आइतबार, कात्तिक ३०, २०८२

जहाँ हाटबजारमा पनि डेउडा गुञ्जिन्छ

 |  बिहीबार, भदौ १३, २०८१

ईन्द्राकुमारी केसी

ईन्द्राकुमारी केसी

बिहीबार, भदौ १३, २०८१

कैलालीको घोडाघोडी नगरपालिका–१ की ६० वर्षीया पद्मादेवी धामी शनिबार कहिले आउँदा भनेर औँला गन्दै बस्ने गर्छिन्। शनिबार आयो कि आफूले गर्न सक्ने काम छिटोछिटो भ्याएर नजिकैको सुख्खड बजारमा जाने हतारो हुन्छ उनलाई। त्यसको कारण हो डेउडा खेल्नु। 

National life

शनिबारका दिन घोडाघोडी–१ सुखडमा डेउडा खेल्ने गरिन्छ। धामीले भनिन्, “अछामकी हुँ हजुर ! पहिँले पहिँले पहाडमा खुवै खेल खेल्लो छिया, तराई आएपछि खेल्ल पाहिन्या छियोन, आजकाल हाटबजारमा खेल लाग्दो छ। यैँ भएर शनिबार कैल आउला मान्नो छु।” 

धामीलाई जस्तै घोडाघोडी नगरपालिका–८ की धनसरा जोशीलाई पनि शनिबारको पर्खाइ हुन्छ। उनी भन्छिन्, “यो खेल लाग्न सुरू भएदेखि प्रत्येक शनिबार डेउडा खेल्न आइपुग्छु। देउडा खेल्न पाउँदा आफ्ना बाल्यकालका दिन याद आउँछन्।”

विभिन्न मेला महोत्सव आयोजना गरिने सुखड बजारको हेलिप्याडमा शनिबारका दिन एकातिर कृषकले तरकारी बेचिरहेका हुन्छन् भने अर्कोतिर डेउडा खेल लागिरहेको हुन्छ। पद्मा र धनसरा जस्तै घोडाघोडी नगरपालिकाभित्रका डेउडा पारखीहरूलाई शनिबारको पर्खाइ हुन्छ। ताजा तरकारीसँगै अन्य सामान पनि किनमेल त गर्न पाइन्छ नै डेउडा खेल खेल्न र मनोरञ्जन पनि लिन पाइने डेउडा खेल्न पुग्ने गरेका डम्बर विष्ट बताउँछन्।

रमाइलोसँगै डेउडा खेल्न थालेदेखि व्यापार पनि राम्रो हुने गरेको व्यवसायी लक्ष्मी चौधरीको भनाइ छ। “मङ्गलबार हाटबजार लाग्ने गर्छ तर शनिबार त व्यापार र रमाइलो हुने भएकाले अचेल हामीलाई पनि रमाइलो लाग्न थालेको छ”, उनले भनिन्।

Laxmi sunrise bank
kumari

हाटबजारमा हरेक मङ्गलबार बिहान १० बजेदेखि कृषकले तरकारी बेचिरहेका हुन्छन भने शनिबार तरकारीसँगै दिउँसो ३ बजेपछि डेउडा खेलिने गरेको घोडाघोडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दुर्गाप्रसाद गौतमले जानकारी दिए।  

गएको माघदेखि हाटबजारमा नियमित रूपमा डेउडा खेल हुने गरेको उनले बताए। “कृषकको व्यवसायसँगै हाटबजारमा डेउडा संस्कृतिको पनि संरक्षण गरिरहेका छौँ। यसले कृषकलाई पनि फाइदा पुगेको छ”, उनको भनाइ थियो।  घोडाघोडीसँगै जिल्लाको बर्दगोरिया गाउँपालिका, लम्की चुहा नगरपालिकास्थित गुलरामा हाटबजारमा पनि डेउडा संस्कृति जोगाउने प्रयास गरिँदै आइएको छ। 

हाटबजारमा डेउडा लाग्ने दिन निकै भिड हुने गरेको बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बम बताउँछन्। ‘संस्कृति बचाउ’ भन्ने उद्देश्यका साथ एक वर्षदेखि निरन्तर रूपमा डेउडा खेल हुने गरेको उनले सुनाए।  “आइतबार र बिहीबार गरी दुई दिन हाटबजार लाग्ने गर्छ”, अध्यक्ष बमले भने,“बिहीबार डेउडा खेलाउने गर्दछौं। डेउडा खेल्नका लागि धनगढी, अत्तरिया, लम्की, महेन्द्रनगरका डेउडा कलाकारलाई बोलाउने गरिएको छ। गएको साउनदेखि निरन्तर डेउडा खेल खेलाइने गरेको छ।”

धेरै जसो ज्येष्ठ नागरिकहरू डेउडा खेल्न आउने गरेकाले रमाइलोसँगै सुखदुःख साँट्ने र आफ्ना पुराना दिन स्मरण गर्दै रमाउनका लागि यो कार्य उपयोगी भएको छ। 

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् टि एन जोशी डेउडा खेल सुदूरपश्चिमका लागि निकै महत्वपूर्ण भएकाले यसलाई जोगाउनु सबैको दायित्व रहेको बताउँछन्। “यो यहाँको मौलिक संस्कृति हो, त्यसका लागि हाटबजारमा हरेक शनिबार यस्ता कार्यक्रम गर्नु पनि मौलिक नै छ। अब हरेक क्षेत्रबाट सुदूरपश्चिमका संस्कृति जोगाउने खालका कार्य हुन आवश्यक छ”, उनले भने,“यसले नयाँ पुस्तालाई आफ्नो संस्कृति बुझ्न सघाउ पुगेको छ। डेउडासँगै सुदूरपश्चिमका अन्य संस्कृतिलाई पनि विभिन्न कार्यक्रममार्फत जोगाउन लाग्नुपर्छ।” रासस

प्रकाशित: Aug 29, 2024| 07:19 बिहीबार, भदौ १३, २०८१
प्रतिक्रिया दिनुहोस्