मंगलबार, पुस १, २०८२

ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण

 |  सोमबार, असोज ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असोज ७, २०८१

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धनुषाको ढल्केवरमा रहेको ढल्केवर सबस्टेसनको अनुगमन तथा निरीक्षण गरेका छन्।

National life

उनले आज नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्मित ४०० केभीको सबस्टेसन र विश्व बैङ्कको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्मित २२० र १३२ केभी ढल्केबर सबस्टेसनको अनुगमन तथा निरीक्षण गरे। नेपालको सबैभन्दा ठूलो ढल्केवर सबस्टेसन ४०० केभीको ‘जिआइएस’ प्रविधिबाट निर्माण गरिएको छ।

उक्त सबस्टेसनबाट वर्सातको समयमा नेपालबाट भारतमा विद्युत् निर्यात र हिँउदमा भारतबाट नेपालमा विद्युत् आयात गरिँदै आएको छ।

निरीक्षणका क्रममा मन्त्री खड्काले ढल्केवरबाट हेटौँडा जोड्ने प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन दिए। उनले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि आन्तरिक खपत बढाउनुपर्ने बताए।

सङ्खुवासभामा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ढल्केवर सबस्टेसन हुँदै भारतको सीतामणी जोड्नका लागि प्रसारण लाइन निर्माणको काम भइरहेको छ।

Laxmi sunrise bank
kumari

यस्तै, सोही सबस्टेसनबाट मकवानपुरको हेटौँडा र सुनसरीको इनरुवा सबस्टेसन जोड्नेगरी प्रसारण लाइन तथा सबस्टेसन निर्माणको काम भइरहेको ढल्केवर ग्रिड महाशाखा प्रमुख विनोद लोहनीले जानकारी दिए।

मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतले सबस्टेसनको निरीक्षण गरेका थिए।

प्रकाशित: Sep 23, 2024| 16:33 सोमबार, असोज ७, २०८१
प्रतिक्रिया दिनुहोस्