काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई कामको गति बढाउन र योजनाबद्ध कामहरू गर्न निर्देशन दिएका छन्।
बिहीबार मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौतापछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कार्यसम्पादन सम्झौता सफल कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।
‘कामलाई व्यवस्थित र गति दिन यसले सहयोग पुर्याउनेछ भन्ने विश्वस्त छु’, प्रधानमन्त्रीले भने, ‘कार्यसम्पादन सम्झौतामा छैन भनेर गर्नुपर्ने काम नगर्ने होइन।’ उनले सरकारको मूलभूत नीति र कार्य योजनाअनुसार कार्यसम्पादन सम्झौता भएको भन्दै कति अवधिभित्र कुन कुन मन्त्रालयले कति काम गरिसक्ने ? भन्नेमा प्रस्ट हुनका लागि सम्झौता गरिएको बताए।
‘हामीले मूलभूत नीति र कार्य योजनाअनुसार आवधिक लक्ष्य निर्माण गरेका छौँ। ती लक्ष्यअनुरूप उपप्रधानमन्त्री, मन्त्री र मुख्यसचिवसँग कार्यसम्पादन सम्झौता भएको छ’, प्रधानमन्त्रीले भने, ‘ठोस कामको ठोस प्रतिबद्धता गरेका छौँ। हामी टिम स्पिरिटमा काम गर्छौ, देशप्रति जिम्मेवार भएर जनताका हितका निम्ति, समाजमा शान्ति सुव्यवस्थाका लागि समृद्धि र सुशासनको यात्रा अघि बढाउन प्रतिबद्ध र सहमत छौ।’
उनले कार्यसम्पादन सम्झौतापछि सरकारको काम थप योजना र सक्रियतासाथ अघि बढ्ने विश्वास व्यक्त गरे। ‘हाम्रो कमजोरी बिस्तारै गर्ने विगतको अभ्यास छ। ढिलो र अलमल गर्ने, अलमल र विश्राम गर्ने सुविधा अव हामीसँग छैन। गतिमा तीव्रता, काममा योजनाबद्धता चाहिन्छ। पारस्परिक साथ र सहयोग चाहिन्छ’, प्रधानमन्त्री ओलीको भनाइ छ।