारियो

 |  आइतबार, असोज १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असोज १३, २०८१

लुम्बिनी- लुम्बिनी प्रदेशका बाढीपहिरो प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पाका बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारिएको प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालय विपद् महाशाखाले जनाएको छ।

National life

मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् प्रतिकार्य योजनालाई प्रभावकारी कार्यान्वयन गर्न तीनवटै सुरक्षा निकाय, रेडक्रस, स्वंयम्सेवक तथा आम सर्वसाधारण नागरिकमा अपिल गरेका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत समुदायका नागरिक बिचको सहकार्यले विपद् प्रतिकार्य योजना कार्यान्वयनमा सहजता आएको हो।

प्रदेश सरकारको सहजीकरणमा सुरक्षा निकाय र स्थानीय सरकारले विपन्न परेकालाई राहत, पुनःस्थापनाको काम पनि अघि बढाएका छन्। बाढीपहिरोबाट प्रभावितलाई सुरक्षित स्थानमा सारिएको र पुनःस्थापनाको काम अघि बढेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए। उनका अनुसार बाढीपहिरोको उच्च जोखिममा रहेका स्थानीय सार्वजनिक भवन, छिमेकी तथा आफन्तको घरमा बसेका छन्।

नवलपरासी बर्दघाट-२ बाँसखोलामा नौ वटा घर बाढीका कारण डुबानमा परेका छन्। स्थानीय कोशबहादुर आले, हरिबहादुर राई, कादर दर्लामी, तोमन सिंह दर्लामी, तिलकुमारी बाह्रघरे, बमबहादुर बाह्रघरे, तिलकबहादुर रुचालको घर तथा गोठमा क्षति पुगेको छ। सुस्ता गाउँपालिका-५ बड्काटोलमा बाढी पसेको छ । 

नारायणी नदीको पानीको बहाव बढ्दा बाँधसमेत फुटेर पानी बस्तीमा छिरेको थियो। स्थानीय प्रहरी र समुदायका नागरिकलाई सार्वजनिक भवनमा सारिएको छ। पाल्पा रैनादेवी छहरा-१ का ज्ञानबहादुर कुमालका १२ जनाको परिवारलाई छिमेकीको घरमा सारिएको छ। 

Laxmi sunrise bank
kumari

बगनासकाली-६ निवासी देवनारायण बस्यालको घर पूर्णरुपमा बस्न नमिल्ने भएपछि दुई जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ। तानसेन-५ कैलाशनगर सुकुम्वासी टोलमा पहिरो झर्दा नौवटा घर जोखिममा परेपछि परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

पाल्पाकै रम्भा-३ ज्ञानिसरा चिर्तौरको घर जोखिममा परेपछि सातजना परिवारका सदस्यलाई छिमेकीको घरमा सारिएको, निस्दि-५ निवासी नरबहादुर सरुको घर जोखिममा परेपछि तीन जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको, रैनादेवी छहरा-१ मनिकला कुमाल, ओमप्रकाश कुमाल, रीता कुमाल, सिमा कुमाल, मालती नेपालीको घर जोखिममा परेपछि ११ जना सदस्यलाई आफन्तको घरमा सारिएको छ।

माथागढी-७ निवासी लोकमाया चुहानको घर जमिन भासिँदा जोखिममा परेपछि सातजना सदस्य पुरानो घरमा बसेको, सोही ठाउँ निवासी हीराबहादुर ढेगाको घर पनि बस्न नमिल्ने भएपछि ४ जना सदस्य पुरानो गोठमा बसेको जनाइएको छ। 

रैनादेवी छहरा-१ निवासी कमला गरम्जाको घर पहिरोले पुरिएपछि तीन जना सदस्यलाई आफन्तको घरमा सारिएको छ। रिब्दीकोट-४ निवासी मीनप्रसादको घर अगाडि पहिरो खस्दा जोखिम बढेपछि चार जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको हो। पाल्पा तिनाउँ-१ निवास नीरज सास्कोटीको घर पहिरोले पुरिएपछि चार जनालाई सुरक्षित स्थानमा सारिएको छ। 

गुल्मी जिल्लाको छत्रकोट-५ निवासी कृष्ण विकको घरमा क्षति पुगेपछि तीन जनालाई सुरक्षित स्थानमा सारिएको छ। रोल्पा त्रिवेणी-६ धरमखोला निवासी केशरबहादुर वलीको बाख्रा गोठ भत्किएको छ। यस्तै माडी गाउँपालिका-४ बुढागाउँ निवासी गनबहादुर घर्तीको कुखुरा फारममा क्षति पुगेको जनाइएको छ। रासस

प्रकाशित: Sep 29, 2024| 16:14 आइतबार, असोज १३, २०८१
प्रतिक्रिया दिनुहोस्