सोमबार, मंसिर २९, २०८२

बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति

 |  आइतबार, असोज १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असोज १३, २०८१

काठमाडौं- अविरल वर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार बाढीका कारण आयोजनाहरुको विद्युत् गृह, प्रसारण लाइन तथा अन्य संरचनामा क्षति पुगेको हो।

National life

हाल ती आयोजनामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिँदै इप्पानले थप क्षति भएको हुनसक्ने आकलन गरेको छ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले प्रवद्र्धन गरेको माथिल्लो तामाकोशीको बाँध स्थल तथा बालुवा थिग्रयाउने पोखरीमा क्षति पुगेको छ। सो आयोजनाको नियन्त्रण कक्ष रहेको भवनमा क्षति पुग्दा सुरक्षाकर्मी र अन्य कामदार गरी चार जना बेपत्ता भएको प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिए।

आयोजना सञ्चालनका लागि तामाकोशी पाँचौको सहयोग लिन लागिएको छ। कूल चार सय ५६ मेगावाट क्षमताको सो आयोजनाबाट विद्युत् उत्पादन बन्द हुँदा बिजुली आयात गर्नु परेको जनाइएको छ।

बाढी पहिरोका कारण विद्युत् उत्पादन केन्द्रमा क्षति पुग्दा बिजुली प्रवाहमा समेत समस्या भएको छ। वैकल्पिक व्यवस्था गरी बिजुली काटिएका स्थानमा उपलब्ध गराइएको र केही स्थानमा भने अझै मर्मत जारी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणका बाढीपहिरोका अनुसार देशभर नौ सय ८० मेगावाट घण्टा बराबरको बिजुली आपूर्तिमा अवरोध छ।

Laxmi sunrise bank
kumari

इप्पानका अनुसार मान्डू हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत् आयोजनाको ‘पावर हाउस’ पूर्णरुपमा डुबेको छ। खानी खोला हाइड्रोपावर, माण्डु हाइड्रोपावरलगायतका आयोजनाले बाढीका कारण विद्युत् उत्पादन बन्द भएको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई समेत गराएका छन्। बाढीका कारण माउन्टेन हाइड्रो नेपालद्वारा प्रवद्र्धित २२ दशमलव एक मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द भएको छ। सो आयोजना गत वर्ष पनि बाढीबाट प्रभावित भएको थियो। हाल उक्त आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ।

पाँचथर पावरद्वारा प्रवद्र्धित १४ दशमलव नौ मेगावाट क्षमताको हेवाखोला जलविद्युत् आयोजाको विद्युत् उत्पादन पनि बन्द भएको छ। गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा आयोजना पुनः क्षतिग्रस्त भएको हो।

साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत् आयोजनाको बाँध स्थलमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द छ। सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित तीन मेगावाट क्षमताको माइखोला क्यासकेड जलविद्युत् आयोजनाको बाँधलगायतका संरचनामा क्षति पुगेको छ। इप्पानका अनुसार सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित नौ दशमलव छ मेगावाट क्षमताको माइखोला जलविद्युत आयोजनाको बाँध र प्रसारणलाइनमा क्षति पुगेको छ। फेमे खोला जलविद्युत आयोजना सिउरीखोला पनि बाढीले क्षति पुर्‍याउँदा विद्युत् उत्पादन बन्द भएको जनाइएको छ।

कूल ४० मेगावाट क्षमताको सुपरन्यादी जलविद्युत् आयोजनाको पहुँचमार्ग र सुरक्षा पर्खालमा बाढीका कारण क्षति पुगेको छ। इलेप खोला तातोपानी जलविद्युत् आयोजनामा पनि बाढीले क्षति गरेको छ भने कोरियन लगानी रहेको दुई सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली एकको क्याम्प हाउस र पहुँचमार्गमा क्षति भएको छ। निर्माण सामग्री राखिएको तीन वटा कन्टेनर बगाएको छ।

हेवाखोला जलविद्युत् आयोजनाको क्रसर पुरिएको छ भने पहुँचमार्गमा क्षति भएको छ। यस्तै, बाढीका कारण प्रसारणलाइनको टावर ढलेका छन् भने पावर हाउसमा जडान गर्न ल्याइएका सामग्री बगाएको छ।

सभाखोला बी जलविद्युत् आयोजनाको पहुँचमार्गमा पहिरोका कारण समस्या उत्पन्न भएको छ। यसैगरी पावरहाउस पुरिएको र बाँधमा क्षति हुन गएको छ। इप्पानका अनुसार सभाखोला सी जलविद्युत् आयोजना पहुँचमार्गमा क्षति पुगेको छ भने लान्द्रुक मोदी जलविद्युत् आयोजनाको पनि सडक पूर्वाधार बगाएको छ।

बाढीले सुपर त्रिशूली जलविद्युत् आयोजनाको निर्माण उपकरण बगाएको छ। कूल एक सय मेगावाट क्षमताको सो आयोजना निर्माणको क्रममा छ। आयोजनाको दुई वटा वटा स्काभेटर लोडर र तीन वटा ट्रिपर बगाएको छ। त्यस्तै, बेलीब्रिज बगाएको, खन्ने क्रममा रहेको पावर हाउस पुरिएको इप्पानले जनाएको छ।

बाढीका कारण प्रभावित आयोजनाबाट विद्युत् उत्पादन बन्द हुँदा त्यसको चाप प्राधिकरणको प्रणालीमा परेको छ। सोही कारण शनिबार मात्रै प्राधिकरणले भारतबाट थप तीन सय मेगावाट बिजुली आयात गर्नुपरेको थियो।

प्रकाशित: Sep 29, 2024| 13:20 आइतबार, असोज १३, २०८१
प्रतिक्रिया दिनुहोस्