बिहीबार, भदौ ४, २०८३

सेती नदीमा ट्याक्टर खस्दा तीन जना घाइते, दुई बेपत्ता

 |  बुधबार, असोज २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असोज २, २०८१

सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता भएका छन् भने तीन जना घाइते भएका छन्।

बुधबार बिहान करिब ९:३५ बजे दुर्गाथली गाउँपालिकाको मौरीबगरबाट झनानातर्फ गइरहेको सुपप्र ०१००२ त ५१७८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट ५० मिटर तल सेती नदीमा खसेको थियो।

ट्याक्टर चालक जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नम्बर २ का २० वर्षीय सन्‍जय बुढा र सोही ठाउँका २२ वर्षीय लोकेन्द्र घर्ती सेती नदीमा बगेर बेपत्ता भएका छन्।

यस्तै ट्याक्टरसँगै खसेका जाजरकोटकै त्रिवेणी नलगाड नगरपालिकाका १५ वर्षीय हेमराज विक, २१ वर्षीय सपेन्द्र विक र १३ वर्षीय नीरज विकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

उद्धार गरिएका तीनै जना सामान्य घाइते रहेको र उनीहरूको केदारस्युँ गाउँपालिका-९ झोता बजारमा रहेको भैरव स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। बेपत्ता भएका चालक बुढा र घर्तीको डिएसपी युवराज भण्डारीसहित प्रहरी टोली र स्थानीयले खोजी गरिरहेका छन्।

ट्याक्टर दुर्गाथली गाउँपालिकाका देव ओडको रहेको र सेती लोकमार्गअन्तर्गत झनाना-जडार सडक खण्डमा दिव्या ज्योति कन्ट्रक्सनले भाडामा लिएको प्रहरीले जनाएको छ।

बेपत्ता र घाइते सबै जाजरकोटबाट उक्त सडक खण्डमा काम गर्न मजदुरको रूपमा बझाङ आएको प्रहरीको भनाइ छ।

प्रकाशित: Sep 18, 2024| 13:31 बुधबार, असोज २, २०८१
प्रतिक्रिया दिनुहोस्