मंगलबार, पुस ८, २०८२

बुद्धसिं मार्ग तीन दिनदेखि अवरुद्ध

 |  आइतबार, असोज १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असोज १३, २०८१

तनहुँ- पृथ्वीराजमार्गको वैकल्पिक सडकका रुपमा रहेको बुद्धसिं मार्ग तीन दिनदेखि अवरुद्ध भएको छ। निरन्तरको वर्षापछि एक दर्जनबढी स्थानमा पहिरो खस्दा उक्त मार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो। 

National life

गण्डकी प्रदेश सरकारले पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रुपमा यसलाई विकास गर्न प्रक्रिया अघि बढाइसकेको छ। पृथ्वीराजमार्गअन्तर्गत डुम्रे-आँबुखैरेनी हुँदै घुमाउनेसम्म पुग्न बुद्धसिं मार्गबाट करिब २५ किलोमिटर दुरी कम पर्ने बुद्धसिं मार्ग सरोकार समितिका संयोजक सिद्धान्त गर्जामगरले जानकारी दिए।

पहिरोका कारण सुडे, बेलबास निउरोघारी, मास्दी, नाल्दी, खानीखोला ढाप, बरखोला, साराङघाट, तल्लो साराङघाट, प्यूघरलगायत १२ स्थानमा पहिरो खस्दा मार्ग अवरोध भएको उनले बताए।

पहिराका कारण साराङघाट, मास्दीघाट क्षेत्रका बासिन्दाको जनजीवन बढी प्रभावित बनेको संयोजक गर्जामगरले जानकारी दिए। उनका अनुसार गाउँमा कोही बिरामी भएमा बन्दीपुर हुँदै राजमार्ग भएर दमौली पुर्‍याउनुपर्ने अवस्था छ।

गर्जामगरले भने, 'यथाशीघ्र मार्ग सञ्चालन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको छ, आशा छ छिट्टै पहलकदमी हुनेछ।' पहिराले सेतीगंगा आधारभूत विद्यालयका आइसिटी र विज्ञान प्रयोगशालाका कक्षाकोठा पूर्णरुपमा क्षति भएका विद्यालयका प्रधानाध्यापकसमेत रहेका उनले बताए।
 
'पहिरोले स्थानीय मंगलबहादुर गुरुङको घर पूर्णरुपमा क्षति हुनुका साथै बर्जबहादुर गुरुङ र डुलबहादुर गुरुङको घरमा आंशिक क्षति भएको छ', उनले भने, 'माथिबाट आएको पहिरोले करिब तीस रोपनी खेतबारी पूर्ण रुपमा नोक्सान भएको छ।'

Laxmi sunrise bank
kumari

तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउनेसम्म जोड्ने सो मार्गअन्तर्गत दमौलीमा निर्माण कम्पनीले करिब १० किमी खण्डमा ‘आक्सफाल्ट प्रविधि’ बाट कालोपत्र गर्न थालेको थियो। 

पूर्वाधार विकास कार्यालयले मैनाचुली-सफल जेभी काठमाडौंसँग विसं २०८२ जेठ ३० गतेसम्म गर्नेगरी विसं २०७९ भदौ २७ गते सडक कालोपत्रका लागि सम्झौता भएको पूर्वाधार विकास कार्यालयकी सूचना अधिकारी एवं इञ्जिनियर धनमाया मिश्रले जानकारी दिइन्।

उनका अनुसार गण्डकी प्रदेश सरकारले सो मार्गलाई प्राथमिकतामा राखेर गत आर्थिक वर्षमा पाँच करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो। चितवनको घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँको सीमानामा पुगेर फर्कन बाध्य छन्। रासस

प्रकाशित: Sep 29, 2024| 20:01 आइतबार, असोज १३, २०८१
प्रतिक्रिया दिनुहोस्