सोमबार, वैशाख १५, २०८२

भोजनको गलत भाष्य

 |  मंगलबार, भदौ ११, २०८१
nespernesper

डा. अरुणा उप्रेती

डा. अरुणा उप्रेती

मंगलबार, भदौ ११, २०८१

vianetvianet

अहिले नेपालमा पोषण र भोजनबारे एउटा नयाँ भाष्य स्थापित गर्न खोजिँदैछ। ‘खाना भनेको खराब वा असल हुँदैनन्’, ‘कुनै पनि खाना मात्रा मिलाएर खाए हुन्छ’, ‘पत्रु खाना भन्ने नै हुँदैन, सबै खाना स्वस्थकर हुन्छन्’ आदि।

triton college

एक खाद्य अनुसन्धान अधिकृतले त यतिसम्म भनेका छन् कि ‘चाउचाउमा उच्च क्यालोरी, नुन र चिनी भएकाले नेपालका गरिब, कुपोषित बालबालिकालाई दिए उनीहरूको शरीरमा क्यालोरी पुग्छ।’

उता स्वास्थ्य मन्त्रालयले विद्यालयमा दिवा खाजामा ‘चाउचाउ र बिस्कुट’ नबनाएर ‘स्वस्थकर खाजा दिनू’ भनेर निर्देशन नै जारी गरेको छ।

कुनै पनि हालतमा पत्रु खानाले शरीरलाई फाइदा गर्न सक्छ भनेर विचार नै गर्न सकिँदैन। अमेरिकामा पत्रु खाना बनाउने कम्पनीविरुद्ध आवाज नै उठिरहेका छन्।

खाना केवल भोजन मात्र होइन। यो संस्कृति, धर्म, जीवनशैलीसँग पनि जोडिएको हुन्छ। मान्छे जन्मनुअघि आमाको पेटमा पनि भ्रूणलाई स्वस्थकर खानाको जरुरत हुन्छ। आमाले खराब/अस्वस्थकर खाना खाइन् र आमालाई कुपोषण, रक्तअल्पता भयो भने शिशु पनि कमजोर जन्मन्छ। त्यसैले त गर्भवतीले स्वस्थकर खाना खानुपर्छ भनिन्छ।

National life insurance

चुरोट बनाउने कम्पनीहरूले पनि ६०–७० को दशकमा ‘चुरोटले स्वास्थ्यमा फाइदा गर्छ’ भनेर विज्ञापन छपाउँथे। यतिसम्म कि डाक्टरहरूलाई ‘कुन ब्रान्डको चुरोट मन पर्छ ?’ भनेर पत्रिकामा विज्ञापन गर्थे।
धेरै समय बितेर पो थाहा भो कि  चुरोटले क्यान्सर गर्छ। पत्रु खानाको बारे पनि त्यस्ता अनुसन्धान भैसकेका छन्।  

‘अलिअलि पत्रु खाना खाए कुनै पनि भोजनले बेफाइदा गर्दैन’ भन्नेहरू पनि छन्। विशेषगरी बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर म भन्छु– शिशु र दुई वर्षका बालबालिकालाई बट्टाको अमिलो, गुलियो खानेकुरा अलिअलि दिए हुन्छ त ? के त्यसो भए ‘अलिअलि’ चुरोट र सुर्ती दिए बेफाइदा गर्दैन त ?

विश्व स्वास्थ्य संगठनले ‘पत्रु खाना’ अर्थात् जंक फुड भनेको के हो भनेर परिभाषित गरेको छ। ‘ल्यानसेट’ नामक पत्रिका चिकित्सा विज्ञानको क्षेत्रमा प्रतिष्ठित नाम हो। यसले एउटा लेख प्रकाशित गरेको छ, ‘पत्रु खाना बनाउने कम्पनी, नीति र राजनीति जटिलता’ विषयमा। पत्रु खाना खुवाएको विज्ञापन आएपछि भारत, ब्राजिल, मेक्सिकोका बालबालिकाले कसरी त्यस्तै खानाको ‘माग’ गर्छन् भन्ने यसमा छ। अभिभावकले उनीहरूको माग पूरा गर्छन्।

दुर्भाग्य,  यसले गर्दा  बालबालिकाको तौल बढ्ने, सानैमा मधुमेह हुने, कलेजोमा बोसो जम्ने समस्या देखिन्छ। रबर्ट लस्टिङ नामका एक बालरोग विशेषज्ञले त ‘पत्रु खाना’ बनाउने कम्पनीविरुद्ध एक प्रकारको ‘युद्ध’ नै छेडेका छन्।

ती डाक्टरले पहिले विज्ञान पढे, अनि चिकित्साशास्त्र अध्ययन गरे। त्यसपछि २० वर्षसम्म बालरोग विशेषज्ञ भएर मोटोपन भएका, मधुमेह भएका, उच्च रक्तचापको सिकार भएका अमेरिकाका बालबालिकाको उपचार गरे। यसरी उपचार गर्दा उनलाई के अनुभव भयो भने बिरामीको उपचार होइन, बिरामी नै हुन नदिने काम गर्नुपर्यो।

शरीरमा हुने अनेक रोगको मूल कारण ‘अस्वस्थकर पेट’ हो र जंक फुड अस्वस्थकर भोजन हो भन्ने तथ्यलाई प्रतिपादन गर्दै उनले किताब लेखे। त्यहाँ उनले कसरी पत्रु खानाले हामीलाई स्वस्थ रहनबाट वञ्चित गर्छ भन्ने देखाएका छन्। उनी भन्छन्– ‘दीर्घ रोग हुँदा दिइने औषधिले रोग ठीक पार्दैन, लक्षण मात्र ठीक पार्छ। पत्रु खाना खाने बानी रक्सीजस्तै कुलत हो। पत्रु खाना बनाउने कम्पनी, ठूला औषधि कम्पनी र जनस्वास्थ्यको बेवास्ता गर्ने सरकार एकै थलोमा छन्।’

अमेरिकाको पृष्ठभूमिलाई ध्यानमा राखेर लेखिएको यो किताब नेपाल, भारत जस्ता देशका लागि अति नै महत्त्वपूर्ण छ। त्यसैले हामीले भोजन गर्ने शैली बदल्नैपर्छ। यसका लागि समुदाय र व्यक्तिले सकेसम्म प्राकृतिक तरिकाले बनाएको भोजन गर्नु एक उपाय हो। सन्तानलाई माया गर्ने हो भने पत्रु खान र चुरोट बालबालिकालाई नदिने र आफूले पनि नखाने कि ?

प्रकाशित: Aug 27, 2024| 12:45 मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्