शुक्रबार, पुस ४, २०८२

पहिरोको उच्च जोखिममा चेकेथुम गाउँ

 |  बिहीबार, भदौ १३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १३, २०८१

खोटाङ- बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित चेकेथुम पहिरोको उच्च जोखिममा परेको छ। गाउँभन्दा करिब एक किलोमिटर तल पर्ने मस्टपुखोलाबाट पहिरो बर्सेनि माथिल्लो भेगमा सर्दै गएको छ। 

National life

२५ वर्षअघि शुरू भएको पहिरो निरन्तर माथिल्लो भेगमा सर्दै गएपछि त्यसभन्दा माथि पर्ने चेकेथुम गाउँमा बसोबास गर्ने स्थानीय बासिन्दा दिनरात त्रासमा बस्नुपरेको बराहपोखरी –२ वडाध्यक्ष पदम मगरले जानकारी दिए। ‘चेकेथुमभन्दा मुनिका क्षेत्रमा प्रायः हरेक वर्षको भदौ र असोजमा पहिरो खस्ने गरेको छ। पहिरोभन्दा माथि पर्ने गाउँमा ६१ घर स्थानीय बासिन्दाको बसोबास छ,’ उनले भने, ‘पहिरो निरन्तर सर्दै गाउँतर्फ आएपछि यस वर्ष स्थानीय खड्गबहादुर थापामगर, पर्शुराम मगर र गोपाल मगरको घर उच्च जोखिममा परिसकेको छ।’

२०७२ सालमा चेकेथुमको तल्लो भेगमा बसोबास गर्ने २८ घर स्थानीय विस्थापित भएका थिए। पहिरोबाट विस्थापित भएकामध्ये स्थानीय दण्डबहादुर तामाङ र डम्बरबहादुर तामाङ छिमेकी जिल्ला उदयपुरको राजाबास भन्ने ठाउँमा बसाइँ सरेका छन्। २६ घरका स्थानीय बासिन्दा आसपासका स्थानीयको जग्गा खरिद गरेर तथा आफ्नै सुरक्षित जग्गामा घर बनाएर सरेका छन्। भिरालो जमिन रहेको चेकेथुममा वर्षाको पानीले धाँजा फाट्ने र घाम लागेपछि क्रमशः पहिरोका रूपमा खस्ने क्रम नरोकिँदा तल्लो क्षेत्रमा पर्ने सयौँ रोपनी खेतीयोग्य जमिन बगिसकेको स्थानीयले बताएका छन्।

एउटा सामुदायिक विद्यालय पनि पहिरोको उच्च जोखिममा रहेको स्थानीय आशिष बञ्जराले बताए। वर्षात्‌का समयमा केही नहुने पहिरो घामले जमिन तातिन थालेपछि फाट्दै गएर ठूलो पहिरोका रूपमा खस्ने गरेको स्थानीय बासिन्दाले बताएका छन्। पहिरो रोकथाम गर्न सकिने सम्भावना नरहेको वडाध्यक्ष मगर बताउँछन्। वडाध्यक्ष मगरका अनुसार सिमसार र कमेरे माटो भएको ठाउँबाट पहिरो गएकाले नियन्त्रण गर्न सम्भव नभएको हो।

पहिरोबाट विस्थापित चेकेथुमका स्थानीय बासिन्दाले आफूहरू विस्थापित भएको लामो समय बितिसक्दा पनि राज्यको तर्फबाट अहिलेसम्म क्षतिपूर्तिबापत केही पनि नपाएको गुनासो गरेका छन्। पहिरोका कारण विस्थापित अधिकांश घरपरिवार आफैँले ऋण गरेर खरिद गरेको जग्गामा बनाएको घरमा बसिरहेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 29, 2024| 19:31 बिहीबार, भदौ १३, २०८१
प्रतिक्रिया दिनुहोस्